निक्षेप फिर्ता लिन सहकारीविरुद्ध उजुरी
सीता पोखरेल
जेठ २३, काठमाडौं । नेपाल सहकारी संस्थाका निक्षेपकर्ताले आफ्नो निक्षेप फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । ६ हजार निक्षेपकर्ताको रू. १८ करोड हिनामिना गरी फरार रहेका सञ्चालकहरूका विरुद्ध उनीहरूले उजुरी दिएका हुन् । 'कतार गएका श्रीमान्ले पठाएको पैसाले दुई छोरीको पढाइका निम्ति बचत गरेकी थिएँ,' संस्थामा २८ लाख बचत गरेकी रुक्मा सिंहले भनिन् ।
अहिले संस्थाका पूर्व अध्यक्ष उत्तम पुन, अध्यक्ष नविन पुन तथा प्रबन्ध निर्देशक धर्मेन्द्र गुरुङ फरार छन् । एक महीनाभित्र संस्थाको घरजग्गा बेचेर निक्षेपकर्ताको रकम तिर्ने कागज गरी गत मङिसरमा महानगरीय प्रहरी परिसर हनुमान ढोकाले उनीहरूलाई रिहा गरेको थियो । तर, हालसम्म पनि आफ्नो रकम नपाएको भन्दै निक्षेपकर्ताहरूले जिप्रकामा उजुरी दर्ता गराएका हुन् ।
सहकारीको पोखरा स्थित घरजग्गा, चितवनको एभरेष्ट मेडिकल कलेज तथा संस्थाको चल्ती खाता नेपाल विकास बैङ्कले रोक्का गरेको पीडितहरूले बताएका छन् । पीडितहरू अहिले जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय हनुमान ढोका तथा डिभिजन सहकारी कार्यालय काठमाडौंमा धाइरहेका छन् ।
६ महीनादेखि सम्पर्कविहीन सहकारी सञ्चालहरूलाई डिभिजन सहकारी कार्यालय बिजुलीबजारले समेत कारबाही नगरेको पीडितहरूले गुनासो गरेका छन् ।
उक्त सहकारीमा बागबजारका व्यापारी चेवनलाल श्रेष्ठको रू. १२ लाख, सूर्यकिरण शाक्यको रू. १९ लाख, सुशील रौनियारको रू. ४ लाख, रश्मी कटवालको रू. २ लाख ५० हजार, भागवत प्रधानको रू. ३२ लाख, सावित्री थापाको रू. ३० लाख, र उत्तमदत्त पाण्डेको रू. ५३ हजार रहेको छ ।
महानगरीय प्रहरी परिसर हनुमान ढोकाले फरार सञ्चालकलाई उपस्थित गराउन पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा अभियुक्तको खोजी भइरहेको महानगरीय प्रहरी प्रभाग सिंहदरबारका प्रहरी निरीक्षक चन्द्रबहादुर केसीले बताए । त्यसमध्ये संस्थाका महाप्रबन्धक भक्तबहादुर राईलाई पक्राउ गरी हनुमान ढोका बुुझाइसकिएको उनले बताए । महाप्रबन्धक राईले भने आफू संस्थाको कर्मचारी मात्र भएको बताउँदै सञ्चालकहरू सम्पर्कविहीन हुँदा निक्षेपकर्ताहरू पीडित भएको जानकारी दिए ।
नेपाल सहकारीले २०५४ सालमा नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो । पीडित चेवन श्रेष्ठले कारबाही गर्ने निकाय कमजोर हुँदा सहकारीमा जम्मा गरेको रकम सुरक्षित नभएको बताए । १४ वर्षअघि स्थापना भएको सो सहकारीको बागबजारमा केन्द्रीय कार्यालय छ । पोखरा, वीरगञ्ज र कलङ्कीमा पनि यसका शाखा छन् ।
औद्योगिक विकासको लागि बुटवलमा सहकारी संस्था
जेठ २३, बुटवल (अस) । रूपन्देही उद्योग सङ्घको पहल र उद्योगीहरूको सक्रियतामा रूपन्देही जिल्लाभरि कार्यक्षेत्र रहने गरी नवीनतम औद्योगिक विकास सहकारी संस्था स्थापना भएको छ । संस्थाको भर्खरै सम्पन्न प्रारम्भिक साधारणसभाले औद्योगिक क्षेत्र स्थापनाका लागि सहकारीमार्फत पहल गर्ने निर्णयगरेको छ ।
साधारणसभामा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सहकारीको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्ने र औद्योगिक विकासको लक्ष्य प्राप्तिका लागि शुभकामना दिएका छन् । तदर्थ समितिका अध्यक्ष एजाज आलमले संस्था व्यवसायको विकासका लागि आवश्यक पर्ने औद्योगिक क्षेत्रको स्थापना, कच्चा पदार्थको आपूर्ति एवम् औद्योगिक लगानीजस्ता मूल उद्देश्य लिएर स्थापना भएको हुँदा उद्देश्य प्राप्तिमा कटिबद्ध रहेको बताएका छन् । उनले सो सहकारीलाई राष्ट्रकै नमूना सहकारीका रूपमा विकास गर्ने पनि बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष लक्ष्मण आचार्य, नेकपा एमालेका जिल्ला सदस्य बाबुराम भट्टराई, रूपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, द्वितीय उपाध्यक्ष बोनिन पिया, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलका व्यवस्थापक भोजराज बिनाडी, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रूपन्देहीका लेखा संयोजक महेश्वरप्रसाद श्रेष्ठ, नेपाल ट्रकटयाङ्कर व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रानाभाट, रूपन्देही व्यापार सङ्घका अध्यक्ष टङ्कप्रसाद पोखरेल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपक ज्ञवाली, निर्वाचन समितिका संयोजक डीआर घिमिरेलगायतले उद्देश्य प्राप्तिका लागि शुभकामना दिएका थिए ।
साधारणसभाले २ वर्षका लागि सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखासमिति गठन गरेको छ । संस्थाको अध्यक्षमा एजाज आलम, उपाध्यक्षमा रामप्रसाद बस्याल, सचिवमा दिनेशराज रेग्मी, कोषाध्यक्षमा नरेशकुमार श्रेष्ठ र सदस्यहरूमा दीर्घबहादुर केसी, नारायणप्रसाद भण्डारी र महेन्द्रप्रसाद लिगल निर्वाचित भएका छन् । त्यसैगरी लेखासमितिको संयोजकमा विष्णुकुमार श्रेष्ठ, सदस्यहरूमा माधवप्रसाद पौडेल र लोकबहादुर खत्री निर्वाचित भएका छन् ।
सहकारीमार्फत धानको बीउ र रासायनिक मल
जेठ २३, सिन्धुली (अस)। विपन्न किसानहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले कमलामाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बीउबिजन तथा रासायनिक मल विक्रीवितरण शुरू गरेको छ । कमलामाई नगरपालिका ९ ढुङ्ग्रेबास स्थित उक्त सहकारीमा आबद्ध विपन्न महिला तथा किसानहरूलाई सहुलियत दरमा सावित्री धानको बीउ तथा रासायनिक मल विक्रीवितरण थालिएको सहकारी संस्थाले बताएको छ ।
बजारभन्दा कम मूल्यमा सहकारीले १ सय ५० बोरा युरिया र डीएपी मल विक्री गरिसकेको छ । प्रतिबोरा १ हजार र प्रतिकिलो २१ रुपैयाँमा विक्री गरिएको मलको मूल्य बजारमा प्रतिकेजी २६ रुपैयाँ रहेको संस्थाका कर्मचारी लेखनाथ चौलागाइंले बताए । बजारमा १ हजार ४ सयभन्दा माथि पर्ने सावित्री धानको बीउ किसानलाई १ हजार ३ सयमा विक्री गर्ने सहकारीका अध्यक्ष अम्बरदीप देवकोटाले बताए ।
जनकपुर अञ्चलकै उत्कृष्ट सहकारी पुरस्कार पाउन सफल यो संस्थाका सदस्यबाहेक भद्रकाली, जलकन्या, रतनचुरालगायत स्थानका किसानले समेत सहुलित दरमा मल तथा धान लिएका छन् । वीउबिजनमात्र होइन सरकारी संस्थाले आफ्ना सदस्यहरूका लागि रू. ३५ हजारसम्म विना धितो ऋण उपलब्ध गराउने गरेको छ । सहकारीबाट यस्तो सुविधा लिनेहरूको सङ्ख्या ६ सय जना रहेका देवकोटाले जानकारी दिए ।
१ हजार २ सय ५७ जना सदस्य रहेको सहकारी संस्थाको चालू पूँजी २ करोड १५ लाख र भौतिक सम्पति १ करोडभन्दा बढी रहेको अध्यक्ष देवकोटाले जानकारी दिए ।
महिला सहकारीद्वारा रू. १ करोड लगानी
जेठ २३, दमौली (अस) । तनहुँको खैरेनीटारस्थित खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्थाले १ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । २०५९ सालमा स्थापना भएको यो संस्थाको अहिले १ करोड ७० लाख ६७ हजार रुपैयाँ पूँजी पुगेको छ । केही सीमित महिला सदस्यको थोरै रकमबाट शुरू भएको महिला सहकारीमा हाल १ हजार २ सयभन्दा बढी सदस्य पुगेको संस्थाकी व्यवस्थापक लक्ष्मी श्रेष्ठले बताइन् ।
सहकारीले आफूसँग आबद्ध महिलाहरूलाई विना धितो सामूहिक जमानीमा रू. ५ हजारदेखि रू. २ लाखसम्म ऋण दिने गरेको छ । संस्थाले बचतमा १२ प्रतिशत ब्याज दिने गरेको छ भने ऋण लगानीमा १८ प्रतिशत ब्याज लिने गरेको छ । महिलाहरू सङ्गठित भएर सहकारी खोलेपछि पैसाको समस्या पर्दा अर्काको दैलोमा जानुपर्ने समस्या हटेको आबद्ध सदस्यहरूको भनाइ छ । पहिलापहिला सहकारी नहुँदा अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले आफूहरूलाई ऋण नपत्याउँदा काम गर्न नपाएको बताउने खैरेनीटारकी पार्वती विक अहिले आफ्नै सहकारी भएपछि ऋणका लागि अरूको भर पर्नुनपरेको बताउँछिन् ।
दाना उद्योग खोल्ने तयारीमा प्रतिभा सहकारी
जेठ २३, काठमाडौं (अस)। पशु आहारका निम्ति प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । ३० लाख रुपैयाँको लागतमा उद्योग सञ्चालन गरिने संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले बताए । उनले हरियो घाँसलाई सुकाएर पाउडर बनाउने मेशिन दिल्लीबाट ल्याउन लागिएको र निकट भविष्यमै कारखाना सञ्चालनमा ल्याइने जानकारी दिए ।
२०५७ साल असारमा २५ जना सदस्यको रू. १/१ हजार शेयरजम्मा गरी कुल रू. २५ हजार चुक्ता पूँजीबाट शुरू गरिएको संस्था अहिले थसिखेल-१४ स्थित आफ्नै भवनबाट सञ्चालित छ । आर्थिक वर्ष०६६/६७ सम्म संस्थामा रू. १ करोड १२ लाख ८४ हजार चुक्ता पूँजी पुगेको थियो । तर, चालू आवको जेठ १५ सम्ममा रू. ३७ लाख १५ हजार रकमबराबरको शेयर थप गरी रू. १ करोड ५० लाख चुक्ता पूँजी पुर्याइएको तिमल्सिनाले जानकारी दिए । आव ०६६/६७ को असार मसान्तसम्म रू. ३ करोड २३ लाख ९४ हजार संस्थामा निक्षेप रहेकोमा अहिले रू. ४ करोड ५० लाख पुगेको छ । यस्तै आव ०६६/६७ मा रू. ११ करोड ४ लाख १३ हजार कर्जा लगानी गरेको यो संस्थाले १ वर्षको अवधिमा रू. ५ करोड ३२ लाख २७ हजार ऋण असुली गर्न सफल भएको छ । यसैगरी संस्थाको ०६६/६७ मा रू. ५ करोड ६१ लाख ८५ हजार लगानी रहेको छ । चालू आवको जेठ १५ सम्म संस्थाले रू. ५ करोड ८० लाख कर्जा लगानी गरेको तिमल्सिनाले जानकारी दिए । संस्थाले हायरपर्चेज, घरेलु (मसला तथा मैनबत्ती उद्योग)लगायत व्यापार व्यवसायका क्षेत्रमा कर्जा लगानी गरेको छ । लगानीमा संस्थाले १६ देखि २० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । संस्थाले हालसम्म राष्ट्रिय सहकारी बैङ्क, नारी संरचना साकोस, जिल्ला सहकारी सङ्घ तथा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा शेयर लगानी गरेको जानकारी दिएको छ ।
आफ्ना सदस्यहरूलाई स्वास्थ्य सेवा दिने उद्देश्यले गत मङ्सिरमा संस्थाले प्रतिभा पोलिक्लिनिकसमेत स्थापना गरेको छ । आगामी ३ वर्षभित्रमा उक्त पोलिक्लिनिकलाई सहकारी सामुदायिक अस्पतालका रूपमा विकस गरिने अध्यक्ष तिमल्सिनाले बताए । संस्थाले १६ वर्षुनिका युवाहरूको नेतृत्व विकास गर्न र सहकारीका विषयमा बुझाउन हरेक महीनाको एकपटक स्कूलमै गएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै संस्थाले बेरोजगार महिलाहरूलाई आमा समूहमा संलग्न गराई प्रौढ शिक्षा र सहकारीसम्बन्धी तालीम दिँदै आएको छ ।
ऋण लगानी सुरक्षित बनाउनका निम्ति संस्थाले ऋण जोखिम कोष, खराब ऋण जोखिम कोष, शिक्षा कोष, संरक्षित पूँजी कोष, कर्मचारी बोनस कोष, जगेडा कोषलगायत कोष खडा गरेको छ । संस्थाले साधारण बचत, क्रमिक बचत, प्रतिभा बचत, प्रतिभा विशेष बचत, खुत्रुके बचत तथा मुद्दती बचतसहित ६ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । यी खातामा ९ देखि १६ प्रतिशतसम्म ब्याज निर्धारण गरिएको छ । यस संस्थाको कार्यक्षेत्र अहिले ललितपुर उपमहानगरपालिका वडा नं १२, १३, १४, १५ र १९ रहेका छन् । संस्थामा हाल १ हजार ८ सय ३० शेयर सदस्य रहेका छन्, जसमध्ये १ हजार २ सय ८ पुरुष तथा ६ सय २२ महिला सदस्य रहेका संस्थाले जानकारी दिएको छ । संस्थाको १० सदस्यीय कार्यसमितिमा अध्यक्ष माधव तिमल्सिना, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, सचिव रामशरण दुलाल, कोषाध्यक्ष मदनकृष्ण तिमल्सिना र सदस्यहरूमा अर्जुन न्यौपाने, रमेश कोइराला तथा रामेश्वर भट्टराई रहेका छन् । यस्तै लेखा समिति सदस्यमा देवनारायण तिमल्सिना, महेश पाठक र हरि तिमल्सिना रहेका छन् ।
Admin 2011-06-07