मकवानपुरमा सहकारीको कारोबार डेढ अर्ब
साउन २३, हेटौंडा (अस)। आर्थिक वर्ष२०६७/०६८ मा मकवानपुरमा सञ्चालित सहकारी सङ्घसंस्थाहरूले करीब डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । अघिल्लो आवमा ती सङ्घसंस्थाले रू. ९० करोड ४६ लाखबराबरको कारोबार गरेका थिए । विगत केही वर्षयता जिल्लामा सहकारीको विकास तीव्र गतिमा भएकाले कारोबार पनि बढेको डिभिजन सहकारी कार्यालय हेटौंडाका अधिकृत पुरुषोत्तम सापकोटाले बताए । हाल मकवानपुरमा ४ सय ३१ सहकारी संस्था सञ्चालनमा छन् ।
आव ०६६/०६७ मा मकवानपुरमा कृषि सहकारी संस्थाले मात्र रू. २ करोड ७१ लाखबराबरको कारोबार गरेको थियो । आव ०६७/०६८ यो रू. ३ करोड ४१ लाख पुगेको छ । त्यसैगरी, आव ०६६/०६७ मा जिल्लाका बचत तथा ऋण सहकारी संस्थाले रू. ६० करोड ४४ लाख कारोबार गरेकोमा गत आवमा यो बढेर रू. १ अर्ब १९ करोड ३७ लाख पुगेको कार्यालयले जानकारी दिएको छ । यसैगरी, आव ०६६/०६७ मा रू. १ करोड ५० लाखको कारोबार गरेको दुग्ध सहकारी संस्थाले गत आवमा कारोबार वृद्धि गरी रू. १ करोड ५८ लाख पुर्याएको छ ।
यसैगरी, आव ०६७/०६८ मा जिल्लाका बहुद्देश्यीय सहकारी संस्थाले रू. २७ करोड १० लाखबराबरको कारोबार गरेका छन् । अघिल्लो आवमा यो रू. २२ करोड ३६ लाख रहेको थियो । अन्य विषयगत सहकारीहरूले पनि अघिल्लो आवको तुलनामा धेरै परिमाणमा कारोबार वृद्धि गरेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार यो अवधिमा सहकारीको शेयर पूँजीमा पनि वृद्धि भएको छ । आव ०६६/०६७ मा रू. ११ करोड ५३ लाख शेयर पूँजी रहेकोमा गत आवमा बढेर रू. १६ करोड ७० लाख पुगेको छ ।
सहकारीमार्फत सामुदायिक अस्पताल
साउन २३, बागलुङ (अस) । बागलुङको धवलागिरि स्वास्थ्य सहकारी संस्था लिमिटेडले धवलागिरिवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक अस्पताल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । उक्त स्वास्थ्य सहकारी संस्थाले आगामी चैतभित्र ५० शैय्याको अस्पताल शुरू गर्ने तयारी गरेको हो । सरकारले अघि सारेको सामुदायिक स्वास्थ्य सेवालाई सहकारीमार्फत आमजनतामा पुर्याउन काम शुरू गरिएको संस्थाका अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । समुदायका सबैको पहुँच हुने गरी २०६८ को अन्त्यसम्ममा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्ने सञ्चालकहरूको भनाइ छ ।
१० हजारभन्दा बढी सदस्यमार्फत कारोबार गर्ने लक्ष्य लिएको सहकारीले पहिलो चरणमा १ हजार सदस्य बनाउने जानकारी दिएको छ । अस्पताललाई व्यवस्थित गर्दै गाउँमा स्वास्थ्य प्रतिनिधिमार्फत सदस्य विस्तार गरी सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्ने सापकोटाले बताए । यसका लागि शेयर सदस्यबाट रू. ५ करोड सङ्कलन गर्न शेयर खुला गरिएको छ । संस्थाका सचिव तथा कार्यक्रम निर्देशक निर्मल सापकोटाले न्यूनतम रू. १५ हजारदेखि रू. ५ लाखसम्मको शेयर खरीद गर्न सकिने बताए । शेयर रकमका आधारमा सदस्य र तिनका परिवारलाई सेवा सुविधामा सहुलियत प्रदान गरिनेछ । अस्पतालमा आईसीयू कक्ष, एक्स-रे, इण्डोस्कोपी, प्याथोलोजी सेवा उपलब्ध हुने सचिव सापकोटाले जानकारी दिए ।
विनाधितो ऋणमा आकर्षण
साउन २३, खलङ्गा (रुकुम) (अस) । केही वर्षअघिसम्म निष्क्रिय रहेका रुकुमका सहकारी संस्था पछिल्लो समय लोकप्रिय बन्दै आएका छन् । विपन्न, गरीब र ग्रामीण क्षेत्रवासीलाई लक्षित गरेर विनाधितो ऋण दिन थालेपछि ती सहकारी संस्थाले चर्चा पाउन थालेका हुन् । सदरमुकाम खलङ्गामा रहेका दर्जनभन्दा बढी बचत तथा ऋण सहकारीले यस्तो कार्यक्रम शुरू गरेका हुन् ।
ग्रामीणस्तरका जनतालाई सहकारीमा पहुँच बढाउन विनाधितो ऋण दिएको ड्रि्रे शाहीकुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक यज्ञ बिष्टले जानकारी दिए । 'ग्रामीणस्तरका जनतामाझ विनाधितो ऋण कार्यक्रम प्रभावकारी भएको छ,' प्रबन्धक बिष्टले भने । यस कार्यक्रमअन्तर्गत निमुखा र गरीबलाई व्यवसाय सञ्चालन गर्न रू. ५ हजारदेखि १ लाखसम्म ऋण दिइएको छ । ऋणबाट सर्वसाधारणले पशुपालन, कुखुरापालन, तरकारी खेती, फलफूलखेती, माछापालन, च्याउखेतीलगायत विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । '२५ देखि ३० जनाको बचत समूहमार्फत सामूहिक ऋण लगानी हुने गरेको छ,' उनले भने ।
सस्तो ब्याजदर र किस्तामा ऋण असुली हुने हुँदा लगानी प्रभावकारी बन्दै गएको छ । 'पहिले १/२ हजार रुपैयाँ ऋण लिँदा पनि घर/जग्गा बन्दकी राख्नुपथ्र्यो, चर्को ब्याजले घर जग्गा नै कब्जा हुन्थ्यो,' छिवाङ-२ रुकुमका गोपाल केसीले भने, 'अहिले गरीबलाई काम गर्न सजिलो भएको छ ।' केसीले सहकारीमार्फत रू. २० हजार ऋण लिएर बेमौसमी तरकारी खेती गर्दै आएका छन् । किस्ता तिरेर बचेको रकमले समूहमा बचत गर्ने र घर खर्च चलाउने गरेको उनले बताए । छिवाङका १ सय ५० भन्दा बढी महिला यसमा आबद्ध छन् । जिल्लाभर १ हजार ५ सय महिला संलग्न रहेको सहकारी संस्था रुकुमले जानकारी दिएको छ । विनाधितो ऋण लगानी गर्दा प्रत्यक्ष फाइदा हुने हुँदा कार्यक्रम प्रभावकारी भएको जिल्ला सहकारी सङ्घ रुकुमका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिए ।
तीन सहकारीको व्यावसासियक कृषि आयोजना
साउन २३, तनहुँ (अस)। विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजनाका लागि छनौट भएका तीन सहकारीले काम शुरू गरेका छन् । बैङ्कले तनहुँसहित पश्चिमाञ्चलका लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, नवलपरासी, कपिलवस्तु र रूपन्देही जिल्लामा एकैसाथ आयोजना शुरू गरेको हो ।
कृषकहरूको व्यावसायिक शीप तथा क्षमता वृद्धि गरी उत्पादनमा सघाउन आयोजना शुरू गरिएको हो । यस कार्यक्रमअन्तर्गत सतिस्वाँराको साथ कृषि सहकारी, श्याम्घाको न्यू अभियान कृषि सहकारी र केशवटारको हिमशिखर बहुउद्देश्यीय सहकारी छानिएका छन् ।
तनहुँका ११ ओटा कृषि सहकारी तथा समूहमध्ये उत्कृष्ट प्रस्तावनाका आधारमा उक्त तीनओटा सहकारी छनौट भएको जिल्ला कृषि विकास कार्यालय तनहुँका कृषि योजना अधिकृत कृष्णप्रसाद पौडेलले बताए । साथ कृषि सहकारीले दलित, गरीब तथा मुस्लिम महिलाका लागि बेमौसमी तरकारी उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गरेको थियो । उसले रू. २४ लाख अनुदान रकमबाट अदुवा खेती तालीम शुरू गरेको छ । अदुवाको उत्पादनका लागि आवश्यक कृषि प्रविधि भित्र्याउने पहल पनि भइरहेको सहकारीले जानकारी दिएको छ । न्यू अभियान कृषि सहकारीले अदुवा उत्पादन र बजार व्यवस्थापन कार्यक्रम तथा हिमशिखर बहुउद्देश्यीय सहकारीले बीउ उत्पादन कार्यक्रम शुरू गरिसकेका छन् । न्यू अभियानले आयोजनाबाट रू. ३५ लाख ४० हजार अनुदान पाएको छ । हिमशिखर बहुउद्देश्यीय सहकारीले रू. २८ लाख अनुदान पाएको छ । हिमशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष बुद्धिबहादुर जिसीले धान, दाललगायतको बीउ उत्पादनका लागि काम शुरू गरिसकेको बताए । आयोजनाको २ वर्षको अवधिमा बीउ सङ्कलन केन्द्र स्थापना, कुलो मर्मत, बीजवृद्धि तालीम, मूलबीउ खरीदलगायत काम गरी सहकारीलाई बीउ उत्पादनमा उत्कृष्ट बनाउने उनले बताए ।
सहकारी संस्था मर्जरमा जोड
साउन २३, चितवन (अस) । जिल्लामा सहकारी संस्था खुल्ने क्रम अत्यधिक बढेपछि एकअर्कामा गाभिएर (मर्जर गरेर) अघि बढ्नुपर्ने चितवनका सहकारीकर्मीहरूले बताएका छन् । सहकारी सङ्ख्या घटाएर दायरा फराकिलो पार्दा काममा प्रभावकारिता आउने उनीहरूको भनाइ छ ।
सहकारी ऐन २०४८ मा एउटा सहकारी संस्थाको सदस्य बनेको व्यक्ति अर्को संस्थाको सदस्य बन्न नपाउने प्रावधान भए पनि चितवनमा भने एकै व्यक्ति धेरै सहकारी संस्थाका सदस्य/सञ्चालक छन् । यसलाई नियन्त्रण गर्न आर्थिक वर्ष२०६८/०६९ देखि संस्था दर्ता गर्नमा कडाइ गरिने सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, चितवनले जानकारी दिएको छ । कुनै व्यक्ति एकभन्दा बढी सहकारी संस्थाको पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको भेटिएमा नियमअनुसार कारबाही हुने कार्यालयका प्राचार्य बलराम निरौलाले बताए । 'जिल्लामा यस्तो कार्य हुन नदिन हामी सतर्क छौं,’ निरौलाले भने ।
चितवनमा अहिले १ लाख ७ हजार ६ सय ६३ जना सहकारीमा आबद्ध छन्, जसमध्ये ५५ हजार ६ सय ३४ जना महिला र ५२ हजार २९ जना पुरुष छन् । आव २०६७/०६८ को जेठ मसान्तसम्म चितवनमा सहकारी संस्थाको शेयर पूँजी रू. ४३ करोड ५४ लाख, निक्षेप रू. १ अर्ब २२ करोड ५ लाख, लगानी रू. २ अर्ब १३ करोड ९१ लाख छ ।
Admin 2011-08-09