कामधेनुमा १० हजार किसानबाट दूध
केपी भट्टराई
\
माघ २४, तरहरा (सुनसरी) । सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाले आर्थिक वर्ष०६६/६७ मा रू. ७६ लाख खुद मुनाफा गरेको छ । सो सहकारीले उक्त आवमा रू. २१ करोड ६ लाख ३९ हजारको कारोबार गरी रू. १ करोड ८३ लाख ७७ हजार आम्दानी गरेको संस्थाका व्यवस्था निर्देशक टीकाप्रसाद ओझाले अभियानलाई बताए । उनका अनुसार सहकारीले अघिल्लो आव ०६५/६६ मा रू. ५४ लाख ६ हजार खुद मुनाफा गरेको थियो । चालू आवमा संस्थाको रू. ८५ लाख खुद मुनाफा गर्ने लक्ष्य रहेको बताइएको छ ।
२०३६ सालमा रू. १० हजार लगानी गरी टीकाप्रसाद ओझाले व्यक्तिगत रूपमा सञ्चालन गरेको कामधेनु दुग्ध सङ्कलन संस्थालाई २०५७ सालमा कामधेनु दुग्ध विकास सहकारी संस्थाको रूपमा दर्ता गरिएको हो । शुरूमा दूध सङ्कलन गरी क्रीम, नौनी र घ्यू उत्पादन तथा विक्री गर्दै आएको सो संस्थाले केही वर्षपछिदेखि अत्याधुनिक उपकरण जडान गरी उत्पादनमा विविधिकरण गरेको ओझाले जानकारी दिए । सो सहकारीले दैनिक २० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको उद्योग पनि सञ्चालन गर्दैआएको छ । सो उद्योगले हाल दैनिक ८ हजार लिटर दूध सङ्कलन गरी दूध, दही, मही, पनीर, खुवा, नौनी घ्यू, खारेको घ्यूलगायत दुग्धजन्य पदार्थको उत्पादन गरी सुनसरी र मोरङका बजारहरूमा विक्री गर्दै आएको बताइएको छ । ओझाले भने, 'हाम्रा उत्पादनहरूले स्थानीय बजारकै माग पूरा गर्न नसकेकाले अन्यत्र बजार खोज्न परेको छैन ।’
उद्योगको क्षमताभन्दा कम दूध सङ्कलन भइरहेकाले दूध उत्पादन वृद्धिका लागि किसानलाई गाईभैंसी खरीद गर्न करीब रू. २ करोड सहकारीबाट ऋण लगानीसमेत गरिएको सहकारीका लेखापाल केदार बस्नेतले बताए । उनका अनुसार सहकारीले स्थानीय सहकारी संस्थासँग मिलेर ३० लाख रुपियाँको लागतमा चतरामा पशु विकास फर्मसमेत सञ्चालन गरिरहेको छ ।
सो संस्थाले हाल धनकुटा, तेह्रथुम, सुनसरी र मोरङका १० हजारभन्दा बढी किसानबाट दूध खरीद गर्दैआएको छ । कूल पूँजी रू. ६ करोडभन्दा बढी भएको सो संस्थाको आफ्नै सुविधासम्पन्न भवन, ६ हजार लिटर क्षमताको दूध ढुवानी गर्ने टयाङ्करसहित सात ओटा सवारी साधन पनि छन् । संस्थाले सुनसरीको प्रकाशपुर, चतरा, सिङ्गिया र भरौल, मोरङको उर्लाबारी, इटहरा, लेटाङ र बयरवन, धनकुटाको जोरपाटी, मूर्तिढुङ्गा, मारेक कटहरे, उत्तरपानी, खाल्डेलगायत स्थानमा चिस्यान केन्द्र तथा चिलिङ भ्याट राखेर दूध सङ्लन गर्ने गरेको छ ।
कामधेनु दुग्ध विकास सहकारी संस्थामा २३ ओटा संस्था र ८ सय व्यक्ति शेयर सदस्य छन् भने शेयर पूँजी रू. १ करोड ३६ लाख २६ हजार रहेको छ । साथै सहकारी विकाससम्बन्धी विभिन्न कोषमा रू. १ करोड ८४ लाख २० हजार रहेको पनि संस्थाले जानकारी दिएको छ । हाल मासिक १ लाख ८० हजार लिटरभन्दा बढी दूध खरीद गरिरहेको संस्थाले गत आर्थिक वर्षको रू. ४ करोड ३९ लाख १७ हजारको १५ लाख ७३ हजार ५ सय लिटर दूध खरीद गरेको थियो ।
लेखापाल बस्नेतका अनुसार संस्थाले खरीद गरेको दूधलाई प्रशोधन गरी गत आवमा संस्थाले रू. ८० लाख ५३ हजार रुपैयाँको १ लाख ४९ हजार ८ सय किलोग्राम दही, रू. २५ लाख ९८ हजारको ६ हजार ५ सय ७० केजी नौनी घ्यू, रू. ५३ लाख ६५ हजारको ११ हजार ३ सय ९० केजी खारेको घ्यू, रू. ५ लाख ६६ हजारको १ हजार ६ सय ४१ केजी पनीर, रू. १० लाख ४५ हजारको ३ हजार ६० केजी खुवा तथा रू. १२ लाख ४३ हजारको ६६ हजार ९ सय लिटर मही उत्पादन गरी विक्री वितरण गरेको थियो । संस्थाले ५२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
जनसचेतनको रू.५ करोड लघुवित्तमा
सुजन ओली
माघ २४, दोलखा । विगत १७ वर्षमादोलखाको काब्रे गाविसस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त क्षेत्रमा करीब रू. ५ करोड कर्जा प्रवाह गरेको छ । लघुवित्त क्षेत्रमा प्रवाह गरेको कर्जाले निम्न आयस्तर भएका दलित, विपन्न, महिला सदस्यहरूको आर्थिकस्थिति सुधार्न ठूलो योगदान पुर्याएको संस्थाका सचिव हेमन्त चौलागाईंले अभियानलाई बताए । उनका अनुसार आर्थिक वर्ष२०६६/६७ मा संस्थामा लघुवित्त कर्जाअन्तर्गत करीब रू.३ करोड असुली भइसकेको छ ।
संस्थाका सदस्यहरूले लघुकर्जाअन्तर्गतको रकम कृषि, सानाउद्योग तथा व्यवसाय, पशुपालनलगायत क्षेत्रमा लगानी गर्दै आएका छन् । लघुवित्त कार्यक्रमअन्तर्गत प्रदान गरेको कर्जामा संस्थाले वार्षिक १५ प्रतिशत ब्याज लिइरहेको छ । कर्जाको अवधि १ देखि २ वर्षको हुने बताइएको छ ।
संस्थाद्वारा सञ्चालित लघुवित्त कर्जाले घरव्यवहार चलाउन, छोराछोरी पढाउन धेरै सजिलो भएको काब्रे गाविस ६ का चक्रबहादुर विश्वकर्माले बताए । २०५२ सालदेखि सो संस्थाबाट लघुवित्त कर्जा लिन शुरू गरेका विश्वकर्माले हालसम्म सातपटक ऋण लिइसकेको बताए । रू. १० हजार कर्जा लिई सुनको व्यवसाय शुरू गरेका विश्वकर्माले उक्त व्यवसायबाट दोलखाको काब्रे र काठमाण्डौको जोरपाटीमा पक्की घर बनाएका छन् ।
मिर्गे गाविस २ का प्रकाश तामाङले पनि संस्थाको लघुकर्जा कार्यक्रम धेरै उपयोगी भएको बताए । आर्थिक अवस्था कमजोर भएका र साना व्यवसाय गर्न चाहाने व्यक्तिलाई उक्त कर्जाले धेरै सहयोग पुगेको उनको अनुभव छ ।
हाल संस्थाले जिल्लाको चार गाविस र नगरपालिकाका ५ ओटा वडामा सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा जिल्लाका अन्य गाविसमा पनि सेवा विस्तार गरिने लक्ष्य लिएको बताइएको छ ।
संस्थाले विगत २ वर्षदेखि अन्तरराष्ट्रिय मापदण्डअनुरूप क्षमता अभिवृद्धिका लागि 'ए-वान कम्पिटेटिभ च्वाइस फर एक्सिलेण्ट इन र्सर्भिस एण्ड साउण्डनेस' (एक्सेस) कार्यक्रम सञ्चालन गरेको छ । आगामी चैतमा हुने एशियाली ऋण महासङ्घको लेखापरिक्षणपछि संस्थाले अन्तरराष्ट्रिय सहकारी संस्थाको मान्यता पाउने भएको छ । एशियाली ऋण महासङ्घले नेपालका सात ओटा बचत तथा ऋण सहकारी संस्थालाई यस्तो मान्यता दिने भएको छ ।
तनहुँको बाराही सहकारी सर्वोत्कृष्ट
माघ २४, तनहुँ (अस) । तनहुँको जामुनेस्थित बाराही महिला बहुद्देश्यीय सहकारी संस्था देशभरका महिला सहकारीमध्ये उत्कृष्ट भएको छ । 'सेण्टर फर माइक्रो फाइनान्स'ले नेपालका सहकारीमध्ये महिला जागरणको क्षेत्रमा राम्रो काम गरेको भन्दै उक्त सहकारीलाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेको हो । सो महिला सहकारीले मुलुकका ५० ओटा सहकारी संस्थामार्फत महिला जागरण तथा सशक्तीकरणका क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले संस्थाका अध्यक्ष शोभा कोइरालालाई रू. पाँच हजार नगद, शील्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
विस. २०५३ मा ५० महिला सदस्यबाट स्थापना भएको सो सहकारीको सदस्य सङ्ख्या अहिले १ हजार ६४ पुगेको छ । संस्थाले सदस्यहरूको आर्थिक विकासका लागि विना धितो बचत रकमको तीन गुणा बढीसम्म ऋण प्रवाह गर्दै आएको बुझिएको छ । साथै धितो राख्नेलाई रू. २ लाखसम्म ऋण प्रदान गर्दै आएको अध्यक्ष कोइरालाले बताइन् । हाल संस्थाको कुल पूँजी रू. १ करोड ९ लाख पुगेको छ । उनका अनुसार संस्थाले लघुवित्त कार्यक्रम, लेखा परीक्षण, सुत्केरी हेरचाह, स्वरोजगारलगायत विषयमा तालीम पनि सञ्चालन गर्दै आएको छ ।
पोलिक्लिनिक सञ्चालन गर्दै पद्मावती सहकारी
माघ २४, काठमाडौं । चालू आर्थिक वर्षभत्रै पद्मावती बचत तथा ऋण सहकारी संस्थाले पोलिक्लिनिक सञ्चालन गर्ने भएको छ । कम्तीमा १५ शैयाका सो पोलिक्लिनिक करीब रू. २५ लाखको लागतमा सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष रोशनकुमार शाक्यले अभियानलाई जानकारी दिए । उनले भने, 'पोलिक्लिनिकका लागि आवश्यक अधिकांश स्वास्थ्य उपकरण हामीसँग भएकाले कम लागतमा पनि सञ्चालन गर्न सक्छौं ।' संस्थाले २०५७ सालदेखि पद्मावती स्वास्थ्य केन्द्र पनि सञ्चालन गर्दैआएको छ । स्थापनाकालमा एक जना सहायक स्वास्थ्य कर्मचारी (अहेब) बाट सेवा शुरू गरेको सो केन्द्रमा हाल १० जना चिकित्सकले नियमित सेवा प्रदान गरिरहेका छन् ।
पद्मावती बचत तथा ऋण सहकारी संस्था २०५० सालमा २५ जना सदस्यको रू. १ लाखबाट ललितपुरमा स्थापना भएको हो । हाल संस्थाको सदस्य सङ्ख्या १ हजार ५ सय ३२ र कुल पूँजी करीब साढे १५ करोड रुपैयाँ पुगेको छ । संस्थाका सदस्यहरूलाई बालसमूह, यूवासमूह, महिलासमूह, शिक्षासमूह, ऋणसमूह, बचतसमूह र बृद्धसमूह गरी सात उपसमितिमा विभाजन गरिएको छ । यी उपसमितिबाट संस्थाको नियमित क्रियाकलाप सञ्चालन भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए ।
संस्थाले नियमित, ऐच्छिक, महिला, बृद्ध आवधिकलगायत ११ किसिमका बचत कार्यक्रम सञ्चालन गरिरहेको छ । यी बचतमा संस्थाले वार्षिक ९ देखि १५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । आव ०६६/६७ सम्म संस्थाले रू. ११ करोड ९९ लाख बचत सङ्कलन गरेको छ । यसैगरी संस्थाले प्राथमिक ऋण, दैनिक बचत ऋण, घरजग्गा र आवास ऋणलगायत १० किसिमका कर्जा कार्यक्रम सञ्चालन गरिरहेको छ । यी कर्जाबाट संस्थाले वाषिर्क १२ देखि १८ प्रतिशतसम्म ब्याज उठाउँदै आएको बताएको छ । आव ०६६/६७ सम्म संस्थाले कर्जा प्रवाह गरेको कुल रकम रू. ११ करोड १९ लाख पुगेको छ । हाल संस्थामा ६ जना कर्मचारी कार्यरत छन् ।
विसं. २०५७ देखि संस्थाले ललितपुरको पुल्चोकमा सदस्यहरूमार्फत पद्मावती खाद्यान्न भण्डार पनि सञ्चालन गर्दै आएको छ । भण्डारबाट सदस्यहरूले सुपथ मूल्यमा उपभोग्य वस्तु पाउँदै आएका छन् । संस्थाले २०६० सालदेखि पद्मावती टयुसन केन्द्र पनि सञ्चालन गर्दै आएको छ । एकदेखि १० कक्षासम्म पढाइ हुने सो केन्द्रमा १२ महीना नै कक्षा सञ्चालन हुने बताइएको छ । केन्द्रमा सदस्य र गैरसदस्य दुवैका छोराछोरीले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । यसैगरी संस्थाले सहकारी शिक्षा दिने उद्देश्यले २०६५ सालदेखि ट्रेनिङ अफ ट्रेनर (टीओटी) केन्द्र पनि सञ्चालन गर्दै आएको छ । केन्द्रले सहकारी शिक्षा लिन चाहने सबैलाई न्यूनतम शुल्कमा तालीम दिँदै आएको बताएको छ ।
रोशनकुमार शाक्य अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्ष इन्द्रमुनि शाक्य, सचिव कदमलाल महर्जन, कोषाध्यक्ष खेमराज शाक्य र सहसचिवमा मोतीलाल महर्जन रहेका छन् । यसैगरी सदस्यहरूमा प्रेमबहादुर शाक्य, बाबुराजा शाक्य, शैलेन्द्र शाक्य, सुनिल शाक्य, सुशीला शाक्य, सानुमैयाँ शाक्य र चमेली शाक्य रहेका छन् ।
रोशनकुमार शाक्य
अध्यक्ष
पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.
तपाईं आफ्नो संस्थालाई कसरी चिनाउनुहुन्छ ?
पद्मावती बचत तथा ऋण सहकारी समुदायमा आधारित र समुदायद्वारा नियन्त्रित संस्था हो । अहिलेसम्म हाम्रो उद्देश्य नाफा कमाउनुभन्दा बढी सामाजिक कल्याण गर्नुमा केन्द्रित छ । त्यसैले पनि हामीले स्थापनाको करीब दुइ दशक पुग्न लाग्दा पनि कुल पूँजी करीब साढे १५ करोड रुपैयाँ मात्र पुर्याएका छौं । अब संस्थाले आफ्नो उद्देश्यलाई परिवर्तन गरी नाफामूलक क्षेत्रमा पनि काम गर्ने योजना बनाएको छ । यसका आधारमा म यस संस्थालाई सहकारीको मूल्य र मान्यतामा आधारित सधै सदस्यको हितका लागि अघि बढिरहेको संस्थाको रूपमा चिनाउन चाहन्छु ।
दुइ दशकको अवधिमा तपाईंले भोगेका समस्याहरू बताइदिनुस् न ।
एउटै उद्देश्यमा समुदायलाई लामो समयसम्म लिएर हिँड्नु आफैमा 'फलामको चिउरा चपाउनु सरह हो' । त्यसैले सदस्यहरूलाई समायोजन गर्दैअघि बढ्न धेरै अप्ठ्यारो छ । यसैले बेलाबेलामा धेरै समस्या देखिए । अर्को कुरा नेपालमा सहकारीसम्बन्धी स्पष्ट कानून छैन । त्यसैले सहकारी विभागले दिने कतिपय निर्देशन झण्झटिला हुन्छन् ।
संस्थाको दीर्घकालीन लक्ष्य चाहिँ के हो ?
संस्थाले २०५७ सालदेखि सञ्चालन गर्दै आएको स्वास्थ्य केन्द्रलाई विस्तार गरी पोलिक्लिनिक बनाउने लक्ष्य लिएको छ । निकट भविष्यमा संस्थाले बृद्धाश्रम पनि सञ्चालन गर्नेछ । यसका लागि संस्थाले प्रक्रिया अघि बढाइसकेको छ । आगामी दिनमा संस्थाले सदस्यहरूलाई दिँदै आएको सेवा सुविधामा वृद्धि गर्ने हाम्रो लक्ष्य छ ।
अन्तरराष्ट्रिय मापदण्डको जुनार उत्पादनको तयारी
माघ २४, काठमाडौं (अस)। आगामी २ वर्षमानेपालमा अन्तरराष्ट्रिय मापदण्डको जुनार उत्पादन हुने भएको छ । केन्द्रीय जुनार सहकारी सङ्घले सोअनुरूप जुनारको गुणस्तर वृद्धि गर्न शुरू गरेको सङ्घका अध्यक्ष दीपकप्रसाद कोइरालाले अभियानलाई बताए । 'अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि नेपाली जुनारले पनि अन्तरराष्ट्रिय मान्यता पाउने छ,' कोइरालाले भने । गुणस्तर वृद्धि भएपछि जुनारले सजिलै अन्तरराष्ट्रिय बजार पाउने उनको भनाइ छ । अन्तरराष्ट्रिय मापदण्डका लागि जुनारमा कम्तीमा १० प्रतिशत गुलियोपना हुनुपर्ने, कुल उत्पादनको ५० प्रतिशतभन्दा बढी ए ग्रेडको हुनुपर्ने, दाग हुन नहुने र सङ्क्रमणरहित हुनुपर्ने बताइएको छ । हाल नेपालमा उत्पादित करीब १५ देखि २० प्रतिशत जुनार मात्र अन्तरराष्ट्रिय मापदण्डअनुरूपको रहेको कोइरालाको अनुमान छ । आकारअनुसार जुनारलाई ए, बी र सी गरी तीन ग्रेडमा विभाजन गरिन्छ ।
जुनारको गुणस्तर सुधारका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा दुइ सदस्यीय जापानी प्राविधिकको टोली नेपाल आउन लागेको कोइरालाले बताए । 'टोली आउने निश्चित समय अझै नतोकिए पनि आगामी ३/४ महीनाभित्रै आउनेछ,' उनले भने । टोली दुइ वर्षका लागि नेपाल आउन लागेको हो । नेपालमा रहँदा टोलीले सामुदायिक विकास, जुनारको गुणस्तर निर्धारण, वर्गीकरण, नर्सरीदेखि बजार व्यवस्थापनसम्ममा प्राविधिक सहयोग पुर्याउने बताइएको छ । जापानमा जुनार उत्पादन नभए पनि अन्तरराष्ट्रिय मापदण्डअनुरूपको सुन्तलाजन्य फलफूल उत्पादन हुँदै आएको सङ्घका प्रबन्ध निर्देशक सुमन थापाले बताए । त्यसैले जापानको उच्चस्तरीय प्रविधिलाई नेपालमा अङ्गीकार गर्न शुरू गरेको उनको भनाइ छ । '२ वर्षपछि जापान नेपाली जुनारको राम्रो बजार हुनसक्छ, त्यसबारे कुरा भइरहेको छ,' थापाले भने । नेपालमा सिन्धुली र रामेछापमा मात्र करीब २५ सय हेक्टरमा जुनार खेती हुँदै आएको छ । यी जिल्लाबाट औसत वार्षिक १५ हजार मेट्रिक टन जुनार उत्पादन भइरहेको छ । जुनार खेतीमा आबद्ध हुने घरपरिवार सङ्ख्या भने करीब ४ हजार छ ।