सृजना सहकारीले बनायो स्वरोजगार
भदौ २६, सुर्खेत (अस)। सृजना सहकारीले बाँकेका ४ सयभन्दा बढी पशुपालक कृषकलाई व्यावसायिक रूपमा भैंसी र गाईपालनमा सहयोग गरेर स्वरोजगार बनाएको छ । सहकारी सञ्चालनमा आएपछि कोहलपुरका ४ सय कृषक पशुपालन व्यवसायबाट आत्मनिर्भर भएको र २० जना स्थानीय युवा सहकारीले सञ्चालन गरेको दूध डेरीमा काम गरिरहेका छन् ।
२०४९ सालमा सृजना बाख्रापालन समूहबाट शुरू भएको बाख्रापालन समूहले २०५३ सालमा जिल्लामै उत्कृष्ट भएपछि जिल्ला भेटेरिनरीबाट रू. ४० हजार पुरस्कार प्राप्त गरेको थियो । यसैबाट प्रोत्साहित भएर सृजनाले पशुपालनतर्फसदस्यहरूलाई आकर्षित गरेको सृजना सहकारीका अध्यक्ष दशरथ पराजुलीले बताए । सृजनाले सदस्य कृषकहरूलाई भैंसी पाल्न २ वर्षका लागि रू. ५० हजार ऋण प्रवाह गर्ने गरेको छ । कृषकले उत्पादन गरेको दूध, दही बाँकेका रजेना, चप्परगौडी, लौवस्ता, खडकबारालगायत सात स्थानमा दूध सङ्कलन शाखा र अन्य ६ स्थानमा दुग्ध पदार्थ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त पुरस्कारमा रू. २० हजार थप गरी २६ जनाले सहकारी दर्ता गरेको पराजुलीले जानकारी दिए । सहकारीले दूध, दही, पनीर, घ्यू, नौनी, क्रिमलगायत दुग्धजन्य उत्पादन सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ ।
सो सहकारीले प्रत्येक २ वर्षमा बढीमा डेढ सय भैंसीपालक र गाईपालक कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने गरेको छ । सहकारीले गत आव २०६७/६८ मा रू. ४ करोड ३३ लाखको कारोबार गरेको थियो । यसबाट रू. ५ लाख खुद नाफा गरेको पराजुलीले बताए । बाँकेमा नौओटा दुग्ध सहकारी सञ्चालनमा छन् । यहाँ दैनिक ५ हजार लिटर दूध खपत हुने गरेको छ । दैनिक १ हजार ५ सय लिटर दुग्ध पदार्थ उत्पादन र स्थानीयस्तरमा खपत गर्दै आएको यस सहकारीलाई पशु सेवा विभाग र सहकारी विभागले पश्चिम नेपालकै नमूना सहकारी घोषणा गरिसकेका छन् ।
गत आवमा (सीएलडीपी) पशु विकास आयोजनाबाट सहकारीले रू. ६ लाख प्रोत्साहन रकमसमेत प्राप्त गरेको थियो । कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गरी उत्पादित दूध स्थानीयस्तरमा सङ्कलन र खपत गर्ने काममा महत्त्वपूर्ण योगदान पुर्याएबापत सहकारी पश्चिम नेपालकै नमूना घोषणा गरिएको हो ।
सहकारीको वार्षिकोत्सवमा 'प्लाष्टिक मुक्त' अभियान
भदौ २६, काभ्रेपलाञ्चोक (अस)। बनेपा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिकोत्सवमा बनेपामा 'प्लाष्टिक मुक्त अभियान' शुरू गरेको छ । सो अवसरमा राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष विजयराज घिमिरेले यस्तो अभियानले आमनागरिकमा समग्र सहकारीप्रति विश्वास थपेको बताए । 'यसले समाजलाई प्रत्यक्ष प्रभाव पार्ने र वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,' उनले भने । सहकारीलेे कुनै क्षेत्रको विरोध नगरी आफ्नो योजना र लक्ष्य प्राप्तिमा इमान्दार ढङ्गबाट अगाडि बढिरहेको घिमिरेले बताए ।
कार्यक्रममा उक्त सहकारीकी उत्कृष्ट बचतकर्ता नगिना कोख श्रेष्ठ, उत्कृष्ट ऋणी श्रीकुमार कर्माचार्य र उत्कृष्ट लघुवित्त सदस्य सोनी प्रजापतिलाई उनले सम्मान गरे । सो सहकारीले आराध्यदेवी चण्डेश्वरी माई मन्दिरको जिर्णोद्धार तथा सुनको मोलम्बा लगाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएबापत चण्डेश्वरी छाना सुधार समितिका सदस्य रामगोपाल कायस्थ, बनेपा नगर क्षेत्रभित्रका विद्यालयमध्ये प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र सुरज श्रेष्ठ, कर्मचारी नविना श्रेष्ठ र पूर्वकर्मचारी यशोदा पोटेलाई पनि सम्मान गरेको थियो ।
उक्त सहकारीमा हाल १ हजार ३ सय ६२ सदस्य छन् । रू. ३ करोड ८२ लाख कुल निक्षेप भएको संस्थाको शेयर पूँजी रू. १ करोड ८४ लाख छ । संस्थाले यस वर्षमात्रै करीब रू. २५ करोड कारोबार गरी रू. ८ लाख ५२ हजार नाफा गरेको संस्थाका प्रबन्ध सञ्चालक जितेन्द्र नकर्मीले जानकारी दिए ।
'बनेपालाई प्लाष्टिकमुक्त बनाउने अभियानमा यहाँका अन्य सहकारी तथा सङ्घसंस्थासँग मिलेर काम गर्छौं,' बनेपा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमन पोटेले भने । समारोहमा स्थानीयबासीलाई प्लाष्टिकको सट्टा कपडाको झोला वितरण गरी अभियान शुरू गरिएको थियो ।
सहकारी माहुरीपालनबाट वार्षिक एक लाख
भदौ २६, पर्वत (अस)। सहकारी संस्थामार्फत २०५८ सालदेखि माहुरीपालन शुरू गरेपछि पर्वतको दक्षिण भेगका कृषक वार्षिक १ लाख आम्दानी गर्न थालेका छन् ।
चिसापानी माहुरीपालक सहकारी संस्थामार्फत व्यावसयिक रूपमा माहुरीपालनमा लागेका लिमीठाना, कुर्घा, लुङ्घु गाविसका कृषकले वार्षिक १ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
'सबैजसो सदस्यका घरमा माहुरीका घार भेटिन्छन्,' सहकारीका अध्यक्ष दानबहादुर केसीले भने, 'मेहनत गरे २० घार माहुरीबाट वार्षिक १ लाखभन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।' अहिले यहाँ उत्पादित महले करीब रू. ६ सय प्रतिकेजी बजार मूल्य पाएको उनले बताए ।सो सहकारीमा अहिले १ सय १५ सदस्य छन् ।
सदस्यहरूले वार्षिक रूपमा १० क्विण्टलसम्म मह विक्री गर्दै आएका छन् । उत्पादित मह घरबाटै विक्री हुने गरेको उनीहरू बताउँछन् । 'तर कहिलेकाहीँ भने सदरमुकाम कुस्मा बजारसम्म पनि पुर्याउने गरेका छौं,' सदस्य उमाकान्त शर्माले भने । माहुरीको महभन्दा घार विक्रीबाट बढी फाइदा हुने गरेको उनले बताए । उनीहरूले बढी मह दिने स्थानीय 'एपी सेरेना' जातको माहुरी पाल्दै आएका छन् ।
माहुरीसहितको घार विक्री गर्दा रू. २ हजार ५ सय आम्दानी हुने शर्माले जानकारी दिए । सहकारीलाई जिल्ला विकास समितिअन्तर्गतको स्थानीय विकास कोष, लघुउद्यम विकास कार्यक्रमलगायत संस्थाले तालीम दिन र बजार खोज्न सहयोग गर्दै आएको अध्यक्ष केसीले बताए ।
Admin 2011-09-13