शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारीले आर्थिक विकासमा उल्लेख्य योगदान गर्न सकेनन् : प्रम
पुस २६ काठमाडौं (अस)। प्रधानमन्त्री माधवकुमार नेपालले सहकारीले राज्यको आर्थिक विकासमा उल्लेख्य योगदान गर्न नसकेको बताएका छन् । राष्ट्रिय सहकारी सङ्घको १८ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सरकारले राज्य, नीजिक्षेत्र र सहकारीलाई तीनखम्बे अर्थनीतिका रूपमा आत्मासात् गरिसकेपछि सहकारी क्षेत्रले आफ्नो भूमिका बढाउनुपर्नेमा उनले जोड दिए । 'अहिले सहकारीले जीडीपीमा तीन प्रतिशतको मात्रै योगदान गरेको छ । अव यसको भूमिकालाई ३३ प्रतिशतमा पुर्‍याउनु आवश्यक छ,' उनले भने । सरकारले तीनवर्षको योजनामा सहकारीलाई महत्त्वपूर्ण आधारको रूपमा लिएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री नेपालले सहकारीको विकासका लगि राज्यले यसको नीति र संरचनामा के गर्नुपर्छ भन्ने बारेमा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरेको  बताए । सहकारीमा २ लाखभन्दा बढी पदाधिकारी  प्रत्यक्ष संलग्न भएको ५० हजारले प्रत्यक्ष  र पाँचलाखले अप्रत्यक्ष रोजगारी पाएको सन्दर्भ् उल्लेख गर्दै उनले पहिलो समयमा सहकारीमा विकृति भित्रिएको वताए  । उनले सहकारी क्षेत्रमा महिलाको सहभागिता ४२ प्रतिशत भएपनि वास्तविकतामा त्यसो हुन नसकको उल्लेख गर्दै सहकारी शिक्षण र तालीमको अभावमा सर्व्साधरणको लगानी जोखिममा पर्ने खतरा रहेको उल्लेख गरे । प्रधानमन्त्री नेपालले राष्ट्रसङ्घले सन् २०१२ लाई अन्तरराष्ट्रिय सहकारी दिवसको रूपमा मनाउने तयारी गरेकाले यसलाई सशक्त वनाउन  नेपालमा पनि धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रमा कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंहले सहकारीको विकासका लागि सरकारले तीनखम्बे अर्थनीतिमा समावेश गरेको वताए । सहकाकरीले राष्ट्र विकासको लागि आफ्नो भूमिकालाई बढाउँदै लैजानुपर्ने उनको तर्क थियो । सहकारीको वृद्धिसँगै विकृति बढेको उल्लेख गर्दै उनले सहकारीको निरीक्षण र नियमन हुन नसकेको बताए ।

कार्यक्रममा राष्ट्र बैङ्कका गभर्नर डा। युवराज खतिवडाले सहकारीको सिद्धान्तमा रहेर आर्थिक सुधार गर्नुपर्ने बताए । उनले सहकारीहरू समुदायको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए । सहकारीको संस्थागत विकासका लागि यसको ऐन नियम निर्देशन महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष केशव बडालले वार्षिक् प्रतिवेदन प्रस्तुत गर्दै जनतालाई सवल बनाएमा मात्र निजी क्षेत्र सवल हुने बताए । तीनखम्बे अर्थनीतिमा सहकारीलाई राख्नु महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले सहकारी विकासका लागि पशुबीमा तथा कृषिबीमा गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

विपन्नका छोराछोरीलाई छात्रवृत्ति

पुस २६, दाङ (घोराही) । महिला विकास कार्यालयद्वारा प्रवर्द्धित महिला बचत तथा ऋण सहकारी संस्थाका अतिविपन्न सदस्यका छोरीहरूलाई छात्रवृत्ति दिइने भएको छ । त्यसका लागि युएनएफपीएले महिला विकास कार्यालय, दाङलाई रू। २ लाख निकासा दिइसकेको महिला विकास अधिकृत प्रभा श्रेष्ठ वलीले बताइन् । घोराही नगरपालिकाका तीन, तुलसीपुर नगरपालिकाको एक र विभिन्न गाविसमा सञ्चालित ३२ गरी जिल्लाका ३६ महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध विपन्न सदस्यहरूमध्येबाट छनोट गरी छात्रवृत्ति वितरण गरिने बुझिएको छ । त्यस्तो छात्रवृत्ति सहकारी संस्थाहरूले आफै वितरण गर्ने र त्यसका लागि पहिले सञ्चालनमा आएका २० सहकारी संस्थालाई प्रतिसंस्था रू। ६ हजारका दरले रू। १ लाख २० हजार र अन्य महिला सहकारी संस्थालाई प्रतिसंस्था रू। ५ हजारका दरले रू। ८० हजार उपलब्ध गराइने पनि सो कार्यालयले जानकारी दिएको छ ।  छात्रवृत्तिका लागि छानिने छात्राहरूले जनही रू। १ हजार पाउने छन् ।

महिला विकास कार्यालयबाट प्रवर्द्धित महिला सहकारीहरू आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक क्षेत्रमा पनि सक्रिय छन् भन्ने अनुभूति दिलाउन कार्यक्रम ल्याइएको वलीको भनाइ छ ।

विराटनगरमा सहकारी कोसेलीघर

पुस २६, विराटनगर(अस) । पूर्व्का लघुउद्यमीहरूद्वारा उत्पादित सामग्रीको बजार प्रवर्द्धन र विक्री वितरणका लागि यहाँ 'विराट कोसेलीघर' स्थापना गरिएको छ । विराट कोसेलीघर सहकारी संस्थाले रू। २५ लाखको लगानीमा सो कोसेलीघर स्थापना गरेको कोसेलीघर सञ्चालन समितिका संयोजक सुरबहादुर श्रेष्ठले बताए । उनका अनुसार नेपाल घरेलु तथा साना उद्योग महासङ्घको विशेष पहलमा सो कोसेलीघर स्थापना गरिएको हो । कोसेलीघरमा काष्ठ, धातु, वेतबाँस, पत्थरजन्य हस्तनिर्मित सामग्री, घानी तथा कोलको तोरी तेल, मह, जैविक अर्ग्यानिक चिया तथा कफीलगायतका उत्पादन राखिएका छन् । त्यस्तै सौर्य ऊर्जाबाट सुकाइएका खाद्य सामग्री, हस्तनिर्मित ब्यागपर्स, अल्लोका कपडा, ढाका कपडा तथा विभिन्न जातजातिका पोशाक र गरगहनासमेत राखिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

४० जनाको लगानी रहेको कोसेलीघरले कम्तीमा एक हजार  घरेलु उद्यमीका उत्पादनलाई बजारीकरण गर्ने र ५ वर्षभित्र ३ सयलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको छ । कोसेलीघरमा राखिएका सामग्रीहरूमध्ये इलामको अर्ग्यानिक चिया, भोजपुरको खुकुरी, चैनपुरको करुवा, भोजपुर-दिङ्लाको रुद्राक्ष, झापाको बाँसका जराबाट बनेका हस्तकलाका सामग्री, बेम्बो क्राफ्त् र मेटल क्राफ्त्को राम्रो माग रहेको संयोजक श्रेष्ठ बताउँछन् । गुणस्तरीय कृषिजन्य सामग्री, प्राङ्गारिक मल र नयाँ प्रविधिका उत्पादनको प्रवर्द्धनमा कोसेलीघरले जोड दिने पनि बताइएको छ । सहकारीका माध्यमबाट उद्यमीहरूलाई तालीम दिएर व्यावसायिकतामा जोड दिने लक्ष्य राखिएको पनि श्रेष्ठले बताए ।

डिपार्टमेण्टल स्टोर सञ्चालन गर्दै असलि

पुस २६, काठमाडौं (अस)। अभिभावक सहकारी समाज लिमिटेड (असलि) ले आफ्ना शेयर सदस्यहरूलाई १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने भएको छ । सोमवार काठमाडौंमा सम्पन्न्ा समाजको १३ औं वार्शिक् साधारणसभाले उक्त निर्णय् गरेको हो । विसं। २०६७ असार मसान्तसम्ममा असलिको चुक्ता पूँजी रू। २ करोडभन्दा बढी पुगेको छ । अघिल्लो आवमा चुक्ता पूँजी रू। १ करोड ६८ हजार मात्र थियो । चालू आवमा यसलाई बढाएर रू। ५ करोड पुर्‍याउने लक्ष्य रहेको असलिका अध्यक्ष वीरेन्द्रमान श्रेष्ठले बताए ।

वार्षिक् साधारणसभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रका २७ व्यक्तिलाई सम्मान पनि गर्‍यो । सम्मानित हुनेहरूलाई असलि निवृत्तिभरण सम्मान, वरिष्ठ अभिभावक सम्मान, छात्रवृत्ति पुरस्कार र सर्वोत्कृष्ट असलि कारोबारी सम्मान प्रदान गरिएको थियो ।  

असलिले २०६७ असार मसान्तभित्र ८० वर्षपुगेका आफ्ना तीन सदस्यलाई 'असलि निवृत्तिभरण'अन्तर्गत सम्मान गरेको हो । उनीहरूलाई प्रतिव्यक्ति रू। १ हजार ५ सय ३० पनि प्रदान गरिएको थियो । यस्तै वरिष्ठ अभिभावक सम्मानअर्न्तर्गत २०६७ असार मसान्तसम्ममा ७० वर्षपुगेका आफ्ना नौ सदस्यलाई सम्मान गर्नुका साथै प्रतिव्यक्ति रू। ५ सय ५ नगद पनि प्रदान गरिएको थियो । यसैगरी छात्रवृत्ति पुरस्कारअन्तर्गत असलिले आफ्ना सदस्यहरूका २०६६ को प्रवेशिका परीक्षामा विशिष्ट श्रेणीमा उत्तिर्ण हुने १२ जना छोराछोरीलाई सम्मान गरेको छ । तीमध्ये उच्चतम अङ्क हासिल गर्ने छात्रातर्फ पूजा के।सी र छात्रतर्फ अनिल महर्जनलाई जनही रू। ४ हजार ४ सय ४ प्रदान गरियो भने विशिष्ट श्रेणीमा उत्तिर्ण हुने अन्य १० जनालाई प्रतिव्यक्ति रू। ५ सय ५५ प्रदान गरिएको थियो । असलिले सर्वोत्कृष्ट असलि कारोबारीअन्तर्गत संस्थाको शेयर पूँजी, निक्षेप र कर्जा कारोबारमा योगदान पुर्‍याउने मणिरत्न शाक्य र प्रभा श्रेष्ठ र असलि इन्भेष्टमेण्ट लिमिटेडलाई पनि सम्मान गर्‍यो । संस्थाले सदस्यहरूको मृत्यु भएमा क्रिया खर्चबापत रू। ३ हजार र परिवार सुरक्षणअर्न्तर्गत रू। १० हजार आर्थिक सहयोग पनि गर्दै आएको छ ।

संस्थाको स्थापना २०५४ सालमा २७ जना सदस्यको रू। २७ हजारबाट भएको थियो । २०६७ मङ्सिरसम्ममा असलिको सदस्य सङ्ख्या करीब १६ हजार पुगेको छ । संस्थाले २०६३ सालदेखि असलि पोलिक्लिनिक पनि सञ्चालन गर्दै आएको छ । कुल रू। १५ लाख लागतबाट शुरू भएको सो पोलिक्लिनिकमा लगानी भएको रकम अहिले करीब रू। ४० लाख पुगेको छ । पोलिक्लिनिकमा औसत दैनिक आठदश जना बिरामीको उपचार हुँदै आएको बताइएको छ ।

संस्थाले २०६५ सालमा काठमाडौंको नक्सालमा करीब ३ करोडको लागतमा भवन निर्माण गरेको छ । विगत एक वर्षदेखि असलिले आफ्नै भवनमा रू। १२ लाखको लागतमा डिपार्टमेण्टल स्टोर पनि सञ्चालन गर्दै आएको छ । स्टोरमा खाद्यान्न, भान्साका सामान, एक्वेरियमलगायतका वस्तु रहेका छन् । डिपार्टमेण्टल स्टोरले ग्राहकलाई अधिकतम १० प्रतिशत छूट दिने गरेका छ ।

असलि स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि अघि देखिन्छ । चालू आवमा असलिले नक्साल भगवती मन्दिर जीर्णोद्धारका लागि करीब रू। १ लाख ११ हजार सहयोग गरेको छ । यस्तै नक्साल युवा मण्डल, शाही उपचार केन्द्रलाई पनि आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।

वीरेन्द्रमान श्रेष्ठ अध्यक्ष रहेको सो संस्थाको उपाध्यक्षमा मछेन्द्रशम्शेर राणा, सचिवमा ध्रुवकुमार कार्की, कोषाध्यक्षमा मणिरत्न शाक्य र प्रबन्ध सञ्चालकमा शुक्रलाल श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरूमा जीतेन्द्रमान श्रेष्ठ, युवराज राजकणिर्कार, डा। सामर्थबहादुर सिंह, डमरूवल्लभ घिमिरे, राजेन्द्रमान डङ्गोल र चण्डिका सिंह छन् ।


वीरेन्द्रमान श्रेष्ठ

अध्यक्ष
अभिभावक सहकारी समाज लिमिटेड (असलि)

सहकारीमार्फत काम गर्ने सोच कसरी आयो?

मलाई सानैदेखि समाजसेवामा रूचि थियो । त्यसैले विद्यार्थी कालदेखि नै सामाजिक कार्यमा लागेका थिएँ । मैले करीब १५ वर्षविभिन्न बीमा कम्पनीको उच्च पदमा बसेर काम गरिसकेको छु । म र मजस्ता साथीहरूको अनुभवलाई उपयोग गर्ने उद्देश्यले २०५४ सालमा असलिको गठन भएको हो । राष्ट्रको आर्थिक विकासमा सहकारीको ठूलो महत्त्व छ । आर्थिक विकासका लागि निजी क्षेत्रको विकास अपरिहार्य छ । सहकारीको मुख्य उद्देश्य भनेकै निजी क्षेत्रलाई प्रोत्साहन गर्नु हो । त्यसैले सहकारी संस्था गठन गरी सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतितर्फ लागेको हुँ ।

सहकारीका समस्याहरू के-के हुन्?

सहकारी संस्थाहरू व्यवस्थित हुन नसक्नुको कारण नै व्यवस्थापन र सञ्चालक समितिको बीचमा स्पष्ट कार्य विभाजनको अभाव हो । सञ्चालक समितिको भूमिका हस्तक्षेपकारी हुँदा व्यवस्थापनले राम्रो काम गर्न सक्दैन । अहिले त्यही भएको छ । यी दुवै पक्षको भूमिकाका बारेमा स्पष्ट कार्यनीति बनाई अघि बढेमा यो समस्या समाधान गर्न सकिन्छ । नेपालमा सहकारीको प्रभावकारी अनुगमन हुन सकेको छैन । सहकारीको नाममा विकृति फैलिएको छ । सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ ।

असलिका सम्भावनाहरू बताइदिनुहोस् न ।

असलि बहुउद्देश्यीय सहकारी संस्था हो । त्यसैअनुरूप आफ्ना काममा विविधीकरण ल्याएको छ । भविष्यमा पनि विभिन्न क्षेत्रमा काम गर्ने असलिको योजना छ । असलिले सदस्यहरूको आयआर्जन बढाउन साना तथा मझौला उद्योग स्थापना गर्न लागेको छ । चालू आवमा त्यस्ता उद्योगहरूको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने कार्यक्रम छ । अचेल असलिको अवलोकन गर्न विभिन्न सहकारी संस्थाका साथीहरू आउने गरेका छन् । भविष्यमा नेपालमै उत्कृष्ट सहकारी बन्ने सम्भावना असलिले बोकेको छ । निकट भविष्यमा असलि सदस्यहरूको जिम्मेवार अभिभावक बन्ने छ ।