शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

'सहकारीका सङ्गठित सदस्यहरूलाई सचेत मात्र गरेका हौं'
असार २७, काठमाडौं (अस)। राष्ट्रिय सहकारी सङ्घलगायत चार जिल्ला सहकारी सङ्घले संयुक्त रूपमा आफ्ना सदस्य सङ्घसंस्थाहरूलाई हालै गरेको सार्वजनिक आह्वानले बैङ्किङ क्षेत्र समेतलाई तरङ्गित बनाएको छ । यी संस्थाले आफ्ना सदस्य सङ्घसंस्थालाई सहकारीकै शेयर सहभागितामा स्थापित राष्ट्रिय सहकारी बैङ्कसँग बैङ्किङ कारोबार गर्न आह्वान गरेका थिए । सहकारीको छाता सङ्गठनमार्फत आएको त्यस्तो आह्वानलाई निजीक्षेत्रका बैङ्क तथा वित्तीय संस्थाले अस्वाभाविक मानेका छन् । राष्ट्रिय सहकारी सङ्घसहित चारओटै जिल्ला सङ्घले आफ्नो त्यो आह्वान बैङ्किङ क्षेत्रलाई होच्याउने वा चुनौती दिनका निम्ति बिल्कुलै नभएको बताएका छन् । सहकारी सङ्घसंस्थाकै शेयर सहभागितामा स्थापित राष्ट्रिय सहकारी बैङ्कसँग कारोबार गर्न प्रेरित गर्ने उद्देश्यले मात्र उक्त आह्वान गरिएको उनीहरू बताउँछन् । यसै प्रसङ्गमा राष्ट्रिय सहकारी सङ्घलगायत चारओटै जिल्ला सङ्घ र नेपाल राष्ट्र बैङ्कको संक्षिप्त प्रतिक्रिया:

केशव बडाल
अध्यक्ष, राष्ट्रिय
सहकारी सङ्घ लि
राष्ट्रिय सहकारी बैङ्क विशुद्ध सहकारी संस्थाहरूसँग मात्र कारोबार गर्ने बैङ्क हो । यो बैङ्क राष्ट्रिय सहकारी सङ्घको छहारीमै स्थापित भएर हुर्केको हो । यस अर्थमा आफ्ना सदस्यको हितरक्षा गर्नु हाम्रो कर्तव्य हो । आज मुलुकमा सहकारी सङ्घसंस्थाको सङ्ख्या २२ हजार पुगिसकेको छ । सबै सङ्घसंस्थाको छाता सङ्गठन भएकाले राष्ट्रिय सहकारी सङ्घले सबैको हितरक्षा गर्नु र बोल्नुपर्छ । हाम्रा सदस्य सङ्घसंस्थालाई राष्ट्रिय सहकारी बैङ्कसँग कारोबार गर्न गरेको हाम्रो आह्वानप्रति बैङ्किङ क्षेत्रको तिखो प्रतिक्रियाले निश्चय पनि राष्ट्रिय सहकारी सङ्घको ध्यान आकृष्ट गरेको छ । सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप नै हामीले त्यस्तो आह्वान गरेका हौं । बैङ्किङ क्षेत्रलाई होच्याउन, आरोपित गर्न वा अपमानित गर्न हामीले त्यस्तो आह्वान पटक्कै गरेका होइनौं। आफ्ना सदस्यहरूको हितलाई ध्यानमा राखेर गरिएको त्यो आह्वानमा प्राविधिक ढङ्गले केही कमीकमजोरी र त्रुटी भएको हुनसक्छ । यदि त्यसबाट कसैलाई मर्का परेको छ वा त्यस ढङ्गबाट कसैले बुझेको छ भने म सम्बन्धित सबै पक्षलाई हाम्रो सकारात्मक सोचअनुरूप बुझिदिन अनुरोध गर्छु । सहकारी क्षेत्रले कहिल्यै पनि बैङ्किङ क्षेत्रको विरोध गरेको छैन र गर्दैन पनि । तर, यसको अर्थ निजीक्षेत्रले जे गरेपनि सहकारी क्षेत्र टुलुटुलु हेरेर बस्छ भन्ने पनि होइन । राष्ट्रिय सहकारी सङ्घ निजीक्षेत्रले पनि कार्टेलिङ नगरोस्, सिण्डिकेट प्रथा लागू नगरोस्, उपभोक्ता हितलाई पनि ध्यान देओस् र सहकारी क्षेत्रको विरोधमा नजाओस् भन्ने चाहन्छ । सामाजिक न्याय, उत्पादकत्व वृद्धि र लोकतान्त्रीकरण ढङ्गबाट निजीक्षेत्र अघि बढ्नुपर्छ भन्ने सहकारीको मान्यता छ । तीनखम्बे अर्थनीति अन्तरिम संविधानको मूल भावना र मर्म हो । यसलाई सबै राजनीतिक दल र निजीक्षेत्रले समेत स्वीकार गरेकै हो । तीनखम्बे अर्थनीति ३ वर्षको योजनाको महत्त्वपूर्ण अङ्ग पनि हो भन्ने कुरा हामीले बिसन मिल्दैन । त्यहीअनुसार नै सरकारको नीति तथा कार्यक्रममा पनि यो विषयले स्थान पाएको हो । यसलाई निजीक्षेत्रले अन्यथा लिनुपर्ने कुनै कारण छैन । सहकारी, निजीक्षेत्र र राज्य तीनओटै अङ्ग मिलेर यो मुलुकको विकास हुन्छ र गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले, सहकारी क्षेत्र निजीक्षेत्रको विरोधी होइन ।

तर, सहकारीलाई कमजोर ठान्ने, हेप्ने वा सहकारी केही पनि होइन भनेर अपमानित गर्दै बोल्ने, लेख्ने अधिकार कसैलाई पनि छैन । आज सहकारीमा ३० लाख नेपाली सदस्य भइसकेका छन् । आगामी ५ वर्षभित्र १ करोड सदस्य पुर्याउने हाम्रो लक्ष्य छ । सहकारी यो मुलुकको महत्त्वपूर्ण शक्ति बनिसकेको छ । यो शक्तिलाई जिस्काउने काम कतैबाट पनि नहोस् जनताको शक्ति पूँजीको आधारमा मापन हुँदैन । पूँजीको मात्रा अन्य क्षेत्रको धेरै हुन सक्छ । तर, सहकारी सिङ्गो देशमा छरिएर रहेको पूँजी, श्रम र शीप परिचालन गरेर यो देश विकासको गतिलाई अगाडि बढाउन चाहन्छ । हामी अगाडि बढ्नुको मतलब निजीक्षेत्रको विरोध गर्नुहुँदैन । निजीक्षेत्रले हाम्रो आह्वानलाई यही रूपले बुझनुपर्दछ भन्ने मेरो आग्रह छ ।

माधव दुलाल
अध्यक्ष
ललितपुर जिल्ला सहकारी सङ्घ
राष्ट्रिय सहकारी सङ्घले सूचना प्रकाशित गरेर राम्रो काम गरेको छ । सूचनामार्फत नेपालमा सहकारी सङ्घसंस्था तथा राष्ट्रिय सहकारी बैङ्कको वास्तविक अवस्था जानकारी गराइएको छ । यो निकै सकारात्मक काम हो । नेपालको तीनखम्बे अर्थनीतिमा सहकारी र निजीक्षेत्र दुवै परेका छन् । अहिले नेपालमा सहकारी सङ्घसंस्थाको अवस्था राम्रो छ । यसको अर्थ सहकारीले नै अर्थतन्त्र धानेको भन्ने होइन । प्रतिशतको आधारमा थोरै भए पनि मुलुकको आर्थिक विकासमा सहकारीको योगदान महत्त्वपूर्ण छ ।नेपालको आर्थिक विकासमा सहकारी र निजीक्षेत्र दुवैको समान महत्त्व रहेको छ ।

त्यसैले पनि सहकारीले निजीक्षेत्रलाई उपेक्षा गर्ने कुरै आउँदैन । अहिले बैङ्क तथा वित्तीय संस्थामा तरलता समस्या देखिए पनि सहकारीमा देखिएको छैन । यसले सहकारी सङ्घसंस्थाको वित्तीय अवस्था बलियो भएको सन्देश दिएको छ ।

शुभ अधिकारी
अध्यक्ष
जिल्ला सहकारी सङ्घ, काभ्रे
हामीले आफ्ना सदस्य सङ्घसंस्था मात्रका निम्ति गरेको आह्वानलाई बैङ्किङ क्षेत्रले आफ्नो अपमान वा चुनौतीका रूपमा लिनु दुर्भाग्य हो । यो सदस्यहरूलाई राष्ट्रिय सहकारी बैङ्कसँग कारोबार गर्न गरेको आग्रह मात्र हो । यसमा निजीक्षेत्रको विरोध र आक्षेप लगाउने हाम्रो नियत छँदै छैन । बैङ्किङ क्षेत्रले यो आह्वानलाई यही रूपमा लिनुपर्छ भन्ने हाम्रो अनुरोध छ ।

सहकारीको मापदण्डअनुसार हाम्रा सदस्य सङ्घसंस्थाहरूलाई आफ्नै बैङ्कमार्फत कारोबार गर्न आह्वान गर्न पाउने हाम्रो अधिकार हो । सहकारी सङ्घसंस्थाले मागेका बेलामा भुक्तानी नपाउने अवस्था देखेपछि हामीले सहकारी बैङ्कमै कारोबार गर्नुपछ भनेर आह्वान गरेको हौं । यसमा सबै प्रष्ट हुनु जरुरी छ । यसबाट निजीक्षेत्रका बैङ्क तथा वित्तीय संस्थाले अपमानित भएको ठान्नु जरुरी नै छैन । यो हाम्रो नितान्त सहकारी सदस्य परिवार भित्रको कुरा हो । हामीले निजीक्षेत्रलाई कमजोर ठानेका पनि छैनौंर सहकारीबाहिरका संस्था र व्यक्तिहरूलाई निजीक्षेत्रको बैङ्क तथा वित्तीय संस्थामा निक्षेप जम्मा नगर्न पनि भनेका होइनौं। त्यसैले हाम्रो यो आह्वानलाई अपव्याख्या गर्दै गलत ढङ्गले नबुझियोस् भन्ने अनुरोध गर्न चाहन्छु ।

गोविन्दप्रसाद शर्मा
उपाध्यक्ष
जिल्ला सहकारी सङ्घ, काठमाडौं
सरकारको नीति तथा कार्यक्रममा सहकारीलाई विशेष प्राथमिकता दिएको छ । जुन स्वाभाविक हो । तीनखम्बे अर्थनीतिको महत्त्वपूर्ण खम्बा स्वीकार गरेपछि प्राथमिकता नदिएर हुन्छ ? तर, नीति तथा कार्यक्रममा समेटेर मात्र हुँदैन सरकारले त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ । राष्ट्रिय सहकारी सङ्घले चालेको कदम पनि निकै उत्कृष्ट छ । किनकि सङ्घले विज्ञापन नगरेर सूचनामार्फत सदस्यलाई सुसूचित गर्न मात्र खोजेको हो । यसमा सङ्घको कुनै स्वार्थ देखिँदैन । त्यसैले सहकारीले बैङ्किङ क्षेत्रलाई उपेक्षा गर्न खोज्यो भन्नु गलत हो । सहकारी र निजीक्षेत्रको कार्यक्षेत्र नै फरक छ । यी  दुवै एक अर्काको परिपूरक हुन् र परिपूरक नै भएर रहनुपर्छ । सङ्घले सार्वजनिक गरेको विज्ञप्ति धेरै महत्त्वपूर्ण छ । विज्ञप्तिमा राष्ट्रिय सहकारी बैङ्कको प्रवर्द्धनमा जोड दिइएको छ । सहकारी क्षेत्रको पहिलो र एकमात्र बैङ्क भएकाले पनि सङ्घले त्यसको विकास तथा प्रवर्द्धनमा जोड दिनु स्वभाविक हो । सहकारी बैङ्कले सहकारी सङ्घसंस्थासँग मात्र कारोबार गर्दै आएको छ । त्यसैले पनि बैङ्कको वित्तीय अवस्था निकै राम्रो छ । सङ्घले सूचनामार्फत सदस्यहरूलाई बैङ्कको वास्तविक अवस्थाको जानकारी गराउन मात्र खोजेको हो । समयमै सही सूचना प्रदान गरेर सङ्घले आफ्ना सदस्यहरूलाई सचेत गराएको छ । अहिले सहकारीले विश्वव्यापी मान्यता पाइसकेको अवस्था छ । अन्य देशमा सहकारीले धेरै ठूला-ठूला काम गरिरहेका छन् । ती देशको तुलनामा नेपालमा सहकारी सङ्घसंस्थाको काम कारबाहीमा बन्देज लगाइएको छ । अहिलेको अवस्थामा सहकारीमा बन्देज लगाउन खोज्नु उचित होइन ।

खेमबहादुर पाठक
अध्यक्ष
नेपाल कृषि सहकारी
केन्द्रीय सङ्घ
राष्ट्रिय सहकारी सङ्घको यो कदम निकै सकारात्मक छ । सङ्घले सूचनामार्फत आफ्ना सदस्यहरूलाई सहकारी संस्थामै बचत गर्न आह्वानमात्र गरेको हो । किनकि सहकारी सदस्यद्वारा नै सञ्चालन हुने भएकाले ती सदस्यका निम्ति अन्य बैङ्क तथा वित्तीय संस्थाका तुलनामा सहकारीमा विश्वसनियता बढी हुन्छ । सहकारीले संस्थामा आबद्ध सदस्यहरूको स-सानो रकम सङ्कलन गरेर पूँजी निर्माण गर्दै आएको छ । सदस्यबाट सङ्कलित रकम सदस्यहरूमै लगानी गर्ने र सोबापत प्राप्त मुनाफा पनि सदस्यहरूकै हितमा खर्च गर्ने भएकाले सहकारी सङ्घसंस्थाप्रति सदस्यको विश्वास बढ्नु स्वाभाविक हो । हुन त नेपालमा सहकारीको वृद्धिसँगै विकृति पनि देखिएको छ । तर, विकृति हटाउने काम नियामक निकायको पनि हो । सञ्चालन हुन स्वीकृति प्रदान गरेपछि नियमन पनि गर्नुपर्छ । कुनै सङ्घसंस्था  सहकारी ऐन विपरीत सञ्चालन भएका छन् भने कारबाही गर्न सक्नुपर्छ । अहिले सहकारी सङ्घसंस्था पनि सचेत हुने समय आएको छ । अरूको नराम्रो देखाएर आफू राम्रो बन्नुभन्दा आफूले राम्रो काम गरेर उत्कृष्ट बन्न सक्नुपर्छ । राम्रो नराम्रोको मूल्याङ्कन गर्ने त नियामक निकाय वा समाजले हो । स्वयम् उत्कृष्ट देखाउन खोज्नु बुद्धिमतापूर्ण हुँदैन ।

सुदर्शन ढकाल
रजिष्ट्रार
सहकारी विभाग
सहकारी र निजीक्षेत्रमा त्यत्ति धेरै फरक छैन । निजीक्षेत्र नाफामूलक हुन्छ  । तर, सहकारी भने समुदायको हितका निम्ति व्यवसाय गर्छ । निजीक्षेत्र पूँजी प्रधान हुन्छ भने सहकारी क्षेत्र सदस्य प्रधान हुन्छ । यी दुईका भिन्नता भनेका व्यावसायिक शैलीमा मात्र हो । राज्य, सहकारी र निजीक्षेत्र तीनओटैले आर्थिक क्षेत्रका आ-आफ्नो भूमिका निर्वाह गर्दा स्वस्थ प्रतिस्पर्धा हुन्छ । तर, उद्योग वाणिज्य महासङ्घले तीनखम्बे अर्थनीति भन्नुभएन भनेर प्रधानमन्त्रीलाई विज्ञप्ति दिएको छ । यो वास्तवमै अलि बढी भयो । यसले सहकारी क्षेत्रप्रति अपमान भएको सहकारीकर्मीहरूको गुनासो छ । राष्ट्रिय सहकारी बैङ्क सहकारी क्षेत्रको साझा संस्था हो । राष्ट्रिय सहकारी सङ्घको छाताभित्र यो बैङ्क रहेको छ । त्यसले गर्दा पनि राष्ट्रिय सहकारी सङ्घलगायत जिल्ला सङ्घहरूले बैङ्कको हित सोच्नु स्वाभाविक हो । यसैलाई दृष्टिगत गरी सहकारी सङ्घसंस्थालाई सहकारी बैङ्कमा कारोबार गर्न आह्वान गर्न पाउने अधिकार सहकारी मापदण्डले दिएको छ । तर, आह्वानमा भएको भाषागत त्रुटीले निजीक्षेत्रका बैङ्कलाई केही असजिलो परेको हुनुपर्छ । त्यस्तो कुरा सच्याउन पनि मिल्छ । तर, यसरी आरोप प्रत्यारोपमा उत्रनु निश्चयै पनि राम्रो होइन । निजीक्षेत्र र सहकारीका आ-आफ्नै मोडेल छन् । दुवै क्षेत्रले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ,  जसले राम्रो गर्दै जान्छ । जनताले त्यसैलाई राम्रो मान्ने र पत्याउने हो । यसमा कसैले पनि अन्यथा लिइरहनु आवश्यक छैन ।

वैकुण्ठ मिश्र
अध्यक्ष
जिल्ला सहकारी सङ्घ, नुवाकोट
हामीले आफ्ना सदस्य सङ्घसंस्थालाई आफ्नै बैङ्कमा कारोबार गर्न गरेको आह्वानलाई बैङ्किङ क्षेत्रले चुनौतीको रूपमा लिन मिल्दै नमिल्ने कुरा हो । सहकारी बैङ्क सदस्य सेवा र सहभागितामा आधारित रहेको हुँदा प्रारम्भिक तहदेखि राष्ट्रिय तहसम्म अन्तरसहकारी कारोबार गर्नका निम्ति हामीले सार्वजनिक आह्वान गरेका हौं । यो आह्वान बैङ्किङ क्षेत्रको विरुद्धमा पनि होइन र चुनौती पनि होइन । सहकारी निजीक्षेत्रले गरेकोजस्तै एक्लै गर्न नसक्ने नागरिकहरूको सङ्गठन हो । यो निजीक्षेत्रभित्रकै कमजोर आर्थिक अवस्था भएकाहरूको सामूहिक सङ्गठन हो । सहकारी पद्धति कसैको विरुद्धमा पनि लाग्दैन । तर, कसैले सहकारीको विरुद्धमा कार्य गर्यो भने सहकारीकर्मी चुप लागेर पनि बस्नुहँुदैन । हामीले आफ्ना सदस्य सङ्घसंस्थाहरुलाई सचेत बनाउनका निम्ति यो आह्वान गरेका हौं । बैङ्किङ क्षेत्रले यसलाई यही रूपमा बुझ्नुपर्छ ।

भाष्करमणि ज्ञवाली
प्रवक्ता
नेपाल राष्ट्र बैङ्क
सहकारी सङ्घको छातासङ्गठनबाट जुन किसिमको सार्वजनिक आह्वान आयो त्यसले कानूनी र नैतिक मान्यताको सीमा उलङ्घन गरेको देखिन्छ । कानूनी दायराभित्र रहेर आफूले आफ्नो हित रक्षाका लागि काम गर्ने अधिकार सबैलाई थाहा छ । तर, गैरकानूनी रूपले अरूलाई गाली गरेर, होच्याएर सार्वजनिक आह्वान गर्नु अशोभनीय र गैरकानूनी कुरा हो ।

हामीबाट कुनै पनि इजाजत नलिएका सङ्घसंस्थालाई त के भन्न सक्छौं र ? तर, हामीबाट इजाजत लिएर सञ्चालित सङ्घसंस्थाहरूलाई हामी त्यस्तो गैरकानूनी र नैतिक मूल्य मान्यता विपरीत जान दिन सक्दैनौं । त्यस्ता अभिव्यक्ति भूलवश नै भएको हो भने पुन: विज्ञप्ति निकाल्नुपर्छ, जसलाई त्यसले चोट पुगेको छ, तिनीहरूप्रति दु:ख व्यक्त गर्नुपर्दछ । फेरि यस्ता कुराबाट लाभ पुग्ने सङ्घसंस्था वा व्यक्ति पनि सचेत हुनुपर्छ ।

Admin