शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विन्धवासिनीलाई 'क्यूमी परफर्मेन्स अवार्ड'
अभियान संवाददाता
कात्तिक २९, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको विन्धवासिनी बचत सहकारी संस्थाले 'क्यूमी (क्रेडिट युनियन माइक्रोफाइनान्स युनिभेशन) परर्फमेन्स अवार्ड २०१०' प्राप्त गरेको छ । नेपालमा यो पुरस्कार पाउने विन्धवासिनी सहकारी पहिलो संस्था हो । लघुवित्त कार्यक्रममार्फत नेपालमा ५ हजारभन्दा बढी गरीब घरपरिवारलाई वित्तीय सेवा पुर्‍याएबापत एशियाली ऋण महासङ्घ (एसीसीयू) ले यो पुरस्कार प्रदान गरेको सो संस्थाका अध्यक्ष भरतप्रसाद शर्माले जानकारी दिए ।

संस्थाले पिछडिएको वर्ग, जनजाति, विपन्न समुदाय र महिला वर्गलाई लक्षित गरी उनीहरूको आर्थिक र सामाजिक रूपान्तरणका लागि लघुवित्त (महिला विकास) कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा हालसम्म २ सय ३० समूहका ४ हजार ८ सय ३३ महिला सदस्य सहभागी भइसकेका छन् । संस्थाले विनाधितो लगानी गरेको कुल ऋण रकम रू. १८ करोड ७९ लाख ४४ हजारमध्ये रू. १५ करोड २ लाख ७७ हजार असुली भइसकेको बताइएको छ । विन्धवासिनी सहकारी २०५० सालमा ५५ जना संस्थापक सदस्यसहित १ सय २२ जना सदस्यबाट स्थापित भएको हो ।

हाल यसका सदस्य सङ्ख्या ११ हजार २ सय ८ पुगेको छ । रू. १२ हजार २ सय निक्षेपबाट शुरू गरिएको सहकारीमा अहिले रू. २७ करोड ७३ लाखभन्दा बढी निक्षेप सङ्कलन भइसकेको छ । हाल सहकारीको कुल पूँजी तथा दायित्व रू. ३३ करोड ५७ लाख पुगेको अध्यक्ष शर्माले बताए । संस्थाले आगामी तीन वर्षा २० हजार १ सय सदस्य र रू. १ अर्ब कुल पूँजी पुर्‍याउने लक्ष्य लिएको छ ।
 
यो संस्था २०५१ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.(नेफ्स्कुन) मा, २०५४ मा काभ्रे जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा, २०६० मा राष्ट्रिय सहकारी बैङ्क लि.मा, २०६४ मा जिल्ला सहकारी सङ्घ काभ्रेमा र २०६७ मा एशियाली ऋण महासङ्घमा आबद्ध भएको छ ।

संस्थाले अनिवार्य मासिक बचत, शैक्षिक बाल बचत, दैनिक बचत, पर्व बचत, सदस्य हितकोष बचत, लघुवित्त बचत, समूहगत बचत, साधारण बचत, मुद्दति बचत, विशेष बचत, सञ्चयकोष तथा औषधि उपचार बचत, विन्धवासिनी बचत र संस्थागत बचत गरी १३ प्रकारका बचत योजना सञ्चालन गरेको छ ।

संस्थाले विभिन्न किसिमका राहत कार्यक्रम पनि सञ्चालन गरेको छ । यी कार्यक्रममध्ये स्वास्थ्योपचार राहत अन्तर्गत संस्थाले आफ्ना शेयर सदस्यहरूलाई बिरामी भई अस्पतालमा उपचार गराएको अवस्थामा रू. १० हजार दुई पटकसम्म र पारिवारिक राहत अन्तर्गत परिवारका सदस्यको मृत्यु भएमा रू. ५ हजार तीन पटकसम्म प्रदान गर्ने व्यवस्था छ । यसैगरी आकस्मिक आपत्विपत् राहत अन्तर्गत प्राकृतिक प्रकोपको कारणबाट सदस्यको सम्पत्तिको हानिनोक्सानी भएमा रू. ५ हजार, सदस्यको मृत्यु राहतअन्तर्गत संस्थाका सदस्यको मृत्यु भएमा रू. २० हजार र नवजात शिशु तथा सुत्केरी राहतअन्तर्गत रू. ३ सय दुइ पटकसम्म उपलब्ध गराउने व्यवस्था छ ।

संस्थाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको साझेदारीमा लघु जीवनबीमा कार्यक्रम पनि सञ्चालन गरेको छ । सदस्यले रू. ७० देखि २ सय ८० सम्म वाषिर्क बीमा शुल्क तिरी लघु जीवनबीमा कार्यक्रममा सहभागी हुने व्यवस्था छ । बीमित सदस्यको मृत्यु भएमा संस्थाले रू. ४६ हजारदेखि ९२ हजारसम्म बीमाबापतको रकम उपलब्ध गराउँदै आएको छ । संस्थाले सहकारी शिक्षा तथा व्यवस्थापन तालीम, आयमूलक र स्वास्थ्यसम्बन्धी चेतनामूलकलगायतका तालीम पनि सञ्चालन गर्ने गरेको छ ।

सहकारीको क्षेत्रमा उत्कृष्ट काम गरेबापत संस्थाले मिक्समार्केटबाट पाँच तारा चिन्ह प्राप्त गरेको छ । नेफ्स्कूनबाट सर्वोत्कृष्ट सहकारी संस्था घोषित भएको छ भने ५३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी सङ्घबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०६६ प्रदान गर्ने घोषणा भएको बताइएको छ । हाल संस्थाको एक मुख्य कार्यालय, एक क्षेत्रीय अन्तरसमिति कार्यालय र चार शाखा कायार्ल य गरी काभप्रे लाञ्चाके जिल्लामा मात्र ६ वटा कार्यालय सञ्चालित छन् ।

भरतप्रसाद शर्मा
अध्यक्ष
विन्धवासिनी बचत सहकारी संस्था

संस्थाका भावी लक्ष्यहरू के के छन् ?
संस्थाले दीर्घकालीन रूपमा समुदायमा आधारित सर्वोत्कृष्ट र दिगो वित्तीय सहकारी संस्था बनाउने लक्ष्य लिएको छ । संस्थाले त्रिवर्षीय  योजना (२०६७ देखि २०७०) लागू गरेको छ । योजनामा संस्थाको उद्देश्यअनुरूप कार्यक्रमहरू समेटिएका छन् । अन्तरराष्ट्रिय सहकारी
सिद्धान्त तथा मापदण्डका आधारमा संस्थाबाट सदस्यलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्नका लागि संस्था निरन्तर लागेको छ ।

संस्थाका चुनौतीहरू चैं के के छन् ?
आजभोलि सहकारीको नाममा विकृति फैलिएको छ । यसले समग्र सहकारी जगत्लाई असर पारेको छ । त्यस्ता सहकारीहरूको मारमा राम्रो काम गर्ने संस्थाहरू पनि परेका छन् । त्यस्ता सहकारीहरूको माझमा विन्धवासिनी सहकारीलाई उत्कृष्ट देखाउनुपर्ने चुनौती छ ।

सम्भावनाहरूका बारेमा केही बताइदिनुस् न ?
विन्धवासिनी सहकारीका धेरै सम्भावना रहेका छन् । यो संस्था छोटो समयमा नै काभ्रेपलाञ्चोक जिल्लामा मा वित्तीय क्षेत्रमा उत्कृष्ट सेवासुविधा प्रदान गर्न सफल भएको छ । संस्थाले भविष्यमा अन्तरराष्ट्रिय स्तरमै उत्कृष्ट हुने सम्भावना बोकेको छ ।

जनहित सहकारी इलामकै नमूना
अभियान संवाददाता
कात्तिक २९, काठमाडौँ । इलाम जिल्लाको पञ्चकन्या गाविस ४ मा सञ्चालित जनहित कृषि सहकारी संस्था जिल्लाकै नमूना सहकारीका रूपमा देखिएको छ । २०६४ सालमा ६६ जना सदस्यले रू. १/१ सय शेयर राखेर रू. ६ हजार ६ सयबाट शुरू गरिएको उक्त संस्थाले अहिले वार्षिक २२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको व्यवस्थापक ठाकुर खतिवडाले बताए । इमानदार र लगनशील भएमा थोरै पूजीबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण जनहित सहकारी भएको खतिवडाको ठम्याइ छ । जनहित सहकारीले इलाम गएर फर्कनेहरूका लागि इलामको कोसेलीका रूपमा दुग्धजन्य पदार्थ उत्पादन गरी विक्री गर्दै आएको छ । सहकारीले उत्पादन गरेको दुग्धजन्य पदार्थहरूमा खुवाको बम्वेशन, ललिपप, पेडा, पुष्टकारी र पनीर आदि रहेको खतिवडाले बताए । पञ्चकन्याकै भवानी दुग्ध उत्पादन सहकारी संस्थाबाट दैनिक २ सय लीटर दूध खरीद गरेर दुग्धजन्य पदार्थ बनाउने गरिएको छ । पनीरबाहेक अन्य मिठाइहरू धेरैजसो इलाम घुम्न आउनेले कोसेलीका रूपमा लैजाने गरेकोले पनि यो व्यवसाय फष्टाउँदै गएको खतिवडाको धारणा छ ।

फिक्कलबजारबाट ४ किलोमीटर उत्तरमा अवस्थित पञ्चकन्यामा स्थापित जनहित सहकारी इलामकै पहिलो दुग्धजन्य पदार्थ उत्पादन गर्ने सहकारी भएको संस्थाको दाबी छ । 'इलाममा सहकारीमार्फत मिठाइजन्य पदार्थ उत्पादन गर्ने हामी पहिलो सहकारी हौं,’ व्यवस्थापक खतिवडाले अभियानलाई बताए । अत्यन्तै थोरै पूँजीबाट शुरू गरेर ठूलो कारोबार गर्न सफल हुनुमा सहकारीका सदस्यहरू र कर्मचारीहरूको लगनशीलता ईमानदारीलाई श्रेय दिन्छन्, खतिवडा । अहिले सहकारीमा १९ जनाले प्रत्यक्ष रोजगारी पाइराखेको बताउँदै खतिवडाले भने, 'नाफा भने असाध्यै कम राखेका छौं ।’ नाफा कम राखेर मिठाइ विक्री गरेकाले पनि यसको व्यापार बढेको उनले बताए । नाफा कम भए पनि १९ जनाले प्रत्यक्ष रोजगारी पाउनु नै हाम्रानिम्ति सबैभन्दा ठूलो कुरा हो’ खतिवडाको भनाइ छ ।