शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारीमार्फत दैनिक ३० लाख रेमिटयान्स
विनय बञ्जारा
जेठ ३०, नुवाकोट । नुवाकोटका सहकारी संस्थामार्फत दैनिक रू. ३० लाख रेमिटयान्स जिल्लामा भित्रने गरेको छ । सहकारीहरूले विभिन्न रेमिटका एजेण्टका रूपमा मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएका छन् । यसबाट जिल्लामा रेमिटयान्स आप्रवाह निरन्तर वृद्धि भएको जिल्ला सहकारी सङ्घका कार्यकारी अध्यक्ष वैकुण्ठ मिश्रले बताए ।

चालू आर्थिक वर्षको ११ महीनामा सङ्गम मनी ट्रान्सफरले रू. १६ करोड ९४ लाख ५ सय रेमिटयान्स भुक्तानी गरेको जानकारी दिएको छ । जेठ महीनामा मात्र रू.२ करोड ९ लाख ३३ हजार भुक्तानी दिएको सङ्गम सहकारीका प्रबन्ध निर्देशक दिनेशकुमार श्रेष्ठले अभियानलाई बताए । पञ्चकन्या मनी ट्रान्सफरले मासिक रू. ४ करोड रेमिटयान्स भुक्तानी गर्दै आएको पञ्चकन्या सहकारीका निर्देशक रमेश श्रेष्ठले बताए । गोसाइकुण्ड मनी ट्रान्सफरमार्फत मासिक रू. डेढ करोड र सुलक्षणमार्फत मासिक रू. १ करोडभन्दा बढी रेमिटयान्स जिल्ला भित्रने गरेको छ । हिमाल रेमिटले मासिक रू. २ करोड, आईर्एमईले रू. २ करोड र वेष्र्टन युनियनले रू. डेढ करोड मासिक भुक्तानी दिने गरेको बताएका छन् ।

पछिल्लो समय गाउँगाउँमा खुलेका सहकारीले समेत रेमिटयान्सको कारोबार शुरू गरेका छन् । आफ्नै गाउँमा रेमिटयान्स भुक्तानी लिन पाउने भएपछि दुर्गम क्षेत्रका सर्वसाधारण हषिर्त भएका छन् । काउलेको सिङ्गला बहुउद्देश्यीय सहकारी संस्थाले कार्तिकदेखि ग्रामीण भेगमा रेमिटयान्स कारोबार शुरू गरेको सञ्चालक मेघबहादुर तामाङले बताए ।

जिल्लामा पञ्चकन्या बचत तथा ऋण सहकारी, सङ्गम सहकारी, गोसाइकुण्ड सहकारी, बट्टार सहकारी, सुलक्षणा सहकारीलगायत एक दर्जन सहकारी संस्थामार्फत रेमिटयान्सको कारोबार हुँदै आएको छ । यी सहकारीले हिमाल रेमिट, नबिल रेमिट, पृथ्वी एक्सप्रेस, वेष्र्टन युनियन मनी ट्रान्सफर, आईर्एमई, मनीग्राम, सिध्दार्थ रेमिट, सेवा रेमिट, सम्सरा रेमिट, कुमारी रेमिट, मनकामना रेमिट, मेरो रेमिट, बैङ्क अफ काठमाण्डू रेमिटलगायत डेढ दर्जन रेमिटको एजेण्टका रूपमा सेवा प्रदान गरिरहेका छन् ।

सहकारीमार्फत कारोबार शुरू भएपछि रेमिटयान्स भुक्तानी लिन काठमाडौंमै पुग्नुपर्ने सर्वसाधारणको समस्या समाधान भएको छ । सहकारीले रेमिटयान्स कारोबार शुरू गरेपछि विदेशबाट आफन्तले पठाएको रकम आफ्नै घरगाउँमा लिन पाएकोमा काउलेका विवराम तामाङले खुशी व्यक्त गरे ।

सहकारीमा राउटे समुदायको प्रवेश
यज्ञ बञ्जाडे
जेठ ३०, काठमाडौं । लोपोन्मुख जातिका रूपमा सूचीकृत राउटे समुदाय पनि सहकारी संस्थामा आबद्ध भएको छ । करीब एक महीनाअघि डँडेलधुराको सिस गाविस स्थित 'सिस साना किसान कृषि सहकारी संस्था'मा स्थानीय ३४ घरपरिवारका महिला र पुरूष दुइ/दुईगरी ६८ जना राउटे आबद्ध भएको नेपाल कृषि केन्द्रीय सहकारी सङ्घका अध्यक्ष खेमबहादुर पाठकले अभियानलाई जानकारी दिए । 'करीब १ वर्षअघिदेखि यो समुदायलाई सहकारीमा आबद्ध गराउने उद्देश्यले विभिन्न प्रशिक्षण शुरू गरेका थियौं, अहिले आएर मात्र सफल भयौं,' उनले भने । ढिलै भए पनि राउटे समुदायलाई संस्थामा आबद्ध गराइएको विषयलाई पाठकले सहकारीको महत्त्वपूर्ण सफलताका रूपमा लिएका छन् ।

संस्थामा आबद्ध भएपछि राउटे समुदायमा बचत गर्ने बानीको विकास भएको संस्थाका अध्यक्ष पदमसिंह धामीले बताए । सहकारीका माध्यमबाट राउटे समुदायमा बचतको सदुपयोग गर्न र समाजमा घुलमिल हुन धेरै सजिलो भएको उनको भनाइ थियो । हाल संस्थामा सो समुदायको शेयर पूँजी रू. १३ हजार ६ सय, व्यक्तिगत बचत रू. १ लाख ८ हजार र बाल बचत रू. ७० हजार गरी करीब रू. २ लाख जम्मा भएको संस्थाले जानकारी दिएको छ । विगत १/२ वर्षदेखि यो समुदाय  खेतीपातीमा आबद्ध भई सामाजिक रूपान्तरणमा लागेकाले संस्थामा आबद्ध गराउन सकिएको धामीले बताए । 'संस्थाका हरेक गतिविधिमा सो समुदायको चासो र सहभागिता बढेको छ,' उनले भने, 'संस्थामा आबद्ध भएपछि सो समुदायले कृषि तथा पशुपालन व्यवसायका लागि कर्जा माग गर्दै आएका छन् ।’ काष्ठ उद्योग, बाख्रा पालन, कुखुरा पालन र गाई पालनलगायत व्यवसायमा राउटेहरूको रुचि रहेको पनि संस्थाले बताएको छ ।

संस्थामा आबद्ध भएपछि आफ्नो समुदायले विभिन्न प्रकारका आर्थिक तथा सामाजिक सहयोग प्राप्त गरेको गङ्गा राउटेले बताइन् । संस्थाका सदस्यहरूले आफूहरूलाई निकै राम्रो व्यवहार गर्दै आएको पनि उनको भनाइ थियो । आफ्नो समुदायमा शिक्षा आवश्यक भएकाले सहकारीमार्फत विद्यालयको सुधार गर्न आग्रह गर्ने पनि उनले बताइन् । सरकारले लोपोन्मुख जातिको संरक्षणका लागि दिँदै आएको अनुदान रकम विगत २ वर्षदेखि सोही सहकारीले वितरण गर्दै आएको छ ।

मौरीपालन केन्द्रीय सहकारीको साधारणसभा
जेठ ३०, काठमाडौं (अस) । नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिले आफ्नो तेस्रो वार्षिकसाधारणसभा  सम्पन्न गरेको छ । साधारणसभाले सङ्घका वर्तमान अध्यक्ष गणेशबहादुर बस्नेतकै अध्यक्षतामा आगामी ३ वर्षका लागि ९ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको छ । नवनिर्वाचित  सञ्चालक समितिको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल तथा सञ्चालक सदस्यहरूमा खेम घिमिरे, राजकुमार कुँवर, ओमनारायण चौधरी, शम्भु थापा, मोहनराज खनाल, देवी दहाल र जानुका थापा निर्वाचित भएका छन् । यस्तै, लेखा समिति संयोजकमा अम्बरबहादुर तारामे र सदस्यहरूमा महेन्द्र सुनुवार र गोमा दहाललाई चयन गरीएको छ । सङ्घको विनियममा सचिव तथा कोषाध्यक्ष पदको व्यावस्था गरिएको छैन ।

साधारणसभाको अवसरमा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले महको बजारीकरणमा सङ्घको भूमिकाको सराहना गरे । महको उत्पादन बर्ढाई किसानलाई स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा बडालले  सङ्घलाई धन्यवाद दिँदै राष्ट्रिय सहकारी सङ्घ यसलाई स्थापित गराउन कटिबद्ध रहेको बताए ।  जिल्ला सहकारी सङ्घ काठमाडौंका अध्यक्ष केबी उप्रेतीले सहकारीबाट उत्पादित मह शुद्ध भएको सन्देश बजारमा गएको उल्लेख गरे । उनले भने, 'महको गुणस्तरमा अझै ध्यान दिन सके उत्पादन वृद्धि भई अन्तरराष्ट्रिय स्तरमा यसको विस्तार गर्न सकिन्छ ।’

सभामा सङ्घका नव-निर्वाचित अध्यक्ष गणेशबहादुर बस्नेतले मह उत्पादक किसानको व्यावसायिक पहिचान गराउन र उत्पादन वृद्धि गर्न मौरी सहकारी स्थापनामा लागि पर्ने बताए । कार्यक्रममा सङ्घले चालू आर्थिक वर्ष२०६६/६७ को प्रगतिविवरण सार्वजनिक गरेको थियो । चितवनको भरतपुरमा १४ लाख रुपैयाँको लागतमा सङ्घको आफ्नै भवन निर्माण भइरहेको बस्नेतले बताए । यस्तै २०६४ सालमा स्थापना भएको सङ्घले तीन वर्षको अवधिमा चितवनमै १६ लाख रुपैयाँमा ११ आना जग्गासमेत खरीद गरेको छ ।  चितवनको भरतपुरमा सङ्घको केन्द्रीय कार्यालय रहेको छ । यसको चितवन जिल्लामा एउटा शाखासमेत छ । हालसम्म देशभरका ५१ मौरी पालक सहकारी संस्था  केन्द्रीय सङ्घमा आबद्ध रहेको साधारणसभामा जानकारी दिइएको थियो ।

सहकारी सिँचाइ योजना
जेठ ३०, सिन्धुली (अस) । सिन्धुलीका विभिन्न स्थानमा सञ्चालित तीनओटा साना सिँचाइ योजना सम्पन्न भएका छन् ।

हालसम्म वरपीपल उपभोक्ता सहकारी संस्था लिमिटेड तामाजोर-९, डाँफे अन्नबाली मिश्रति कृषक समूह लदाभिर-९ र सिद्धबाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामा ई-६ द्वारा निर्मित सिँचाइ योजना सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

जापान सरकारको आर्थिक सहयोगमा साना सिँचाइ विशेष कार्यक्रम र सहकारीमा आधारित सिँचाइ योजनाअन्तर्गत जिल्लामा ५३ ओटा सिँचाइ आयोजना सञ्चालनमा रहेको  कार्यालयका  प्राविधिक सहायक नधुनी यादवले बताए ।

12Next »Last »