जनताले आफ्नो देशबाहिर गएर कमाएको पैसाले धानिएका 'विप्रेषण संयन्त्र’ संसारमा धेरै वटा छन् । अझ छिमेकी देशको अर्थतन्त्र ठूलो छ भने त्यसको उल्लेख्य लाभ लिने मेक्सिकोजस्ता मुलुकहरू पनि छन् । नेपाल र भारतको आर्थिक-सामाजिक सम्बन्धमा पनि नेपालले त्यस्तो लाभ पाउनुपर्ने हो । तर, दुर्भाग्यवश जति लामो नेपाल र भारतबीचको सम्बन्ध छ, उति नै लामो इतिहास नेपाली कामदारहरू सीमामा लुटिनुको पनि छ । यसको मूल जरो भारतबाट नेपालतर्फ आउने विप्रेषणका लागि संयन्त्र स्थापना नहुनुमा छ ।
जोडिएको मुलुक भएका कारण नै आर्थिक अभाव भएका नेपालीहरू मजदूरी गर्न भारततर्फ जान बढी रुचाउँछन् । यसमा पश्चिम नेपालका मजदूर अधिक रहेका छन् । भारतका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका शहरमा नेपालीहरू मजदूरी गर्दै आएका छन् । कमभन्दा कम ज्यालामा काम गर्न बाध्य यी मजदूरहरू नै बढी मात्रामा सीमा नाकामा लुटिँदै आएका छन् । पछिल्लो पटक भारतको गौरिफण्टा नाकाबाट स्वदशे फर्किँदै गरेका नेपालीहरू भारतीय प्रहरीबाटै लुटिएका छन् । उनीहरू भारतका विभिन्न शहरमा मजदूरी गरेर दशैँ मनाउन घर फर्किरहेका थिए ।
सीमामा बस्ने भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा मजदूरहरूसँग भएका पैसा तथा अन्य सामानसमेत लुट्दा पनि नेपालतर्फा सुरक्षाकर्मी भने केही गर्न नसक्ने अवस्थामा रहनु दुर्भाग्यपूर्ण हो । भारतीय सुरक्षाकर्मीले अनाहकमा सोझासीधा नेपालीलाई दुःख दिने परम्परा नै बनिसकेको छ, त्यसलाई रोक्न नेपालले कूटनीतिक र सीमासुरक्षा संयन्त्रको स्तरबाट कुनै उल्लेखनीय पहल गरेको छैन । भारतीय सुरक्षाकर्मीले ५ सय र हजारका नक्कली भारू सीमामा छयापछयाप्ती भएका कारण त्यसको खोजबिनका लागि त्यस्ता नोट लिएर आउनेहरूसँग मात्र सोधपुछ गरेको बताएको छ । तर, नेपालीहरूले बोकेका सय र ५० का नोटसमेत खोसिएको छ । यसबाट सीमामा बस्ने भारतीय सुरक्षाकर्मीको नियत 'सुरक्षा' प्रदान गर्नु नभएर नेपालीलाई सास्ती दिनु रहेको स्पष्ट हुन्छ ।
निरन्तर कायम यस्तो घटनाले नेपाली सुरक्षाकर्मीको निरीहपनलाई उजागर त गर्छ नै, साथै नेपाल सरकारको अकर्मण्यतालाई पनि झल्काउँछ । प्रत्येक वर्षयस्तै घटना दोहोरिने भएपछि सरकारी संयन्त्र कानमा तेल हालेर बस्न मिल्दैन । १ हजार र ५ सयदरका भारतीय नोट नेपालभित्र ल्याउन रोकिने भएपछि यसबारेको जानकारी दिने र तिनको सटही गरिदिने व्यवस्था मिलाउन दिल्लीस्थित नेपाली दूतावास र नेपाली सीमा प्रशासनले पहल गर्नुपर्ने हो । यी ठूला दरका नोट भारतीय सीमामा बस्ने प्रहरीले जबरजस्ती लिने र ती प्रहरीहरू कहिल्यै दण्डित नहुने कुरा कूटनीतिक तहमा उठाउनु आवश्यक छ । समस्याको मूल जरो भारतमा काम गर्ने नेपालीहरूले नेपालतर्फ रकम पठाउने सुलभ विप्रेषण संयन्त्र नहुनु हो ।
नेपालले यस सन्दर्भमा कुरो उठान गरेको लामो समय भयो । तर, त्यसलाई राजनीतिक तहमा दुई देशबीच सहमति गराएर अहिले मलेशिया वा मध्यपूर्वको जस्तै गरी मनी ट्रान्सफर कम्पनीहरूमार्फत पठाउन पाउने व्यवस्था हुनुपर्छ । अहिले केही बैङ्कहरूले दिएको सेवा बारेको जानकारी सामान्य कामदारहरूसम्म पुगेको छैन । मुख्यगरी भारतीय संस्थापन यसमा लचिलो नभएकाले अहिलेसम्म समाधान ननिस्किएको हो । दीर्घकालमा विप्रेषणलाई कामदारले प्रयोग गर्न सक्ने गरी नियमित गर्न र अल्पकालमा वार्ताद्वारा सीमामा नेपाली लुटिने क्रम रोक्न अर्थपूर्ण कूटनीतिक पहल गर्न अब ढिला भइसकेको छ ।