नयाँ दलाल विवादको अन्त्य जरुरी
नयाँ दलाल छनोटका लागि आशयपत्र (एलओआई) दिने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच समन्वय हुन सकेको छैन । यसो हुँदा नेप्सेले नयाँ दलाल कम्पनीलाई दिने भनेको 'क्लियरिङ एण्ड सेटलमेण्ट’ तालीम अन्योलमा परेको छ । यसले दुई सरकारी निकायहरूबीचको अर्थहीन समन्वयहीनतालाई उजागर गरेको छ । आशयपत्र लिएर पूर्वाधारमा लगानीसमेत गरिसकेका कम्पनीहरू यस्तो अवस्थाबाट थप असमञ्जसमा परेका छन् । त्यसैले नेप्सेले कि त आशयपत्र लिने कम्पनीलाई निश्चित समयको अभिमूखीकरण तालीम दिएर कारोबारको अनुमति दिनुपर्छ या, सेबोनले सबै कम्पनीलाई प्रक्रिया पुर्याएर आशयपत्र लिनका लागि निश्चित समयावधि छिटो तोकिदिनु पर्छ । र, यदि कम्पनीहरू दलाल बन्न अनिच्छुक हुन् भने त्यो अवधिमा आशयपत्र नलिनेलाई खारेज गरी नयाँ कम्पनी छनोट गर्नुपर्छ ।
नेप्सेमा नयाँ दलाल छनोटको प्रक्रिया विगत ३ वर्षभन्दा अघिदेखि चलिरहेको छ । तर, यति लामो अवधि बितिसक्दा पनि यो विषय टुङ्गोमा पुग्न सकेको छैन । दलाल छनोटका लागि लिइएको अन्तिम परीक्षामा कुल ३४ कम्पनी छनोट भएका थिए । तीमध्ये २७ नयाँ कम्पनी छनोट गर्ने तयारी गरिएको छ । तर, हालसम्म ५ कम्पनीले मात्रै आशयपत्र पाएका छन् । आशयपत्र लिने कम्पनीहरूले कारोबार सञ्चालनका लागि पूर्वाधार निर्माणको काम गरिरहेका र केहीले कर्मचारी छनोट गरी कारोबार शुरू गर्ने अन्तिम तयारीसमेत गरेका छन् । तर, तालीम नलिईकन कारोबार सञ्चालन गर्न नदिने नेप्सेको भनाइका कारण उनीहरूको लगानीले छिटै लाभ पाउने देखिँदैन ।
अहिले आशयपत्र लिने सम्बन्धमा नेप्से, सेबोन र नयाँ कम्पनीबीच त्रिपक्षीय द्वन्द्वजस्तो देखिएको छ । नेप्सेले आफूले छनोट गरेका कम्पनीहरूलाई सेबोनले तुरुन्तै आशयपत्र दिनुपर्ने मनसाय राखेको देखिन्छ । आशयपत्र लिनुपर्ने कम्पनीले पनि यस विषयलाई त्यही रूपले बुझेका छन् । तर, सेबोन भने कर क्लियरेन्स, सम्भाव्यता प्रतिवेदनलगायतका कागजात तथा प्रक्रिया आफूसमक्ष पनि प्रस्तुत गर्नुपर्ने भनिरहेको छ । ती प्रक्रिया नपुर्याउने कम्पनीहरूलाई सेबोनले आशयपत्र दिएको छैन । उसले छानिएकालाई मात्रै तालीम दिन शुरू गरे हुने आशय व्यक्त गरेको बुझिन्छ ।
विगतमा नेप्से परिसूचक उच्च बिन्दुमा हुँदा नयाँ दलाल कम्पनी बन्नका लागि आवेदन दिनेको सङ्ख्या र उत्साह निकै ठूलो थियो । ३ वर्षअघि नयाँ दलाल बन्नका लागि ३ सय १६ कम्पनीले निवेदन दिएका थिए । नेप्सेले गत साउनमा परीक्षाका लागि पुनः आवेदन माग्यो । तर, त्यस समयमा जम्मा १ सय ६७ कम्पनीले मात्रै पुनः आवेदन दिए । शेयरबजार खस्किन थालेपछि अहिले दलाल हुन अन्तिम छनोटमा परेका कम्पनीहरूले पनि उत्साह नदेखाउनुले उनीहरूको मनोविज्ञान बुझ्न सकिन्छ । यदि उनीहरूले आलटाल गरेर दलाल हुन नचाहेका हुन् भने त्यसको विकल्पमा अन्य कम्पनीलाई अवसर दिनु उपयुक्त हुन्छ । तर, त्यसका लागि पनि छनोट भएका कम्पनीलाई निश्चित समय दिएर आशयपत्र लिन आह्वान त गर्नैपर्छ । यद्यपि, यो व्यवसायमा लगानी गर्ने भनेको दीर्घकालीन हितका लागि हो भन्ने नयाँ कम्पनीले पनि बुझ्नुपर्छ ।
अहिले कारोबार गरिरहेका २३ दलाल कम्पनीको सङ्ख्या बढाएर ५० ओटा पुर्याउने प्रक्रियाले पूर्णता नपाउनुमा सरकारी निकायहरूको अकर्मन्यता र गैरजिम्मेवारीपन दोषी छ । नियामक निकायका रूपमा रहेको सेबोनले पनि नेप्सेलाई ठीक बाटोमा हिँडाउने काम गर्न सकेको छैन । दुवै स्थानमा एकैस्तरको राजनीतिक नियुक्ति हुने भएकाले यिनीहरू समानान्तर निकायजस्ता भएका छन् । नेप्सेलाई निजीकरण गर्नु र सेबोनलाई अझ प्रभावकारी बनाउनु यसको दीर्घकालीन समाधान हो । तर, अहिलेको यो आशयपत्र र तालीमको विवाद भने सेबोन, नेप्से तथा दलाल कम्पनीहरू एकै ठाउँमा बसेर तुरुन्त समाधान गर्नुपर्छ ।
Admin 2011-03-15