शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपाली उत्पादनको पहिचानको महत्व
नेपाली कफी तथा चियाले 'कलेक्टिभ मार्क’ पाएको छ । राष्ट्रिय कफी दिवसका अवसरमा उसले त्यो लोगो सार्वजनिक गरेको छ । अब नेपालमा उत्पादन तथा निर्यात हुने कफी 'नेपाल कफी’ को नाम र लोगोमा हुनेछ । ढीलै गरी भए पनि नेपालमा कफीको विकासका लागि यो सुखद खबर हो । तर, यसअघि नै ट्रेडमार्क वा कलेक्टिभ मार्क लिनुपर्ने अन्य उत्पादनले अझै त्यस किसिमको प्रयास गरेका छैनन् ।

आफ्नो ब्राण्डबाट नेपाली चिया तथा कफी निर्यात हुन नसक्दा नेपालले यसबाट लिन सक्ने लाभ लिन सकेका छैनन् । अहिले नेपालबाट निर्यात हुने चियामध्ये अधिकांश भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ । 'नेपाल टी’ का नाममा नेपाली चियाको ट्रेडमार्क दर्ता छ । तर, विदेशमा यसको प्रवर्द्धन हुन नसक्दा नेपाली चियाले लाभ लिन सकेको छैन । नेपालबाट वार्शिअक १ सय २० टनको हाराहारीमा कफी निर्यात भइरहेको छ । तर, निर्यात हुने मुलुकमा यसको अझै प्रवर्द्धन हुनु जरूरी छ । चिया तथा कफीको प्रवर्द्धनको  जिम्मा पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड यस कामका लागि सरकारको मुख ताकेर बसेको छ । सरकारले यथेष्ट पैसा दिए चिया तथा कफीको प्रवर्द्धन गर्न सक्ने अन्यथा नसक्ने उसको भनाइ छ ।

कुनै समय नेपालबाट गलैंचा, तयारी कपडा, पश्मीना आदिको निर्यात चरमोत्कर्षमा थियो । तर, त्यसबेला यस किसिमका ट्रेडमार्क तथा कलेक्टिभ मार्क दर्ता गरी गुणस्तरीय सामानको उत्पादन तथा निर्यातमा जोड दिइएन । त्यसो हुँदा न त नेपाली मौलिक उत्पादन नै स्थापित हुन सके, न त तिनीहरूको गुणस्तर नै कायम हुन सक्यो ।

यस्तो हुँदा तिनीहरूको निर्यात भारी मात्रामा घट्यो र उद्योगहरू धराशायी बन्न पुगे । यदि बेलैमा ट्रेडमार्क दर्ता गर्ने र गुणस्तरलाई कायम राख्नेतर्फसोचिएको भए आज ती उद्योगहरू धराशायी हुने थिएनन् । ती उत्पादनमध्ये पश्मीनाले ट्रेडमार्क लिएको छ । अन्य उत्पादनले भने त्यसका लागि अझै पहल गरेका छैनन् । नेपाली उद्योग-व्यवसाय क्षेत्रको हकहितका लागि स्थापित नेपाल उद्योग वाणिज्य महासङ्घ, परिसङ्घ, चेम्बर अफ कमर्स आदिले पनि यस किसिमका कार्यका लागि पहल, ध्यान दिन सकेका छैनन् । अबका दिनमा निर्यातयोग्य नेपाली उत्पादनको प्रवर्द्धन र गुणस्तरका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक यस्ता संस्थाको भूमिका अत्यन्त आवश्यक छ ।

ढीलै भए पनि नेपाली उत्पादनको ट्रेडमार्क दर्ता तथा बजारीकरणको क्रम शुरू भएको छ । नेपाली उत्पादनको प्रवर्द्धनका लागि यो सकारात्मक शुरूआत हो । तर, अहिलेकै गतिमा हुने कामले अपेक्षित परिणाम दिन सक्दैन । त्यसैले अब नेपाली उत्पादनको बजार प्रवर्द्धन गर्न सम्बन्धित उत्पादकहरू, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू, सरकार तथा सरोकारवाला सबैको सामूहिक प्रयत्न जरूरी छ । बेपत्ता बढेको आयात तथा घट्दो दरको निर्यातलाई सन्तुलनतर्फो दिशा देखाउन पनि यस्तो प्रयास अत्यावश्यक भइसकेको छ ।