सेवा व्यापार थप विकल्प
विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का उपमहानिर्देशक डा. हर्षवर्द्धन सिंह र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडाले नेपालले सेवाक्षेत्रको विकासबाट तुलनात्मक रूपमा बढी लाभ लिन सक्ने बताएका छन् । नेपालको वस्तुनिर्यात घटिरहेको र व्यापारघाटा बढिरहेको भनेर चिन्ता व्यक्त भइरहेको अवस्थामा सेवाक्षेत्रतर्फ ध्यान दिनुपर्ने विचार जुन रूपमा आएको छ, यो अत्यन्तै विचारणीय छ । विदेशबाट कच्चा पदार्थ आयात गरेर निर्मित सामग्री पुनः निर्यात गरेर हाम्रा उत्पादनलाई प्रतिस्पर्धी बनाउन निश्चय नै सकिँदैन ।
नेपालको सन्दर्भमा तुलनात्मक रूपमा उत्पादनमूलकभन्दा सेवा उद्योगमा कम समस्या छन् । मजदूर सङ्गठनहरूको अवरोध, विद्युत् कटौतीलगायत विभिन्न किसिमका समस्याका कारण नेपालको औद्योगिक उत्पादन समस्याग्रस्त छ । यी समस्याका कारण नेपालले वस्तुको निर्यात गरेर ठूलो लाभ पाउन नसकिरहेको अवस्था छ । अर्कातर्फ भारत र चीनजस्ता ठूला अर्थतन्त्रको बीचमा रहेको नेपालले ती देशको बजारमा आप\mना उत्पादनलाई स्थापित गराउनका लागि ठूलो मात्राको उत्पादन (माश प्रडक्शन) पनि गर्न सक्ने वा त्यसस्तरको लगानी हुन सक्ने अवस्थासमेत छैन ।
पर्यटन, स्वास्थ्य, शिक्षा, विशेषज्ञ, आउटसोर्सिङलगायतका सेवा उद्योगको नेपालले भरपूर विकास गर्न सक्छ । यी सेवा व्यापारका प्रस्टतः दुइ किसिमका सम्भावना छन्: पहिलो- सेवा निर्यात, दोस्रो- यसको देशभित्रै विकास । यीमध्ये देशले सुरक्षालगायत कामदार, विशेषज्ञ तथा विभिन्न किसिमका आउटसोर्सिङ सेवाहरू निर्यात गर्न सक्छ । पर्यटन, स्वास्थ्य, शिक्षालगायतका सेवाहरू देशभित्रै विकास गरिने सेवाक्षेत्रहरू हुन् । यी दुवैको यथोचित विकास गर्न सके देशको सेवाउद्योगले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्छ ।
देशभित्रै विकास गर्न सकिने हिसाबले पर्यटन उद्योग सबैभन्दा धेरै सम्भावना भएको सेवाक्षेत्र हो । अहिले भएका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गरी पर्यटनको विविधीकरण गर्न सक्ने र नयाँ उत्पादन पनि दिन सक्ने हो भने निश्चय पनि यसले देशको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्छ । अहिलेसम्म नेपालको पर्यटन विकेन्द्रित हुन पनि सकेको छैन । हिमाली मुलुक नेपालमा उच्चस्तरीय अस्पताल तथा स्पाथेरापी केन्द्रलगायतको विकास गर्न सकियो भने त्यसले स्वास्थ्य पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्नेछ ।
नेपालमा शिक्षा पनि अर्को सम्भावित क्षेत्र हो । यसका साथै यहाँ विश्वस्तरीय शैक्षिक तथा अनुसन्धान केन्द्रहरूको विकास गर्न सकिन्छ, ताकि यिनीहरूले गरेको अनुसन्धान विश्वभरि नै प्रयोगमा आउन सकोस् । देशले दक्ष कामदार तथा विशेषज्ञ सेवाको निर्यात गर्न सक्छ । अहिलेसम्म नेपालबाट ठूलो मात्रामा अदक्ष कामदारहरू विदेशमा जाने गरेका छन् । विदेश जाने कामदारहरूको दक्षता वृद्धि गर्ने तथा विभिन्न किसिमको विशेषज्ञ सेवा पनि प्रदान गर्न सक्ने हो भने यसले निकै ठूलो लाभ दिन सक्छ । 'आउटसोर्सिङ’ अर्को एउटा प्रमुख सेवा उद्योगका रूपमा विकास हुन सक्छ । अहिले पनि धेरै पश्चिमा कम्पनीहरूले सफ्टवेयर डिजाइनिङ, एनिमेशन, टेलरिङलगायत नेपालबाट आउटसोर्सिङ गराउने गरेका छन् । आगामी दिनमा यसको थप विकास तथा विविधीकरण गर्न आवश्यक छ ।
सेवाक्षेत्रको विकासबाट मात्र देशको आवश्यकता पूरा हुँदैन । त्यसैले सेवाक्षेत्रको विकास गर्नु भनेको उत्पादनमूलक क्षेत्रलाई पूर्णतः छोड्नु भन्ने होइन । तर, यसरी वस्तुहरूको उत्पादन गर्दा देशको आवश्यकतालाई र तुलनात्मक लाभलाई हेरेर गरिनुपर्छ । उदाहरणका लागि तुलनात्मक लाभ भएका कफी तथा चियाको उत्पादन गरी निर्यात गर्दा नेपाललाई लाभ नै हुन्छ । अन्तरराष्ट्रिय बजारमा पुर्याउँदा तिनीहरूको मूल्य अभिवृद्धि पनि राम्रै हुने गर्छ ।
सरकारका प्रमुख वित्तीय सल्लाहकार राष्ट्र बैङ्कका गभर्नरबाट सेवा उद्योग विस्तार देशका लागि लाभदायक हुने विचार व्यक्त हुनु निश्चय पनि सकारात्मक हो । वस्तुहरूको पर्याप्त निर्यात गर्न नसक्दा देशले ठूलो व्यापारघाटा भोगिरहेको छ । सेवाक्षेत्रले त्यो घाटा कम गर्न योगदान गरेको छ । यस कारणले पनि सेवाक्षेत्रको विस्तार उपयुक्त देखिन्छ । देशको यो वस्तुगत यथार्थलाई विश्लेषण गरी देशको निजीक्षेत्र सेवाक्षेत्रको विकास र विस्तारतर्फ केन्द्रित हुनु जरुरी छ ।
Admin 2011-02-16