शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शेयरबजारमा वास्तविक क्षेत्रको उपस्थिति
निजीक्षेत्रका उद्योगी-व्यवसायीहरूले सरकारी नीति परिवर्तन भएमा उत्पादनमूलक कम्पनीहरू पनि शेयरबजारमा जान तयार रहेको बताएका छन् । अहिले नेपालको शेयरबजारमा बैङ्क तथा वित्तीय क्षेत्रको उपस्थिति सबभन्दा बलियो छ । यस्तो परिस्थितिमा वास्तविक क्षेत्र पनि यस बजारमा जान तयार रहेको त्यसका प्रतिनिधिले बताउनुलाई सकारात्मक रूपमा लिनुपर्छ । वास्तवमा शेयरबजारलाई नेपालको अर्थतन्त्रको ऐना बनाउने हो भने शेयरबजारमा वास्तविक क्षेत्रका थप कम्पनीहरूको सूचीकरण हुनु महत्त्वपूर्ण छ ।

शेयरबजारलाई अर्थतन्त्रको 'ब्यारोमिटर’ मानिन्छ । कुनै पनि देशको अर्थतन्त्रको विश्लेषण गर्नुपर्‍यो भने त्यस देशको शेयरबजारको अवस्थालाई हेर्ने गरिन्छ । तर, नेपालको सन्दर्भमा शेयरबजारलाई हेरेर देशको अर्थतन्त्रको वास्तविक अवस्थाको विश्लेषण गर्न सकिने आधार अझै बनेको छैन । नेपालको शेयरबजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा अत्यन्त कम छ । शेयरबजारको ८०-८५ प्रतिशत हिस्सा बैङ्क तथा वित्तीय संस्थाहरूले ओगटेका छन् । यस्तो अवस्थामा शेयरबजारले देशको आर्थिक अवस्थाको वास्तविक चित्र दिँदैन । शेयरबजार अर्थतन्त्रको वास्तविक प्रतिविम्ब हुनका लागि पनि उत्पादनमूलक क्षेत्रको अहिलेको उपस्थितिमा उल्लेख्य वृद्धि हुनु आवश्यक छ ।

नेपालको निजीक्षेत्र विशेषगरी उत्पादनमूलक क्षेत्रको संस्थागत सुशासन अत्यन्तै कमजोर रहेको आरोप बेलाबेलामा लाग्दै आएको छ । शेयरबजारमा प्रवेश गर्नु भनेको नेपालको उत्पादनमूलक क्षेत्रले आफ्नो पारदर्शिता प्रमाणित गर्ने मौका पनि हो । शेयरबजारमा जाने कम्पनीहरूले आफ्नो वित्तीय अवस्थाबारे प्रत्येक तीन महीनामा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ । यसो गर्दा यस्ता कम्पनीहरूको पारदर्शिता र संस्थागत सुशासनलाई सुदृढ गराउन मद्दत पुग्छ । अर्को तर्फ नेपालको शेयरबजारको विस्तार र विकासका लागि पनि वास्तविक क्षेत्रको बलियो उपस्थितिले सहयोग पुर्‍याउँछ ।

उत्पादनमूलक क्षेत्रको शेयरबजारले उच्च प्रतिफल कमाउने उत्पादनमूलक उद्योगहरूले पूँजीबजारलाई बलियो बनाउनसमेत सहयोग गर्छन् । उत्पादनमूलक कम्पनीहरूको सूचीकरणसँगै तिनको निश्चित अंशमाथि सर्वसाधारणको स्वामित्व हुन्छ । धेरै सर्वसाधारणको स्वामित्व भएको उद्योगको सुशासन र भविष्यप्रति आम चासो रहने हुँदा त्यस्ता कम्पनी डुब्ने सम्भावना पनि कम हुन्छ । यसरी उत्पादनमूलक उद्योगहरू शेयरबजारमा प्रवेश गर्दा धेरै कोणबाट अर्थतन्त्रलाई लाभ हुन्छ । त्यसैले उत्पादनमूलक क्षेत्रलाई शेयरबजारमा प्रवेश गराउने बाटो सहज बनाइनु आवश्यक छ । 'शेयरबजारको पाँचवर्षको गुरुयोजना’मा यस कुरालाई प्राथमिकता दिने भन्ने नेपाल धितोपत्र बोर्डको भनाइ यसर्थ सकारात्मक छ ।

शेयरबजारमा जानका लागि सरकारले सकारात्मक नीतिगत व्यवस्था गरिदिनु पर्ने निजीक्षेत्रको भनाइ उपयुक्त छ । तर, उद्योगहरू सङ्कटग्रस्त हुँदा त्यसको संरक्षण पनि सरकारले गरिदिनुपर्ने भनाइलाई चाहिँ उपयुक्त मान्न सकिँदैन । कुनै पनि उद्योगले नाफा गर्दा चाहिँ उद्योगीहरूले कमाइरहने अनि सङ्कट पर्दा सरकारले संरक्षण गरिदिनु पर्छ भन्ने भनाइ कसैगरी पनि उपयुक्त होइन । भोलि त्यसरी सरकारले संरक्षकको भूमिका निर्वाह गरिदिने हो भने उद्योगीहरू जानाजान उद्योग डुबाउने खेलमा नलाग्लान् भन्ने आधार छैन । त्यसैले यसरी सरकारले संरक्षण गरिदिनु पर्छ भन्नु भन्दा पनि स्वच्छ बजार प्रतिस्पर्धाका आधारमा व्यवसाय विस्तार गर्ने अवधारणाबाट नै निजीक्षेत्रलाई अघि बढाउनुपर्छ ।  

उद्योगीहरूले बेलाबेलामा धम्कीका रूपमा शेयरबजारमा जान तयार रहेको बताउँदै आएका छन् । यदि साँच्चै शेयरबजारमा जान तयार हुने हो भने त्यसले उद्योगीहरूकै हित हुन्छ । उद्योग सञ्चालनका लागि बैङ्कहरूबाट ब्याज तिरेर ऋण लिनुभन्दा शेयर जारी गरेर लगानीको व्यवस्था गर्नु फाइदाजनक हुन्छ । त्यसैले यससम्बन्धमा उपयुक्त वातावरण तयार गर्न र निजी कम्पनीहरूलाई सुशासनयुक्त बनाउन निजीक्षेत्र आफै तयार हुनुपर्छ, सरकारको मुख ताकेर मात्रै हुँदैन ।

Admin 2011-02-17