खानी प्राविधिक नहुनुको समस्या
खानी तथा भूगर्भ अनुसन्धानका लागि आवश्यक विशेषज्ञ प्राविधिकको अभावले यसको दोहनमा समस्या पर्ने देखिएको छ । पछिल्लो समय केही निजी कम्पनीहरू पनि नेपालका विभिन्न खनिज उत्खनन् गर्न तयार देखिएका छन् । तर, त्यो कार्य अगाडि बढाउने क्रममै स्थानीयबासिन्दाको अवरोध तथा झन्झटिलो सरकारी प्रक्रियाका कारण लगानीकर्ताहरू निरुत्साहित हुन थालेको पाइएको छ । अहिले यस क्षेत्रमा काम गर्ने प्राविधकहरू नै नहुनु थप समस्याका रूपमा देखिएको छ ।
धातु र खानीसम्बन्धी विशेष ज्ञान दिने विषयमा नेपालमा हालसम्म पनि पढाइ हुन सकेको छैन । त्यसको अध्ययनका निम्ति विदेश नै पुग्नुपर्ने बाध्यता छ । विदेश गएर पढ्नका लागि पनि निकै महँगो पर्छ । महँगोमा विदेशमा पढेर नेपाल आई सरकारी जागीर खानु आम्दानीलगायत अन्य कुनै हिसाबले पनि उपलब्धिमूलक नभएको सम्बद्ध व्यक्तिहरूले बताएका छन् । त्यसैले उनीहरू नेपाल फर्कनै नचाहने अवस्था छ । खानी तथा भूगर्भ विभागले यस्ता प्राविधिक (इञ्जिनीयर)का लागि पछिल्लो समयमा दरखास्त आह्वान गर्दा कुनै आवेदन नै परेको छैन । अब मुलुकभित्रै त्यस विषयमा पढाइ हुने व्यवस्था गर्न सक्नुपर्छ या त विदेशमा पढ्न गएकालाई आकर्षक तलबसहित नेपालमै काम गर्ने वातावरण मिलाउन सक्नुपर्छ ।
नेपालमा झण्डै १ करोड ४१ लाख टन तामा, २ करोड २५ लाख टन फलामलगायतका धातु खानी तथा सुन, चुनढुङ्गा, शिशा, जस्ता, म्याग्नेसाइट, खरी, मार्बल आदिका करोडौं टन खनिज भण्डार रहेको अनुमान गरिएको छ । तर, व्यावसायिक उत्खनन् तथा प्रशोधनका लागि अत्यावश्यक प्राविधिक जनशक्तिको अभावले ती बहुमूल्य निधिहरू राष्ट्रका लागि उपयोगको सम्भावना घटेर गएको छ । देशको समग्र अर्थतन्त्रमै सकारात्मक असर पार्न सक्ने अथाह खनिज भण्डारको उपयोग गर्न नसकिनुमा दक्ष जनशक्ति तथा लगानीको अभाव प्रमुख बाधक भएका छन् । झन्डै डेढ दशकदेखि विभागमा यस्ता इञ्जिनीयरहरू एक जना पनि थपिएका छैनन् । साथै, पुरानाहरूसमेत धेरैजसो जागीर छोडेर विदेश पलायन हुँदैछन् । यसबाट कुनै दिन देशको खानी उत्खनन् गर्ने जिम्मा पाएको सरकारी निकाय प्राविधिक जनशक्तिविहीन बन्ने स्थिति उत्पन्न भएको छ । रिक्त रहेका कतिपय यस्ता पद पूर्ति हुने कुनै सम्भावना नै नरहेको सम्बद्ध पक्षले बताउँदा पनि वैकल्पिक बाटोको खाकासमेत बन्न नसक्नु विडम्बना नै मान्नुपर्छ । यसरी दक्ष जनशक्ति पलायन हुनु वा पदरिक्त हुनुमा सरकारी सेवामा वृत्ति विकासको सम्भावना कम रहनु नै मुख्य कारण मानिएको छ । यो अवस्थामा सुधार ल्याउनुपर्ने आवश्यकता छ ।
छिमेकी भारतलगायत अन्य कतिपय मुलुकमा खानी इञ्जिनीयरिङ विषयको पढाइ भए पनि नयाँ पुस्तामा खानी तथा धातुसम्बन्धी विषय पढ्ने विद्यार्थीको अभाव छ । खनिज तथा धातुको अथाह भण्डार रहेको विश्वास गरिएको नेपालमा यससम्बन्धी प्राविधिक जनशक्ति तयार गर्नेतर्फ आजसम्म पनि सरकारको ध्यान पुग्न सकेको छैन । तत्काल माइनिङ इञ्जिनीयरिङमा कक्षा सञ्चालन गर्ने सम्भावना कम भए पनि विगतको 'कोलम्बो प्लान’ जस्तै कुनै विकल्प खोज्न विलम्ब गर्नु हुँदैन । यसका लागि राज्यका तर्फबाटै त्यस्तो विषय पढाइ हुने अन्यत्रका विद्यालय-विश्वविद्यालयसँग सम्पर्क गरी नेपाली विद्यार्थी अध्ययनका निम्ति पठाउन पहल थालिहाल्नु पर्छ । र, विस्तारै खानी तथा भूगर्भ विषयको पाठ्यक्रम तयार पारी नेपालमै यस विषय अध्यापनको व्यवस्था गर्नतिर लाग्नुपर्छ । अन्यथा यस विषयका जनशक्तिको अभाव आउँदा धेरै वर्षसम्म यथावत् रहनेछ ।