शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कर्मचारीको हडताल र पूँजीबजारको भविष्य
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले आफ्ना सामान्य माग पूरा गराउने नाममा नेप्सेको कारोबार नै ठप्प पारेका छन् । नेप्सेका कर्मचारीमा आन्दोलन गरेर माग पूरा गराउने गलत प्रवृत्तिका कारण नेपाली शेयरबजार पटकपटक प्रताडित हुनुपरेको छ । यहाँ कर्मचारीको माग गलत छ या सही त्यो मुख्य विषय होइन । माग पूरा गराउने नाममा जसरी मुलुकको एकमात्र स्टक एक्सचेञ्जको छवि धमिल्याउने काम भएको छ, त्यो भने सरासर गलत र आपत्तिजनक छ ।

अहिले नेपाली शेयरबजार लगातार ओरालो लागिरहेको छ । २ वर्षअघि लगभग १ हजार २ सयको हाराहारीमा पुगेको नेप्से परिसूचक अहिले ४ सयको तलमाथि घुमिरहेको छ । यसले शेयरबजारमा घोर निराशा छाएको छ । लगानीकर्ताहरूले ढुक्क भएर लगानी गर्न सकेका छैनन् । यस्तो अवस्थामा नेप्सेका कर्मचारीले पूरै काम ठप्प पारेपछि बजारमा झनै निराशा थपिएको छ । यसले नेपाली शेयरबजारलाई दीर्घकालीन असर पार्नसक्छ ।

नेप्सेका कर्मचारीले खाइपाई आएको तलबसुविधामा कटौती भएको भए कुरा बेग्लै हुन्थ्यो । नेप्सेको सञ्चालक समितिले कर्मचारीको सेवासुविधा थप गर्ने निर्णयलाई अर्थमन्त्रालयले स्वीकृति नदिएको विषयमा उनीहरूले आन्दोलन गरिरहेका छन् । कर्मचारीले गरेका मागजति सबै सञ्चालक समितिले पूरा गर्नैपर्ने र सञ्चालक समितिको निर्णय अर्थ मन्त्रालयले स्वीकार गर्नैपर्ने आग्रहलाई समर्थन गर्न सकिँदैन । कर्मचारीको दबाबमा सञ्चालक समितिले गरेको अनुचित निर्णय मन्त्रालयले मानेन भनेर स्टक एक्सचेञ्जजस्तो जीवन्त संस्थाको काम ठप्प पार्दै आन्दोलन गर्नु त्यसका कर्मचारीको अपरिपक्वताको द्योतक हो । तथापि यसको अर्थ कर्मचारीले आफूले काम गरेको संस्थाबाट थप सुविधा पाउनु वा खोज्नु हुँदैन भन्नेचाहिँ पटक्कै होइन ।

माग पूरा गराउने पनि विभिन्न प्रक्रिया हुन्छन् । शान्तिपूर्ण रूपमा पनि आफ्ना मागलाई सम्बोधन गराउन  सकिन्छ । केही असहमति छन् भने तिनलाई वार्ताको टेबुलमा बसेर टुङ्ग्याउन सकिन्छ । तर, आफ्नो माग पूरा गराउने उद्देश्यले लाखौं शेयर लगानीकर्ता र सिङ्गो बजारलाई बन्धक बनाउने काम कर्मचारीहरूले गरेका छन्, त्यसलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन ।

विगत १२ दिनदेखि नेप्से कर्मचारीले चलाएको आन्दोलनबाट कारोबार भइसकेको शेयरको करीब रू. २० करोड रकम राफसाफ हुन सकेको छैन । यसले लगानीकर्ताहरूलाई ठूलो मर्का परेको छ । लगानीकर्ताहरूलाई बैङ्कबाट 'मार्जिन कल’ आएको छ । उनीहरूले बैङ्कलाई रकम बुझाउन पनि यसले समस्या पारेको छ । लगानीकर्ताका यस्ता विभिन्न प्रकारका समस्यालाई बेवास्ता गर्दै गरिएको यो आन्दोलन गैरकानूनी र चरम अनैतिक छ । यस कार्यमा नेप्सेका कर्मचारी र व्यवस्थापन दुवै समान रूपले दोषी छन् । नेप्सेमा भइरहने यस्ता बेमौसमी स्वार्थी आन्दोलनले नेपालको निजीक्षेत्रले नै स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउनुपर्ने आवश्यकतालाई टड्कारो रूपमा उजागर गरेका छन् ।

नेपालको शेयरबजारको बढोत्तरीका लागि विदेशी लगानीकर्तालाई भित्र्याउने प्रक्रिया सुलभ हुनुपर्छ भन्ने माग आएको छ । त्यसका लागि 'म्युचुअल फण्ड’को स्थापना सहज बनाउन गृहकार्य पनि भइरहेको छ । यस्तो अवस्थामा नेपाली शेयरबजारको उन्नतिका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने कर्मचारीहरू नै गैरजिम्मेवार ढङ्गले आन्दोलनमा उत्रिएपछि त्यसले यो प्रक्रियालाई समेत नकारात्मक असर पर्छ । आन्दोलन हडताल र अशान्तिको परम्परागत वातावरणलाई नेप्सेका कर्मचारीले निरन्तरता दिँदै जाने हो भने विदेशी लगानीकर्ताको त कुरै छोडौं, स्वदेशी पनि पलायन हुन बाध्य हुनेछन् ।

नेपाल, बङ्गलादेशलगायत गरीब मुलुकहरूका शेयरबजारमा यस्ता अराजकता देखिने गरेका छन् । तर, तीतो अनुभव के छ भने जहाँजहाँ उपद्रो हुने गरेको छ, त्यहाँका शेयरबजार ओरालो लाग्दै धराशयी हुने अवस्थामा पुगेका छन् । नेपालमा भएको यो अराजकताले अन्ततोगत्वा नेपाली शेयरबजारलाई निश्चय नै धराशयी बनाउनेछ । त्यसैले नेपाली शेयरबजारको यो समस्या समाधानका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्छ ।