नेपाली जुत्ताको ब्राण्ड व्यवस्थापन
छालाजन्य वस्तु तथा जुत्ताचप्पलको प्रदर्शनी अवलोकन गर्न पुगेका मुलुकका पूर्वअर्थमन्त्रीहरूले नेपालमै बनेको जुत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेर उद्यमीहरूमा उत्साह जगाइदिएका छन् । एक सातासम्म काठमाडौंमा चलेको उक्त प्रदर्शनीमा सहभागी हुन पुगेका पूर्वअर्थमन्त्रीहरू एमालेका भरतमोहन अधिकारी र एमाओवादीका डा. बाबुराम भट्टराईले सो प्रतिबद्धता गरेका हुन् । जिम्मेवार दल तथा तिनका शीर्ष तहका नेताहरूबाट आएको यो प्रतिबद्धता व्यवहारमै लागू हुने हो भने हाल आन्तरिक मागको आधा हिस्सा मात्र पूर्ति गर्न सकेको यो उद्योगले निकट भविष्यमै आयात विस्थापन गर्न सफल हुने विश्वास गर्न सकिन्छ । नेपालमै बनेका जुत्ताचप्पल मात्र लगाउँछु भनी प्रतिबद्धता व्यक्त गर्ने पूर्वअर्थमन्त्रीद्वयले सार्वजनिक कार्यक्रममा गरेको उक्त प्रतिबद्धतालाई आआफ्नो पार्टीसम्म मात्रै पुर्याउन सके पनि यस उद्योगलाई ठूलो सहयोग गरेको ठहरिनेछ । सबै पार्टीका नेता-कार्यकर्ताले स्वदेशी उत्पादनको प्रयोग गर्ने हो भने पनि उद्योग टिक्न कठिन हुँदैन ।
पछिल्ला दिनमा नेपाली सर्वसाधारणमा पनि विदेशी ब्राण्डेड जुत्ताप्रतिको मोह पनि चुलिएर गएको छ । देशका सुगम भागमा सञ्चालित पसलहरूमा उपलब्ध जुत्ताचप्पल हेर्दा मात्र पनि यो प्रस्ट हुन्छ । यर्सथ पनि नेपाली उद्योगहरूले बजार हिस्सा माग गर्ने मात्र होइन, स्तरीय उत्पादनमा ध्यान पुर्याउनु जरुरी देखिन्छ । देशभित्रको उत्पादनले आवश्यक प्रवर्द्धनसमेत पाउन नसकेको व्यवसायीको गुनासो मननयोग्य छ । साथै नेपालका उद्यमीहरूले आफ्नो उत्पादनको आवश्यक प्रवर्द्धनलाई त्यति ध्यान पुर्याउन नसकेको तथ्य पनि उत्तिकै सत्य हो । कुनै पनि वस्तु उच्चगुणस्तरीय भएर मात्र पुग्दैन त्यसलाई उपभोक्ताको आँखामा पार्न र विश्वास जगाउन पनि प्रवर्द्धन महत्त्वपूर्ण हुन्छ । यसकारण पनि उद्यमीहरूले ब्राण्डको सही व्यवस्थापनका अतिरिक्त बजार प्रवर्द्धनमा ध्यान दिनु जरुरी छ ।
उद्योगहरू फस्टाउन नसक्नुमा राज्यका हचुवा र प्रतिगामी नीतिहरू पनि कम जिम्मेवार छैनन् । अहिले नेपालमा बनेका भनिएका अधिकांश जुत्ताचप्पल बाहिरबाट कच्चापदार्थ आयात गरेर तयार पारिएका हुन् । जुत्ताचप्पलका लागि आवश्यक कच्चा पदार्थ अन्य मुलुकबाट आयात गर्दा लाग्ने भन्सार दर जुत्ता नै आयात गर्दा लाग्ने दरभन्दा कम गर्ने सरकारको नीति शतप्रतिशत दोषी छ । सर्वप्रथम यस्ता अव्यावहारिक नीति परिवर्तन गरी उद्योगी-व्यवसायीलाई प्रोत्साहन पुग्ने नीति बन्न सक्नुपर्छ ।
'नेपाली ब्राण्डको प्रयोग नै स्वदेशी उद्योगको सम्मान’ भन्ने नाराका साथ एक सातासम्म आयोजित प्रदर्शनीमा झण्डै सवा करोडको व्यापार भएको बताइएको छ । यसबाट पनि नेपाली ब्राण्डका जुत्ताचप्पलप्रतिको आकर्षण क्रमशः बढ्दै गएको विश्वास गर्न सकिन्छ । यस्ता प्रदर्शनीले केही वर्षसम्म निरन्तरता पाएमा बजार प्रवर्द्धनमा यथेष्ट सहयोग पुग्नेछ । र, काठमाडौंमा आइतवार सम्पन्न प्रदर्शनीमा उपभोक्ताले देखाएको नेपाली उत्पादनप्रतिको विश्वासलाई बचाउन पनि नेपालका जुत्ताचप्पल उद्योगले गुणस्तर कायम राख्न सक्नुपर्छ । कतिपय उद्यमीहरूको आफ्नो उत्पादनले हल्का बजार लिएर अलिकति आम्दानी बढ्नासाथ गुणस्तरमा बेवास्ता गर्ने स्वभावले उद्योग नै धराशयी भएका विगतमा थुप्रै उदाहरण छन् । नेपाली उत्पादनले अहिले नै विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्छ भन्नु अव्यावहारिक होला । तथापि, आवश्यक प्रवर्द्धनसहित उच्चस्तरीय उत्पादन गर्दै जाने हो भने नेपाली जुत्ताचप्पलले प्रतिस्पर्धा गर्न सक्ने मात्र होइन आयात प्रतिस्थापनका साथै निकासी पनि असम्भव छैन ।