साकोसलाई ब्राण्डिङअघिका चुनौती
एशियाली ऋण महासङ्घ (अक्कु)ले नेपालका सातओटा बचत तथा ऋण सहकारी संस्था (साकोस)लाई अन्तरराष्ट्रियस्तरको प्रतीक 'ब्राण्ड’ दिने भएको छ । ब्राण्डिङपछि नेपालका साकोसहरूले पनि अन्तरराष्ट्रिय हैसियत पाउनेछन् । यसले नेपालका सम्पूर्ण साकोसहरूलाई सहकारीको सिद्धान्त, मूल्य र मान्यतामा हिँड्न प्रेरित गर्नेछ ।
अक्कु एशियामा दिगो बचत तथा ऋण सहकारी परिचालन गराउने लक्ष्यका साथ स्थापना भएको एउटा बृहत् सञ्जाल हो । यसले एशियाली मुलुकका साकोसहरूलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउनका निम्ति केही निश्चित मापदण्डहरू निर्धारण गरेको छ । मापदण्डहरूमा साकोसका उच्चस्तरीय विधिहरू समेटिएका छन् । साकोसलाई यी मापदण्ड वित्तीय दृष्टिकोण, सदस्यीय दृष्टिकोण, आन्तरिक व्यावसायिक दृष्टिकोण र ज्ञान तथा समृद्धिसम्बन्धी दृष्टिकोणअनुरूप अन्तरराष्ट्रियस्तरको बनाउन अक्कुले 'ए-वान कम्पिटेटिभ भ्वाइस फर एक्सिलेन्स इन सर्भिस एण्ड साउण्डनेस’ (एक्सेस) प्रविधिसमेत उपलब्ध गराउँदै आएको छ । यही प्रविधिमार्फत आफूलाई उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामा परिणत गरेकाले नेपालका सातओटा साकोसलाई अक्कुले अन्तरराष्ट्रियस्तरको साकोस ब्राण्ड दिन लागेको हो । यसरी ब्राण्ड पाउनेमा भक्तपुरका तीन उपकार, सिद्धिगणेश र बाराही, काभ्रेका बुडोल सामुदायिक, बिन्ध्यवासिनी र सामुदायिक तथा दोलखाको जनसचेत साकोस रहेका छन् ।
अक्कुले प्रदान गर्ने ब्राण्डबाट निश्चित रूपले नेपालका साकोसहरूको इज्जत बढ्नेछ । तर, यो ब्राण्ड पाउन भने त्यति सजिलो छैन । एक्सेस प्रविधिअन्तर्गत २ वर्षसम्म बचत तथा ऋण सहकारी सञ्चालन गरेर प्रमाणित गर्नु आफैमा ठूलो चुनौती हो । सहकारीलाई आफ्नो मूल्य, आदर्श र सिद्धान्तअनुरूप हिँडाउदै क्षमता अभिवृद्धिका निम्ति एक्सेसका ८६ ओटा सूचकलाई साकोसले अँगाल्नु पर्नेछ । अझ महत्त्वपूर्ण कुरा त, एक्सेस कार्यक्रममा सहभागी हुनका निम्ति कुनै पनि साकोससँग रू. ५ करोडभन्दा माथिको पूँजी र १ हजारभन्दा बढी शेयर सदस्य हुनु आवश्यक छ । एक्सेस कार्यक्रमको मुख्य विशेषता भनेको यसले सहकारीको मूल्यमान्यता र आदर्शभन्दा बाहिर हिँड्न दिँदैन । परम्परागत ढङ्गबाट रू. १ सयको शेयर सदस्य बनाउँदै जथाभावी निक्षेप सङ्कलन र ऋण लगानी गर्ने कामलाई यसले सम्पूर्ण रूपमा निरुत्साहित गर्नेछ । सहकारी संस्थाहरूले अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न यो नै पहिलो शर्त पनि हो । बाटो बिराएर भड्किन थालेको नेपालको सहकारी आन्दोलनका निम्ति एक्सेसजस्ता कार्यक्रमको महत्त्व र आवश्यकता रहेको छ ।
नेपालमा प्रारम्भिक सहकारी संस्थाको सङ्ख्या २१ हजार नाघिसकेको छ । त्यसमा ८ हजारभन्दा बढी साकोस छन् । साकोसहरूबीच 'मर्ज’को कुरा पनि उठ्दै आएको छ । केहीले त्यसमा पहलसमेत गरेका छन् । शेयरसदस्य र पूँजीवृद्धिका निम्ति प्रारम्भिक साकोसहरूलाई 'मर्ज’ गराएर एक्सेसजस्तो महत्त्वपूर्ण कार्यक्रम लागू गर्दैजानु सहकारी आन्दोलनको उचाइ र अन्तरराष्ट्रिय मान्यताका निम्ति पनि अत्यावश्यक भएको छ । यस दिशामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नफस्कुन)को अहम् भूमिका छ । सानासाना धेरै संस्थाहरू हुनुभन्दा धेरै मिलेर ठूलो तथा बलियो संस्था बन्नुमा इज्जत पनि बेग्लै हुन्छ । त्यसैले हजारौंको सङ्ख्यामा रहेका सहकारीलाई 'मर्ज’ गराउँदै एक्सेसजस्तो कार्यक्रम सबै साकोसमा लागू गर्दै जानु आवश्यक छ । नेफस्कुन एशियाली ऋण महासङ्घको सदस्यसमेत भएकाले एक्सेस कार्यक्रम नेपालमा लागू गर्न त्यति कठिन छैन । नेफस्कुनको प्रभावकारी पहल यस दिशामा ठोस कदम हुनेछ ।