मोबाइल प्रयोगमा अर्थहीन वृद्धि
देशभर १ करोडको हाराहारीमा मोबाइल उपभोक्ता रहेको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ । दूरसञ्चारको नवीन प्रविधिका रूपमा रहेको मोबाइलका प्रयोगकर्ता बढ्नुलाई सकारात्मक रूपमा नै लिनुपर्छ । तर, मोबाइल प्रयोगकर्ताको तीव्र वृद्धिले देश विकासका लागि के प्रतिफल दियो त भन्ने कुरा पनि विचारणीय छ । अहिले मोबाइलको प्रयोग बढेर जतिमात्रामा राष्ट्रिय धन खर्च भइरहेको छ, त्यसको तुलनामा यसबाट देशको आर्थिक वृद्धिमा पुगेको योगदान अत्यन्त न्यून छ भन्न हिचकिचाउनु पर्दैन । यस्तो अवस्थामा मोबाइल प्रयोगकर्ताको वृद्धि नै देशका लागि अभिशाप भइरहेको छ कि भन्ने विषयमा तथ्यगत खोज हुनु आवश्यक छ ।
मोबाइल सेट तथा यसका कुनै पनि पार्टपुर्जा नेपालमा उत्पादन हुँदैन । त्यसैले देशमा मोबाइल प्रयोगकर्ताको सङ्ख्या बढ्नु भनेको त्यही अनुपातमा पैसा बाहिर जानु पनि हो । नेपालमा रहेका करीब १ करोड मोबाइल प्रयोगकर्ताले प्रयोग गर्ने सेटका लागि वर्षेनी अर्बौं रुपैयाँ विदेशिइरहेको छ । एउटा मोबाइलको औसत मूल्य रू. ५ हजार, मोबाइल प्रयोगकर्ता १ करोड र त्यसको औसत आयु २ वर्ष मान्ने हो भने- नेपालमा वार्षिक २५ अर्ब रुपैयाँको मोबाइल सेट मात्रै आयात हुँदै आएको देखिन्छ । त्यसमा लाग्ने ब्याट्री, पार्टपुर्जा, चार्जर आदिको मूल्यसमेत जोड्दा यो रकम निकै माथि पुग्ने निश्चित छ । त्यसैले नेपालको आयातको मुख्य हिस्सा मोबाइल सेट तथा पार्टपुर्जाले लिएको यसबाट प्रमाणित हुन्छ । यसले नेपालको व्यापारघाटा बढाउन मुख्य भूमिका निर्वाह गरेको देखिन्छ ।
कुनै पनि सामानको प्रयोग उत्पादनशील क्षेत्रमा भयो भने त्यसले देश विकासमा पनि योगदान गर्न सक्छ । तर, नेपालको सन्दर्भमा अधिकांश मोबाइलको प्रयोग आवश्यकता वा उत्पादनका लागि नभएर फेशनका रूपमा हुने गरेको छ । यसले मोबाइलको प्रयोग फजुल खर्च मात्रै हुने गरेको प्रमाणित हुन्छ ।
नेपालमा मोबाइलको बढ्दो प्रयोगसँगै दूरसञ्चार कम्पनीहरूले पनि राम्रो आम्दानी गरिरहेका छन् । उनीहरू धेरै राजस्व बुझाउने कम्पनीहरूमध्ये अग्रपङ्क्तिमा पर्ने गरेका छन् । मोबाइल सेटहरूको व्यापार पनि देशमा निकै फस्टाएको छ । तर, आयातित सामानको व्यापार गरेर मात्रै देशको अर्थतन्त्रलाई उल्लेखनीय लाभ हुन सक्दैन । देशको अर्थतन्त्रलाई सही दिशा दिनका लागि उत्पादनमूलक क्षेत्रको विस्तार हुनैपर्दछ । त्यसले देशमा रोजगारीको सृजना गर्दछ भने देशबाट पैसा पनि बाहिर जाँदैन । त्यसैले मोबाइल फोनको उत्पादन पनि देशमै गर्नसके त्यसले अर्थतन्त्रलाई सकारात्मक लाभ दिन सक्थ्यो । तर, निकट भविष्यमा त्यस्तो हुन सक्ने सम्भावना देखिँदैन । त्यसैले कि त मोबाइलको उत्पादनमूलक प्रयोग हुन सक्नुपर्छ कि यसको उत्पादन नै देशभित्रै हुन सक्नुपर्छ । अनियन्त्रित रूपमा आयात मात्रै भइरहने हो भने गत वर्ष सुन आयातले अर्थतन्त्रलाई पारेको जस्तो असर मोबाइलले नपार्ला भन्न सकिँदैन ।
मोबाइल फोनको उत्पादनशील प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि किसानहरूले मोबाइल फोनका माध्यमबाट कृषिउपजको बजारभाउ तथा स्थितिका बारेमा जानकारी लिन सक्छन् । यसबाट कृषिको व्यावसायिक विस्तार गर्न सघाउ पुग्छ । भारत तथा बङ्गलादेशमा मोबाइल फोनको प्रयोग कृषिलाई व्यावसायिक बनाउन प्रयोग गरिएका प्रशस्त उदाहरण छन् । नेपालमा पनि केही मात्रामा त्यस्तो भएको हुन सक्छ । तर, समग्रमा नेपालमा मोबाइलको व्यावसायिक प्रयोग हुन सकेको छैन । त्यसैले मोबाइल फोनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सकारात्मक योगदान दिन सकेको छैन ।
दूरसञ्चारको क्षेत्रमा नेपालले तीव्र विकास गरेको छ भनेर हामी गर्व गरिरहेका छौं । तर, तीव्र रूपमा विकास भइरहेको दूरसञ्चार क्षेत्रले देशको आर्थिक विकासमा सकारात्मक होइन, नकारात्मक योगदान दिइरहेको तर्फहामी कसैको ध्यान जान सकेको छैन । अब पनि मोबाइल प्रयोगका सन्दर्भमा सचेतता अपनाउन सकिएन भने देशलाई 'मोबाइल श्राप’ लाग्ने निश्चित छ ।