नेपाल राष्ट्रबैङ्कका गभर्नर डा. युवराज खतिवडाले आफैं ऋण लिने व्यवसायीले बैङ्क खोल्न नपाउने व्यवस्था गर्न लागेको बताएका छन् । उनको यो भनाइ सकारात्मक छ । किनभने यसो गर्न सके प्रवर्द्धक आफैंले ऋण लिन (इन्साइडर लेण्डिङ हुँदा) बैङ्कलाई आइपर्ने जोखिम कम हुन्छ । गभर्नरले यसो भनेकै दिन बैङ्कका सीईओहरूले जोखिम व्यवस्थापनको अधिकार नभएकाले बैङ्कहरू जोखिममुक्त हुन नसकेको तथ्य र्सार्वजनिक गरेका छन् । जोखिम
व्यवस्थापनको जिम्मेवारी लिने बैङ्कका सञ्चालकहरू यस विषयका जानकार नभएकाले समस्या थपिएको गुनासो उनीहरूको छ । यो अझ गम्भीर विषय हो । यसले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरू गम्भीर जोखिममा रहेको वास्तविकता उजागर हुन्छ ।
नेपालमा सबै किसिमबाट पैसा कमाएका मानिसहरूले बैङ्क तथा वित्तीय संस्था खोलेका छन् । यस्तो अवस्थामा बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने व्यक्तिको व्यवस्थापकीय र बौद्धिक योग्यता पैसासँगै उम्रेर आउँदैन । नेपाल राष्ट्रबैङ्कले यस्ता संस्थाको अनुमति दिँदा सञ्चालकको योग्यता, क्षमता, आम्दानीको स्रोत, कर बुझाएको/नबुझाएको लगायतका विषय हेर्ने गरेको छैन । उल्लिखित विषयमा छानबीन गरेर वा योग्यता तोकेर मात्र बैङ्क तथा वित्तीय संस्थाको अनुमति दिने व्यवस्था यति धेरै सङ्ख्यामा यस्ता संस्था खुल्नुअघि नै हुनुपथ्र्यो । त्यसो नगरिँदा अयोग्य सञ्चालकले बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्ने र उनीहरूको हुकुममा ऋण दिने/लगानी हुने काम हुँदै आएको छ । त्यसले बैङ्क तथा वित्तीय संस्थाहरूको जोखिमलाई बढाएको सीईओहरूको भनाइ तर्कसङ्गत छ ।
संस्थाभित्र जोखिम व्यवस्थापन समिति र आन्तरिक लेखापरीक्षण समिति सञ्चालक समितिको मातहतमा रहने व्यवस्थापकीय अभ्यास अहिले प्रचलनमा छ । संसारभरि यस्तै प्रकृतिको व्यवस्था रहिआएको छ । त्यस्ता समिति संस्थाको प्रमुख कार्यकारी अधिकृतको प्रभावबाहिर रहनु व्यवस्थापकीय अधिकारपृच्छाका दृष्टिले उपयुक्त हो । तर, संस्थाका सञ्चालकहरूले जोखिम व्यवस्थापनजस्ता प्राविधिक विषयमा सक्षम नभई अधिकार मात्र प्रयोग गर्न पाउँदा संस्थागत सुशासनको अवस्थामा झन् प्रतिकूल असर पर्छ । यदि सञ्चालकहरू बैङ्क चलाउन योग्य वा सक्षम नदेखिए नियमक निकायले अनुमति दिनुअघि नै छानबीन गर्नुपर्यो । यस दृष्टिले हेर्दा नेपाल राष्ट्रबैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई अनुमति दिनुअघि पर्याप्त गृहकार्य नगरेको प्रष्ट देखिन्छ ।
अहिलेको सङ्क्रमणकालमा बैङ्कहरूको जोखिम व्यवस्थापन महत्वपूर्ण मुद्दा हो । सबै किसिमको आम्दानीको स्रोत भएका मानिसहरूले बैङ्क खोल्ने गर्दै आएको अवस्थामा सञ्चालकहरूले प्रमुख कार्यकारी अधिकृतहरूलाई विश्वासमा लिएर जोखिम व्यवस्थापनको काम गर्नुपर्छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूले बैङ्क तथा वित्तीय संस्थाहरूको जोखिम व्यवस्थापनको मुद्दा अत्यन्त महत्वपूर्ण समयमा उठाएका छन् । यो राष्ट्रकै चासो र सरोकारको विषय भएकाले यसको गुणस्तरमा समयसापेक्ष उन्नति हुनु अपरिहार्य छ । त्यसैले पढेलेखेका र बुझेका बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरू यस विषयमा कुरा उठाउँदा आफ्नो जागीर जाला कि भनेर डराउनु जरूरी छैन । उनीहरूले यस विषयलाई किनारा लगाई छोड्न सके भने मात्र नेपालको वित्तीय प्रणाली क्रमशः जोखिममुक्त हुँदै जानेछ ।