पूर्वाधार निर्माणमा तदर्थवादी शैली
पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग, काठमाडौं-तराई फाष्ट ट्रयाकलगायतका सडकहरू विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विना नै निर्माणको चरणमा प्रवेश गरेका छन् । योजनाविना नै काम गर्ने सरकारको यो पुरानो कार्यशैलीको निरन्तरता हो । सम्भाव्यता अध्ययनका आधारमा मात्रै र कतिपयमा त्यस्तो अध्ययनसमेत नगराई सडकहरू निर्माण गरिँदा प्राविधिक तथा आर्थिक दुवै दृष्टिले तिनमा समस्या देखिन्छ । यो हाम्रो अनुभवले सिद्ध गरिसकेको पक्ष हो ।
नेपालमा पूर्वाधार निर्माण योजना छनोट प्राविधिक अध्ययनभन्दा पनि कुनै प्रभावशाली व्यक्तिको स्वार्थमा हुने समस्या पहिलेदेखिकै हो । गाउँको मुखियाले फलानो ठाउँबाट सडक बनाऊ भनेको आधारमा निर्माणको काम हुने परम्परा पुरानै हो । त्यो परम्परा अहिलेसम्म पनि छुट्न सकेको छैन । अहिले यस्तो प्रवृत्ति राष्ट्रिय मुखियाहरूमा सरेको छ ।
कुनै पनि विकास आयोजना निर्माण गर्न थाल्नुअघि त्यसको विस्तृत अध्ययन हुनु जरुरी छ । त्यो अध्ययनपश्चात् विभिन्न विकल्पसमेत प्रस्तुत गरेर सबैभन्दा उपयुक्त विकल्पको विकास आयोजनाको निर्माण गर्नुपर्ने हो । यसरी उपयुक्त विकल्प छनोट गर्दा लागत, सुविधा र त्यस आयोजनाबाट प्राप्त हुने प्रतिलब्धिलाई केन्द्रमा राखेर गर्नुपर्छ । कुनै पनि आयोजना निर्माण गर्दा त्यसको दिगोपनलाई पनि ध्यान दिनुपर्छ । कम लागतमा बढी काम कसरी गर्न सकिन्छ भनेर विश्लेषण हुनु आवश्यक छ । तर, त्यो केही नगरी सम्भाव्यता अध्ययनका आधारमा मात्रै आयोजनाको निर्माण थाल्दा बढी लागत लाग्ने, प्राविधिक रूपमा अनुपयुक्त हुने, सम्पन्न आयोजना दिगो नहुने लगायतका समस्या नेपालमा बारम्बार दोहोरिने गरेका छन् ।
यस्ता आयोजना निर्माण हुने क्रममा विभिन्न राजनीतिक दलको प्रभावले पनि काम गर्ने गरेको छ । राजनीतिक दल तथा तिनका नेताहरू विशेषगरी सडक निर्माणको निर्णयमा हाबी हुँदै आएका छन् । आफूअनुकूलका स्थानमा र आफूले चाहेअनुरूप सीधा-घुमाउरो पारेर सडक निर्माण गराई आर्थिक तथा राजनीतिक लाभ लिने गरेका छन् । यस क्रममा विभिन्न राजनीतिक दलहरूबीच आपसमा द्वन्द्व भएर सडक निर्माणको काम प्रभावित हुने गरेको छ । राजनीतिक द्वन्द्वकै कारण एक ठाउँमा निर्माण भइसकेको सडक पुनः अर्को ठाउँमा सारेका उदाहरण मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा भेटिन्छन् । यस्ता क्रियाकलापले आयोजनाको लागतसमेत अनपेक्षित ढङ्गले बढ्ने गरेको छ ।
ठूला परियोजनाहरूको महत्त्व केही वर्षका लागि मात्र नभएर सयौं वर्षका लागि हुन्छ । त्यसैले त्यस्ता परियोजना निर्माण गर्दा दीर्घकालीन उपादेयतालाई ध्यान पुर्याउनुपर्छ । तर, नेपालमा पूर्वाधार निर्माणका क्रममा त्यसो गर्ने गरिएको छैन । त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग, काठमाडौं जोड्ने पृथ्वी राजमार्गलगायतका सडकहरू निर्माणका क्रममा पनि त्यस्ता कुरालाई वेवास्ता गरिएको थियो । त्यही भएर यी राजमार्गहरू इञ्जिनीयरिङका दृष्टिले कमजोर रहेका छन् ।
जग बलियो भए घर बलियो हुन्छ भन्ने नेपाली उखान नै छ । डीपीआर पनि कुनै पनि आयोजनाको जग हो । त्यसैले कुनै पनि अयोजनाको निर्माण गर्नुअघि त्यसको डीपीआर तयार हुनैपर्छ । त्यसो भयो भने आयोजनाको लागत, सुविधा तथा प्रतिफलका बारेमा विश्लेषण गर्न सकिन्छ । प्रत्येक आयोजनालाई विकल्परहित (जिरो अप्शन) मान्ने र तिनको निर्माणमा आवश्यक गृहकार्यसमेत नगर्ने परिपाटीले नेपालको पूर्वाधार निर्माणको प्रक्रियालाई सम्पूर्णतामा तदर्थवादी बनाएको छ । यो परिपाटीमा तत्काल परिवर्तन हुन आवश्यक छ ।