कपडा उत्पादनमा तुलनात्मक लाभ
नेपालका कपडा उद्योगहरू बन्द हुने अवस्थामा पुग्नुमा देशमा औद्योगिक वातावरण नहुनु त प्रमुख कारणका रूपमा रहेको छ नै, कपडा उत्पादनमा नेपालको तुलनात्मक लाभ नभएका कारण पनि यो क्षेत्र अघि बढ्न नसकेको हो । त्यसैले नेपालले कपडा उत्पादन बढाउने नै हो भने तुलानात्मक रूपमा बढी लाभ हुन सक्ने परम्परागत शीप भएका कपडा उद्योगमा जोड दिनुपर्छ । अथवा, तुलनात्मक लाभ भएका अन्य क्षेत्रको विकासमा लाग्नुपर्छ । तुलनात्मक लाभ नभएको क्षेत्रको विकास भएन भनेर रोइकराई गर्नुले कुनै अर्थ राख्दैन ।
कपडा उद्योगको कच्चापदार्थका लागि नेपाल पूर्णतः आयातमा निर्भर छ । यस उद्योगका लागि आवश्यक मेशिनरी पनि बाहिरी मुलुकबाटै आयात गर्नुपर्छ । विद्युत् आपूर्ति नहुने अवस्थामा इन्धन पनि आयात नै गर्नुपर्छ । यस्तो अवस्थामा भारत तथा चीनमा उत्पादन हुने कपडाभन्दा नेपाली कपडा सस्तो हुने अवस्था हुँदैन । र, यहाँ उत्पादन हुने कपडाले अन्तरराष्ट्रिय बजार वा स्वदेशी बजारमै पनि आयातित कपडासँग प्रतिस्पर्धा गर्न सक्दैन । यस्तो अवस्थामा नेपाली कपडा उद्योगहरूले केही मात्रामा आन्तरिक माग धान्नेबाहेक अन्य ठूलो योगदान दिन सक्दैनन् ।
नेपाली कपडा उद्योगमा पनि तुलनात्मक लाभ हुँदै नभएको भने होइन । परम्परागत नेपाली शीप भएका ढाका, खाँडी र अल्लोबाट बन्ने परम्परागत कपडालगायतका कपडा उद्योगबाट नेपालले प्रशस्त लाभ लिन सक्छ । ढाका तथा खाँडीका कपडा उत्पादन गर्ने शीप नेपालीहरूसँग मात्रै छ । त्यसैले यस किसिमका कपडामा प्रशस्त मूल्य अभिवृद्धि हुने सम्भावना हुन्छ । त्यसैले अन्तरराष्ट्रिय बजारमा नेपाली ढाका तथा खाँडी कपडाको प्रवर्द्धन गर्न सकियो भने त्यसबाट नेपालले प्रशस्त लाभ लिन सक्छ । तर, त्यसका लागि परम्परागत रूपमा कपडा उत्पादनका लागि प्रयोग हुँदै आएको शीपको जगेर्ना गर्नु र उत्पादन प्रविधिबारे सम्भावित क्रेताहरूसम्म जानकारी पुर्याउनु आवश्यक छ । यदि त्यो हाते शीपलाई बेवास्ता गरियो भने त्यसको हालत पनि पश्मिनाको जस्तै हुने सम्भावना हुन्छ । स्कटहरूले ह्विस्की उत्पादका लागि प्रयोग गर्ने परम्परागत शीपलाई जगेर्ना गर्न सकेकै कारण अहिले 'स्कच ह्विस्की’ विश्वभर प्रख्यात छ । त्यसैले यदि नेपालले परम्परागत शीपमा आधारित कपडाहरूको अन्तरराष्ट्रिय प्रवर्द्धन गर्न सक्ने हो भने त्यसैको निर्यातबाट अन्य किसिमको कपडा आयात गर्न सक्ने र विदेशी मुद्रा आर्जन हुने सम्भावना हुन्छ ।
नेपाली कपडा उद्योगको विकासका लागि अध्ययन अनुसन्धान पनि भएको छैन । यदि यस सम्बन्धमा वैज्ञानिक अनुसन्धान हुने हो भने त्यसका भिन्न किसिमका सम्भावना पनि देखिन सक्छन् । उदाहरणका लागि नेपालको भिन्न प्रकारको हावापानीका कारण यहाँ छुट्टै विशेषतासहितको कपास, अल्लोलगायतका धागो उत्पादन हुन सक्ने र त्यसबाट कपडा उत्पादन पनि गर्नसकिने सम्भावना छ । कपडाको क्षेत्रमा मात्रै होइन, अन्य धेरै क्षेत्रमा यस्ता अनुसन्धान जरुरी छ ।
कुनै पनि देश सबै किसिमका उत्पादनमा आत्मनिर्भर हुन्छु भनेर हुन सक्दैन । कपडाको उत्पादन र बजारका सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । त्यसैले तुलनात्मक लाभका क्षेत्र पहिचान गरी त्यस क्षेत्रको उत्पादनमा केन्द्रित हुँदा नै देशको दीर्घकालीन विकासमा फाइदा पुग्ने हुन सक्छ । बढी तुलनात्मक लाभका क्षेत्रहरूको विकास देशभित्र गर्ने तथा कम तुलनात्मक लाभ भएका वस्तुहरू आयात गर्नु सहज व्यावसायिक विवेक हो । उदाहरणका लागि साहसिक पर्यटन, जलविद्युत्, चिया, कफीलगायतका कृषिउपज नेपालका तुलनात्मक लाभका क्षेत्र हुन सक्छन् । तर, ती क्षेत्रमा पनि अनुसन्धानको अभाव छ । अर्को विचारणीय पक्ष के हो भने एकपटक तुलनात्मक लाभ भएको क्षेत्र सधैं रहिरहँदैन । नयाँ सम्भावनाका क्षेत्रहरूका बारेमा निरन्तर अनुसन्धान आवश्यक पर्छ । त्यसैले कपडा मात्रै होइन, कुनै पनि क्षेत्रको विकास भएन भन्ने मात्र होइन, विकास नहुनुको कारण नै खोज्नुपर्छ । त्यसो गर्दा यदि यस्ता क्षेत्रमा तुलनात्मक लाभ देखिएन भने जहाँ लाभ हुन्छ, त्यही क्षेत्रको विकासमा लगानी केन्द्रित गर्नुपर्छ ।
Admin 2011-03-03