'थ्रीडी एनिमेशन’को व्यावसायिक सम्भाव्यता
माया एनिमेशन एकेडेमीले 'वान फिल्म थ्रिडी एनिमेशन च्याजेञ्ज’ आयोजना गर्न लागेको छ । विश्वव्यापी रूपमा 'थ्रडी एनिमेशन’को बजार द्रुत गतिले बढिरहेको अवस्थामा नेपालमा पनि यसको व्यावसायिक परिमाणमा काम हुन थालेको यसले प्रमाणित गरेको छ । नेपाली युवा एनिमेटरहरूमा रहेको सृजनात्मकता एवम् ऊर्जामार्फत नेपालको संस्कृतिलाई समेत एनिमेशनमा प्रस्तुत गर्न सक्ने हो भने यसको ठूलो व्यावसायिक सम्भावना छ ।
'थ्रीडी एनिमेशन’का माध्यमबाट कुनै पनि विषयलाई कल्पना गरेअनुरूप नै चलचित्रमा देखाउन सकिन्छ । यसबाट जस्तासुकै असम्भव लाग्ने घटनाहरूको भिडियो बनाउन सकिन्छ । त्यसै कारण थ्रीडी फिल्म तथा भिडियोहरूको लोकप्रियता बढ्दै गएको छ ।
नेपाल कला र संस्कृतिका क्षेत्रमा निकै धनी छ । यहाँ रोचक लोककथा/गाथा तथा पुराणहरू निकै लोकप्रिय रहेका छन् । तर, तिनीहरू अहिलेसम्म श्रव्य मात्रै रहेका छन् । यदि तिनीहरूलाई 'थ्रीडी एनिमेशन’का माध्यमबाट दृष्य रूपमा प्रस्तुत गर्न सकियो भने तिनले निश्चय पनि अपूर्व सफलता पाउन सक्नेछन् । नेपालका एनिमेटरहरूले यसतर्फ पनि सोच्न र प्रयोग गर्न सक्नुपर्छ । यदि नेपालको मौलिकतालाई 'थ्रीडी एनिमेशन’ चलचित्रमार्फत विश्वसामु प्रस्तुत गर्न सकियो भने त्यसले नेपालको प्रसिद्धिलाई त बढाउनेछ नै, सँगसँगै नेपाली एनिमेशन उद्योगको प्रवर्द्धनमा पनि सहयोग पुग्नेछ ।
नयाँ प्रविधि र प्रयोग नेपालमा निकै सफल हुने गरेको छ । नयाँ क्षेत्रमा लगानी गर्न चाहनेहरूका लागि एनिमेशन व्यवसाय पनि एउटा आकर्षण हुन सक्छ । अहिलेसम्म शुरुआती चरणमा नै रहेको यस क्षेत्रमा योग्य र सृजनात्मक व्यवसायीको प्रवेश हुन सक्यो भने निश्चय पनि यसको विकास हुनेछ । यो क्षेत्र रोजगारीका लागि पनि आकर्षक छ । कम्प्युटरबाट सबै काम गर्न सकिने स्वतन्त्र र सृजनशील पेशा भएकाले एनिमेशनप्रति युवाहरूको आकर्षण पनि छ । राम्रा एनिमेटरहरू अहिले बेरोजगार बन्नुपर्ने अवस्था छैन । एनिमेशनसम्बन्धी शिक्षा दिने संस्थाहरूले पनि अहिले राम्रो व्यवसाय गरिरहेका छन् ।
अहिले विभिन्न कम्पनीहरूले विदेशीको एनिमेशनको काम (आउट सोर्सिङ) गर्ने गरेका छन् । त्यो व्यवसाय पनि नेपालमा निकै फस्टाएको छ । नेपालमा कम खर्चमा त्यस्तो काम गर्न सकिने भएकाले विदेशीहरूले नेपालमा एनिमेशनको काम आउट सोर्सिङ गराइरहेका छन् । तर, नेपालकै प्रयोगका लागि भने केही एनिमेटेड विज्ञापन बन्नुबाहेकका उल्लेखनीय काम हुन सकेका छैनन् । यसो हुँदा नेपालीले प्रयोग गरेको सीपले विदेशी लाभान्वित हुने गरेका छन् । विदेशीले गर्ने आउट सोर्सिङलाई नराम्रो मान्न सकिँदैन, तर नेपालीकै लागि बढीभन्दा बढी एनिमेटेड सामग्रीको उत्पादन हुन भने जरुरी छ । नेपाली विज्ञापन, फिल्म तथा टेलिभिजन कार्यक्रमहरूमा थ्रीडी एनिमेशनमा प्रयोग गर्न सक्दा त्यसबाट निकै ठूलो लाभ मिल्ने देखिन्छ ।
अहिले विश्वमा एनिमेशन उद्योगमा ३ सय २० अर्ब डलर लगानी रहेको छ । छिमेकी मुलुक भारतमा पनि एनिमेशनको बजार निकै विस्तार भइसकेको छ । विश्वमा एनिमेटेड सिनेमा बन्नेक्रम पनि तीव्र गतिमा बढेको छ । निकै ठूलो बजेटमा बन्ने सिनेमाहरू पनि एनिमेटेड नै हुने गरेका छन् । यस्ता सिनेमाहरू हलिउड तथा बलिउडमा सफल र धेरै पुरस्कार पाउनेको पङ्क्तिमा पर्ने गरेका छन् । तर, नेपालमा यसको त्यति धेरै प्रयोग हुन सकेको छैन । भविष्यमा भने यसको प्रयोग निश्चित रूपमा बढ्नेछ, यो उद्योगकै रूपमा विकसित हुनेछ भन्ने अन्य देशका उदाहरणहरूले प्रमाणित गरेका छन् ।