पर्यटक ठगीः क्षणिक कामको दीर्घकालीन असर
पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड दिँदा ट्रेकिङ एजेन्सीहरूले तोकिएको भन्दा बढी शुल्क लिएर ठग्ने गरेको पाइएको छ । पर्यटन क्षेत्रमा विभिन्न प्रकारका ठगी भइरहेको सन्दर्भमा यसले त्यसमा अर्को शृङ्खला थपेको छ । टिम्स कार्ड वितरणको अनुगमन गर्ने संस्था नेपाल पर्यटन बोर्डको कमजोरी तथा वितरण गर्ने ट्रेकिङ एजेन्सीहरूको गैरजिम्मेवारीका कारण यस्तो भएको बुझ्न गाह्रो छैन । यसरी पर्यटकमाथि हुने ठगीका कारण नेपालको पर्यटन उद्योगको विकासमा गम्भीर आघात पार्नेछ ।
पदयात्रामा जाने पर्यटकको सुरक्षाको प्रत्याभूति दिन तथा गैरकानूनी पदयात्रालाई रोक्ने उद्देश्यले टिम्सकार्डको व्यवस्था गरिएको हो । तर, यो कार्ड वितरण गर्दा नै पर्यटकसँग बढी शुल्क लिएर गैरकानूनी काम गरिन्छ भने त्यसको प्रभावकारितामा पनि शङ्का गर्नुपर्ने हुन्छ । पर्यटकको सुरक्षाका लागि लागू गरिएको कार्डलाई पर्यटन व्यवसायीले ठग्ने उपकरणका रूपमा प्रयोग गर्छन् भने त्योभन्दा विडम्बनापूर्ण केही हुन सक्दैन ।
पर्यटन ह्वात्त आएर सुक्ने बर्खाको खोलाजस्तो व्यवसाय होइन । यो दीर्घकालीन व्यवसाय हो र यस क्षेत्रमा हुने गैरकानूनी र अनैतिक कामको असर पनि दीढ़गकालीन नै हुने गर्छ । अहिले छोटो समयका लागि लाभ लिने उद्देश्यले कुनै पर्यटन व्यवसायीले ठगी गर्छ भने त्यसले सिङ्गो पर्यटन व्यवसायलाई नै नकारात्मक असर पर्छ । नेपालको पर्यटन व्यवसाय दिगो रूपमा सञ्चालन हुन सक्यो भने मात्र व्यवसायीको भविष्य पनि सुरक्षित हुने हो । यसतर्फपनि निजी व्यवसायीले सोच्नुपर्छ । अन्यथा नेपालको पर्यटन व्यवसाय धराशायी हुन धेरै दिन लाग्नेछैन ।
नेपालको पर्यटन व्यवसायमा धेरै किसिमका विकृतिहरू विद्यमान छन् । नेपाल आउने पर्यटकले विमानस्थलमा झरेपछि होटल पुग्दासम्म सबैभन्दा धेरै असजिलो व्यहोर्नुपर्छ । विमानस्थलमा अध्यागमनका कर्मचारीले दुःख दिने, कन्भेयरबाट आउँदा सामान हराउने, होटलका एजेण्ट तथा ट्याक्सीहरूले तानातान गरी पर्यटकहरूलाई दुःख दिने तथा ठग्ने प्रवृत्ति नेपालमा व्यापक छ ।
यसको सीधा घाटा नेपालको पर्यटन व्यवसायलाई पर्छ । कुनै पर्यटक नेपाल छिर्ने पहिलो पाइलामै दुःख पाउँछ भने न त्यो दोहोर्याएर नेपाल आउँछ, न त अरूलाई नै यहाँ आउने सल्लाह दिन्छ । अझ उसले यहाँ बसुञ्जेल पाउने दुःख र ठगीको कहानी लामै हुने गर्छ । पर्यटकलाई दुःख दिएर र ठगेर आफैंलाई घाटा हुने यस क्षेत्रका मानिसले नबुझेसम्म यो समस्या समाधान हुँदैन ।
नेपाल पर्यटन वर्षशुरू हुन अब एक महीना पनि बाँकी छैन । १० लाख पर्यटक भियभयाउने लक्ष्य लिइएको पर्यटन वर्षाई सफल बनाउन यस क्षेत्रका विकृतिहरू निर्मूल पार्नुपर्ने हुन्छ । पर्यटन वर्षघोषणा गरेर मात्र यो सफल बन्ने होइन । यदि कुनै पर्यटकले नेपालमा रहँदा ठगिएको महसूस गर्छ भने त्यो पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो घाटा हो । त्यसैले पर्यटन क्षेत्रका टिम्सकार्डमा ठगीलगायतका समस्या समाधान गर्न सरकार, पर्यटन बोर्ड तथा सम्बन्धित निजी क्षेत्र सबै जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ ।