एक्सिलेन्स अवार्डको महत्त्व
नेपाल उद्योग वाणिज्य महासङ्घले आज शुक्रवार कर्पोरेट क्षेत्रका तीन विधामा 'नेशनल एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै छ । नेउवा महासङ्घजस्तो देशभरि आफ्नो सञ्जाल भएको उद्योगी-व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाले यस किसिमको पुरस्कारको व्यवस्था गर्नु आफैमा सकारात्मक पहल हो । पुरस्कारका लागि ठूला, मझौला र साना सबै प्रकारका उद्यमीलाई समेट्ने गरी नेउवामहासङ्घले यो पुरस्कारको डिजाइन गरेको छ । निश्चय पनि यो निकै उत्साहप्रद पक्ष हो । यदि साँच्चै उत्कृष्ट र कुशल संस्था तथा व्यक्तिको छनोट पुरस्कारका लागि हुन सक्यो भने त्यसले निश्चय पनि सकारात्मक सन्देश दिन सक्नेछ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सन् २००० मा उत्कृष्ट काम गर्ने उद्यमलाई सम्मान गर्ने उद्देश्यले 'नेशनल एक्सिलेन्स अवार्ड’ शुरू गरेको थियो । 'एफएनसीसीआई नेशनल एक्सिलेन्स अवार्ड’लाई दुइ विधा थपेर विस्तार गरिएको छ । थपिएका विधामा 'पब्लिक एक्सिलेन्स र सर्भिस एक्सिलेन्स अवार्ड’ छन् । यो विस्तार प्रशंसायोग्य छ । यसले उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई थप प्रोत्साहन गर्नेछ ।
कुनै पनि पुरस्कारको सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको त्यसको विश्वसनीयता हो । यदि कुनै पुरस्कार विश्वसनीय छ र पाउनुपर्नेले मात्रै पाउँछ भने सानै भए पनि त्यसले सम्मान पाउँछ । यदि त्यसको विपरीत भयो भने पुरस्कार जति नै ठूलो भए पनि त्यसको महत्त्व हुँदैन । नेउवामहासङ्घले यो पुरस्कार पाउनेको छनोट विश्वप्रसिद्ध 'माल्कम बाल्ड्रिज अवार्ड’मा आधारित रहेर गरिने बताएको छ । एक्सिलेन्स अथवा सर्वोत्कृष्टता मापनमा नाफा तथा सरकारलाई तिरिने करलाई मात्रै मापदण्ड नबनाएर लगानीको प्रभावकारिता, उत्पादकत्व, मानवस्रोत र संस्थागत सुशासनसहितका समग्र पक्षलाई मूल्याङ्कन पद्धतिभित्र पारिनुले यसको महत्त्व बढेको छ । त्यसैले पनि यो पुरस्कारको विश्वसनीयतामा बढ्दै जाने अपेक्षा गर्न सकिन्छ ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको यो पुरस्कारले कति विस्तृत विषयगत र भौगोलिक क्षेत्रलाई समेट्छ भन्ने हो । नेउवामहासङ्घ देशभर आफ्नो सञ्जाल भएको संस्था भएकाले यसले देशैभरिका उद्यमीहरूलाई समेट्ने आशा गर्न सकिन्छ । उत्कृष्ट काम गर्ने उद्यमीहरू केन्द्र वा सीमित ठूला शहरमा मात्र हुन्छन् भन्ने होइन । दूरदराजका ठाउँहरूमा पनि छुट्टै र उत्कृष्ट काम गरिरहेका उद्यमी हुन सक्छन् । यदि यो पुरस्कारले ती क्षेत्रका उद्यमीहरूको उत्कृष्टतालाई सम्मान गर्न सक्यो भने यो आफैमा राष्ट्रियस्तरमै सम्मानित पुरस्कार बन्न सक्छ । त्यसको विपरीत सीमित क्षेत्रका पहुँचवाला उद्यमी-व्यापारीको वरिपरि मात्र यो पुरस्कार घुम्यो भने त्यसले त्यति ठूला महत्त्व नराख्न सक्छ । नेउवामहासङ्घले यो पक्षलाई निश्चय पनि विचार
गरेको होला ।
धेरै नाफा कमाउनु र सरकारलाई धेरै कर तिर्नु मात्र उत्कृष्ट कम्पनी हुनुको लक्षण होइन । उत्कृष्ट हुनका लागि त्यसबाहेक पनि अन्य धेरै कुराहरूले भूमिका निर्वाह गरिरहेका हुन्छन् । कुनै पनि संस्थाका बारेमा मूल्याङ्कन गरिन्छ भने त्यसको उत्पादकत्व, कुशलता तथा सुशासनलाई पनि ध्यान दिनुपर्छ । सबभन्दा महत्त्वपूर्ण कुरा त त्यसले देशको अर्थतन्त्र र विकासमा कस्तो योगदान दियो भन्ने हुन्छ । ती सबै पक्षलाई यो पुरस्कारले ध्यान दिएको छ भन्ने लाग्छ । किनभने नौ शीर्षक र ३१ उपशीर्षकमा आधारित रहेर पुरस्कारका लागि विजेता छनोट गरिने बताइएको छ ।
अहिले देशमा विभिन्न किसिमका पुरस्कारहरूको बाढी नै आएको छ । ती पुरस्कारहरूको भीडमा छुट्टै र विशिष्टीकृत हुनु निश्चय पनि चुनौतीपूर्ण छ । तर, 'एफएनसीसीआई एक्सिलेन्स अवार्ड’का लागि जुन रूपमा तयारी अघि बढाइएको छ, त्यसले निश्चित रूपमा यसलाई विशिष्ट पुरस्कार बनाउने आशा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले प्रदान गर्ने यो पुरस्कार साँच्चै उत्कृष्ट र सम्मानित होस्, शुभकामना ।
Admin 2011-03-04