शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एनआरएन कोषको अवधारणामा अस्पस्टता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ४ वर्षअघि घोषणा गरेको १० करोड डलरको नेपाल विकास कोष निर्माणको अवधारणापत्र तयार पारेको छ । यो कोष निर्माण गर्ने घोषणाले त्यतिखेर आम नेपालीमा एउटा उत्साह र उमङ्ग छाएको थियो । तर, यसको अवधारणापत्रले अहिले त्यो उत्साह र उमङ्गलाई स्वाट्टै घटाएको छ । एनआरएनएको कोष स्थापनासम्बन्धी अवधारणापत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिटयान्स सङ्कलन गरेर कोष निर्माण गर्ने भन्ने कुराले एनआरएनप्रति उर्लिएको आम नेपालीको त्यो उमङ्गमा केही कमी आएको हो । यो स्वाभाविक पनि हो ।

नेपालमा वर्षेनि ३ खर्बभन्दा बढी रेमिटयान्स भित्रिने गरेको छ । नेपाली युवाको वैदेशिक रोजगारीमा जाने बढ्दो चापले यो रकम अझै वृद्धि हुँदै जाने निश्चित छ । विशुद्ध रोजगारीका निम्ति विदेशिएका र निश्चित अवधिपछि नेपाल फर्कने त्यस्ता नेपालीलाई एनआरएनले एनआरएनकै कोटिमा राखे पनि आम नेपाली मानसिकता त्यस्तो छैन । नेपाली नागरिकता त्यागेर विदेशमै घरजम गरेर बसेकालाई नै आम नेपालीले गैरआवासीय नेपालीको दर्जामा राखेका छन् । अहिलेसम्म रेमिटयान्सका रूपमा नेपाल भित्रिइरहेको रकम एक ठाउँमा जम्मा हुन नसके पनि त्यसले हजारौं नेपालीको आर्थिक स्थितिमा परिवर्तन भने पक्कै पनि ल्याएको छ । गाँउगाँउसम्म पुगेको त्यो रेमिटयान्सले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको छ । एनआरएनएले अब त्यही रकम एकत्रित गरेर नेपाल विकास कोष बनाउने सोच राखेको यो अवधारणापत्रको मनशाय देखिन्छ । यदि त्यसो हो भने नेपालले उनीहरूबाट आर्थिक सहयोग र विकासका लागि गरेको अपेक्षा अर्थहीन हुनेछ ।

त्यसो त, एनआरएनएबाट नेपालमा केही भएको छैन भन्ने अर्थचाहिँ पटक्कै लगाउन मिल्दैन । यसअघि नै एनआरएनएबाट नेपालको परोपकारी कार्यमा ३५ करोडभन्दा बढी रकम लगानी भइसकेको छ । सिराहामा अस्पताल, पशुपतिमा किरियापुत्री घर, देवघाटमा वृद्धाश्रमलगायत परोपकारी कार्यमा एनआरएनएले दिल खोलेर सहयोग गरेको छ । यसबाहेक शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, जलविद्युत् र बैङ्किङ क्षेत्रमा पनि एनआरएनएको २० अर्बभन्दा बढी लगानी रहेको छ । परोपकारीबाहेक यी सबै पूर्णतः व्यावसायिक र नाफामुखी लगानी हुन् । तर, कोष निर्माणमा रकम सङ्कलन गर्न प्रस्तावित र यसअघि कोष निर्माणकै बेला प्रस्तावित अवधारणाले एनआरएनका नाममा राजनीति गर्न, सुकिला कपडा र टाइ लगाउनेहरूले खाडी मुलुक र मलेसियाबाट शारीरिक परिश्रम गर्नेहरूले पठाउने रकमलाई नै व्यवस्थापन गर्ने नाममा कोषमा हाल्न खोजेको देखिन्छ । यो र्सवथा आम नेपालीको अपेक्षाविरुद्धको कुरा हो ।

विशेषगरी गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमै लगानी गरेर आफ्नो र नेपाल दुवैको उन्नति गरोस् भन्ने आम नेपालीको चाहना हो । रोजगारीमा निश्चित अवधिका निम्ति विदेशिएका नेपाली त त्यसै पनि स्वदेशमै र्फकन्छन् । तर, नेपाल छोडेर विदेशमै बसोबास गरेका, उतैको नागरिकता लिएका र कमाइ उतै लगानी गरिरहेका गैरआवासीय नेपालीको रकमबाटै त्यस्तो कोष निर्माण होस् भन्ने नेपालीको अपेक्षा अत्यन्त उचित हो । र, त्यसै हुनुपर्छ । नेपालले दिने सुविधा र लगानी वातावरणमा एनआरएनएको आर्थिक लगानी हुने कुरा त्यसका वरिष्ठ व्यक्तिहरूबाट पटकपटक उजागर हुँदै आएको छ । विश्वको खुला अर्थनीतिले आज त्यो सुविधा जसले जहाँ पनि प्रयोग गर्न पाउँछ । एनआरएन मात्रै होइन, त्यस्तो सरल व्यवस्था मिलाउन सकेमा चिनियाँ, अमेरिकी वा जापानी जो पनि नेपालमा लगानी गर्न तम्सन्छन् भन्न अब हिचकिचाइरहनुपर्ने अवस्था छैन । त्यसैले नेपालकै पैसा एकत्रित गरेर केही गरेको देखाउन खोज्नुभन्दा विकसित देशमा बसेका, पढेलेखेका एनआरएनले आफ्नै स्रोत र साधनबाट नेपालको विकासमा मद्दत पुर्‍याउने पवित्र उद्देश्यले कोष निर्माण हुनुपर्छ ।