शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शहरी फोहोरको आर्थिक उपयोग
कस्तुरी ट्रेड लिङ्कले अबको २ वर्षभित्रमा काठमाडौंको फोहोर व्यवस्थापन गरी विद्युत् उत्पादन गरिसक्ने योजनाका साथ काम गरिरहेको छ । सधैं समस्याका रूपमा मात्र हेरिएको फोहोरको व्यवस्थापनको यो पहल र सृजनशील प्रस्तावलाई सकारात्मक रूपमा लिनुपर्छ । त्यसभन्दा पनि सकारात्मक कुरा के हो भने, यो काम निजीक्षेत्रबाट हुँदै छ । यसरी फोहोरको प्रयोग विद्युत् उत्पादनका लागि हुँदा त्यसबाट वातावरणीय र आर्थिक दुवै लाभ देशले लिन सक्छ ।

काठमाडौंको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या हुँदै आएको छ । काठमाडौं तथा अन्य शहरी क्षेत्रको फोहोर वास्तवमा व्यवस्थापन हुनसकेको छैन । यसलाई खोलानदी तथा ल्याण्डफिल्ड साइटमा लगेर फालिएको मात्र छ । तर, अहिले कस्तुरी ट्रेड लिङ्कले प्रस्ताव गरेजस्तै यसको वैकल्पिक उपयोगका बारेमा पहिल्यै सोचिएको भए फोहोरको समस्या पटकपटक बल्झिने थिएन । बरु फोहोरले नेपालको ऊर्जा माग पूर्ति गराउन केही हदसम्म भए पनि सहयोग पुग्न सक्थ्यो । जैविक फोहोरको माध्यमबाट बिजुली, बायोग्यास, कम्पोष्ट मललगायतको उत्पादन गर्न सकिने उदाहरण संसारका धेरै मुलुकले प्रमाणित गरिसकेका छन् । यसतर्फ पहिल्यै विचार पुर्‍याउन सकिएको भए अहिले विभिन्न निजी कम्पनीहरू यस क्षेत्रमा आइसकेका हुन्थे ।

विश्वका विभिन्न देशले शहरी फोहोर व्यवस्थापनका विभिन्न प्रविधि तथा पद्धतिको प्रयोग गरेका छन् । त्यसमध्ये जैविक फोहोरलाई नवीकरणीय ऊर्जा र कम्पोष्ट मल तथा अजैविक फोहोरको पुनःप्रयोग उत्तम विकल्पका रूपमा देखिन आएको छ । स्पेनमा कुल ऊर्जा आपूर्तिको ७ प्रतिशत हिस्सा शहरी फोहोरबाट उत्पादित बिजुलीले गर्ने गरी काम भइरहेको छ । 'नवीकरणीय ऊर्जा’ (रिन्युएबल इनर्जी) जर्नलको हालैको अङ्कमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार स्पेनमा फोहोरबाट ८ दशमलव १३ देखि २० दशमलव ९५ टेरावाट/घण्टा विद्युत् उत्पादन गर्न सकिन्छ, जसले कुल विद्युत् मागको ७ दशमलव २ प्रतिशत हिस्सा धान्न सक्छ । यसप्रकार यो योजना सफल भयो भने शहरी फोहोर व्यवस्थापनमा स्पेन एउटा नमूनाका रूपमा विकसित हुन सक्छ । अमेरिका, जापान, जर्मनीलगायतका देशमा पनि शहरी फोहोर व्यवस्थापनबाट विद्युत् उत्पादन भइरहेको छ । हाम्रै छिमेकी देश भारतमा पनि यसको सफल प्रयोग भएको छ ।

नेपालमा पनि विभिन्न नगरपालिकामा शहरी फोहोरको प्रयोगबाट ऊर्जा उत्पादनका लागि बायोग्यास प्लाण्ट जडान भएका छन् । यो कार्यक्रमलाई पीपीपीयूइले सहयोग पनि गरेको छ । काठमाडौं महानगरपालिकाले पनि कम्पोष्ट मल बनाउन तथा बायोग्यास उत्पादनका लागि फोहोरलाई वर्गीकरण गरी राख्नका लागि घरघरमा फोहोर राख्ने भाँडाहरू वितरण गरेको थियो । तर, यी कार्यक्रमले आशा गरेजस्तो सफलता हासिल गर्न सकेका छैनन् । त्यसो हुन नसक्नुमा शहरी फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर त्यसको वैकल्पिक प्रयोग गर्नेतर्फ उल्लेखनीय पहल नहुनु नै हो ।

अहिलेसम्म फोहोरलाई फोहोरका रूपमा मात्र लिने र व्यवहार गर्ने काम भएको छ । यदि यसलाई नै अवसरका रूपमा लिने र वैकल्पिक प्रयोग गर्ने हो भने फोहोर अभिशाप होइन, वरदान साबित हुन सक्नेछ । कस्तुरी ट्रेड लिङ्कले फोहोरको प्रयोगबाट विद्युत् उत्पादन गर्नका लागि गरेको प्रयासले पनि यसलाई पुष्टि गरेको छ । कस्तुरीको यो प्रयासले आर्थिक तथा वातावरणीय दुवै लाभ हुनेछ । उपत्यकाबाहिरका शहरहरूमा पनि यस किसिमका प्रयासलाई प्रोत्साहन गर्नुपर्छ ।