काठमाडौंलाई व्यवस्थित बनाउने पहल
काठमाडौं महानगरपालिकामा शुरू हुने भएको दिगो शहरी यातायात आयोजना स्वागतयोग्य त छ । तर, यसले मेलम्ची खानेपानी परियोजनाकै नियति भोग्ला भन्ने डर पनि छ । एशियाली विकास बैङ्कले आर्थिक सहयोग गर्ने भन्दैमा योजना सम्पन्न हुने ग्यारेण्टी हुँदैन । मेलम्ची खानेपानी परियोजनामा पनि एशियाली विकास बैङ्कको सहयोग छ । कुनै पनि आयोजना, परियोजना वा योजनाको कार्यान्वयन सम्बन्धित निकायको क्षमता र त्यसले जुटाउन सक्ने जनसमर्थन वा जनसहभागितामा निर्भर गर्दछ । सरकारी कर्मचारीले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाले त्यस्तो जनर्समर्थन वा जनसहभागिता जुटाउन सक्नेमा भरोसा गर्ने पर्याप्त आधार अझै बनिसकेको छैन ।
यो आयोजनाले काठमाडौं महानगरपालिकाभित्र पैदलयात्रु मार्ग र पार्किङस्थल निर्माण, बसपार्क र सडकको आकार विस्तार, ट्रलीबसको पुनः शुरुआतजस्ता कार्यक्रम ल्याएको छ । तीमध्ये केही मात्र राम्ररी कार्यान्वयन भए भने काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका क्षेत्रमा धेरै सुधार हुने पक्का छ ।
नेपाल पर्यटन वर्षशुरू हुन लागेको सन्दर्भमा सम्पदा क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर गरिन थालेको सुधारलाई निश्चय पनि सकारात्मक रूपमा लिनुपर्छ । काठमाडौं उपत्यकाबाट प्रदूषणयुक्त सवारी साधनलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने जुन योजना निर्माण गरिएको छ, त्यो कार्यान्वयन भएमा प्रदूषणको पराकाष्टामा पुगेको काठमाडौं उपत्यकाको वातावरणलाई केही हदसम्म राहत मिल्ने सम्भावना छ ।
काठमाडौं अति नै अव्यवस्थित शहरका रूपमा विकास भएको छ । यहाँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडकहरूमा घण्टौंको जाम हुने समस्या छ । सडकपेटी साँघुरो भएर पैदलयात्रीहरूले ठूलो समस्या बेहोरिरहेका छन् । यस्तो अवस्थामा काठमाडौंको यातायात व्यवस्थापनमा आधारभूत परिवर्तन अति नै जरुरी बनिसकेको छ । तर, पूर्वाधार बनाएर मात्र पुग्दैन । त्यसको मर्मतसम्भार गर्ने क्षमता सम्बन्धित निकायमा चाहिन्छ । साथै, स्थानीय उपभोक्तामा पनि त्यसको सदुपयोग गर्ने संस्कृति चाहिन्छ । काठमाडौंका सडकबत्ती, ट्राफिक बत्ती, ढलप्रणाली आदिको अवस्था हेर्दा यहाँ त्यस्तो क्षमता र संस्कार नभएको प्रमाणित हुन्छ । तसर्थ, यस दिशामा पनि सँगसँगै प्रयास गर्नुपर्ने खाँचो छ ।
कुनै पनि शहर नयाँ जमानासँग मिल्ने गरी व्यवस्थित रूपमा विकास हुन सकेन भने दीर्घकालमा त्यो मानवविहीन हँदै जाने उदाहरणहरू विश्वमा प्रशस्त छन् । कुनै शहर अव्यवस्थित हुँदै जाँदा सुविधायुक्त नयाँ शहरहरूमा मानिसहरू सर्ने क्रम शुरू हुन्छ । भारतका बनारस, पुरानो दिल्लीलगायतका शहर त्यसका उदाहरण हुन् । काठमाडौँले पनि त्यही नियति भोग्नुपर्ने अवस्था देखिन थालेको बेला यो नयाँ आयोजना आएको छ । दीर्घकालसम्म काठमाडौँ शहरलाई जीवित राखिरहनका लागि पनि ती सबै क्षेत्रको व्यवस्थित विकास हुन ढिलो भइसकेको छ ।
केही विशेषज्ञहरूले काठमाडौंको शहरीकरणलाई अब व्यवस्थित गर्न नसकिने बताइरहेका छन् । तर, काठमाडौंलाई व्यवस्थित नगरी नहुने चुनौती छ । किनभने काठमाडौं देशको राजधानी हो र तत्कालका लागि यसलाई सार्न सकिने अवस्था छैन । भोलिका दिनमा काठमाडौंको जनसङ्ख्या र यहाँ हुने क्रियाकलाप अझै थपिने अवस्था छ । त्यसैले काठमाडौंको सवारी मात्र होइन, अन्य क्षेत्रलाई पनि व्यवस्थित गर्नु आवश्यक छ । कार्यान्वयन हुन लागेको दिगो शहरी यातायात व्यवस्थापन आयोजनाले काठमाडौंलाई व्यवस्थित गर्ने दिशामा थोरै भए पनि योगदान दिनेछ ।