वाष्पबिजुली : ऊर्जाको वैकल्पिक स्रोत
पूर्वाञ्चलका कागज तथा चिनी उद्योगहरूले बाफबाट विद्युत् उत्पादन गरी आफूलाई आवश्यक ऊर्जा आपूर्ति गरिरहेका छन् । केहीले उत्पादनको सोच बनाएका छन् । देशले उच्च ऊर्जासङ्कट बेहोरिरहेको अवस्थामा गरिएको यो काम निश्चय नै उदाहरणीय छ । खेर जाने वाष्पस्रोतको पुन:उपयोग हुँदा उद्योगहरूको 'ऊर्जा प्रभावकारिता’ (इनर्जी इफिसियन्सी) स्वत: बढ्छ । खेर जाने ऊर्जालाई त्यही उद्योगभित्र पुन:प्रयोग गर्न सक्दा ऊर्जा लागतसमेत कम पर्छ । यदि नेपाली उद्योगले यस किसिमको प्रविधिलाई अपनाए भने केही मात्रामा भए पनि लोडशेडिङबाट राहत पाउन सक्छन् । सरकारले ऊर्जा उपलब्ध गराइदिएन भनेर कराउँदै हिँड्नुभन्दा उद्योगीहरूले यो विधि प्रयोग गरेर आत्मनिर्भर बन्नु बुद्धिमानी हुन्छ ।
सबै प्रकारका उद्योगले कुनै न कुनै रूपमा ऊर्जाको प्रयोग गर्छन् । तर, प्रयोग भएको ऊर्जाको कति प्रतिशतचाहिँ सदुपयोग हुन्छ भन्ने कुरा तिनै उद्योगको ऊर्जा प्रभावकारिताका आधारमा निर्धारण हुन्छ । कुनै पनि उद्योगको यस्तो ऊर्जा प्रभावकारिता शतप्रतिशत हुँदैन । यस्तो अवस्थामा प्रयोग भएको ऊर्जामध्ये केही भाग ताप वा बाफका रूपमा बाहिर जान्छ । उद्योगहरूले त्यो ताप (बाफमा रुपान्तरण गरी) वा बाफमा र्टबाइन जोडेर विद्युत् उत्पादन गर्न सक्छन् । विद्युत् उपलब्ध नभएको समयमा आफैले उत्पादन गरेको विद्युत्बाट उनीहरूले उद्योग चलाउन सक्छन् । यो प्रयोग विकसित देशहरूमा धेरै हुने गरेको छ । तर, नेपालका उद्योगीहरूले यस विषयमा कम ध्यान दिएको देखिन्छ । पूर्वाञ्चलका उद्योगहरूले यस किसिमको बाटो देखाउने जुन काम गरेका छन्, त्यो व्यापक रूपमा प्रचलनमा ल्याउन सके अर्थतन्त्रलाई ठूलो टेवा पुग्छ ।
नेपालका पुराना उद्योगहरूले पुरानै प्रविधिका मेशिन प्रयोग गरिरहेका छन् । ती मेशिनको ऊर्जा प्रभावकारिता कम हुन्छ । अर्थात् ती मेशिनमा प्रयोग भएको धेरै ऊर्जा तापका रूपमा बाहिर जान्छ । त्यसैले नेपालमा यस किसिमको प्रविधिको उपादेयता धेरै छ । नेपालमा यस किसिमको प्रविधि कति मात्रामा प्रयोग भएको छ भन्ने यथार्थ तथ्याङ्क त छैन । तर, अहिले ऊर्जासङ्कटका बेला जुन रूपमा उद्योगहरूले समस्या भोगिरहेका छन्, त्यसले यो प्रविधिको व्यावसायिक र व्यापक प्रयोग नभएको पुष्टि हुन्छ ।
अहिले देशको ऊर्जासङ्कटबाट सबैभन्दा पीडित क्षेत्र उद्योग-व्यवसाय नै हो । तर, उद्योगी-व्यवसायीहरूले सरकारले विद्युत् उपलब्ध गराइदिएन भनेर लोहोरी मात्रै गाइरहेका छन् । आफैले गर्न सक्ने कामतर्फध्यान दिएका छैनन् । लोडशेडिङका बेला पनि आफैले उत्पादन गरेको विद्युत् प्रयोग गरेर २४ सै घण्टा उद्योग चलाइरहेको इष्र्टन सुगर मिलको प्रयोगलाई अन्य उद्योगहरूले किन नपछयाउने ? अहिले भएको लगानीमा केही रकम थप्दा ऊर्जासङ्कटबाट पार पाइन्छ भने त्यसतर्फ उद्योगहरू किन अग्रसर नहुने ? यसबाट ऊर्जाको आपूर्ति त बढ्छ नै, कार्बन उत्सर्जनको मात्रा पनि घट्छ । यसो गर्न सक्दा उद्योगहरू वातावरणमैत्री बन्न सक्छन् । यसरी नेपाली उद्योगहरूले दोहोरो फाइदा हुने काम थाल्न ढिलो भइसकेको छ ।
ऊर्जासङ्कट समाधान गर्ने जिम्मा राज्यको मात्रै होइन, निजीक्षेत्रले पनि यसमा सहयोग गर्नुपर्छ । त्यसो गर्ने प्रमुख माध्यम उद्योगबाट उत्पादन हुने बाफ वा तापबाट निक्लने बिजुली हुन सक्छ । यसो गर्दा उद्योगहरू आफू त लाभान्वित हुन्छन् नै, देशको ऊर्जासङ्कट समाधानमा पनि यसले योगदान दिन सक्छ । यसबाट कार्बन व्यापारमा सहयोग पुगी देशले त्यसबाट पनि फाइदा लिन सक्छ । त्यसैले राज्यको मुख ताकेर केही नपाउनुभन्दा आफ्नै प्रयासमा उद्योगहरूबाट विद्युत् निकाल्नु धेरै बुद्धिमानी हुन्छ ।
Admin 2011-03-09