इन्भेष्टमेण्ट कम्पनीमा विदेशी लगानी
औद्योगिक प्रवर्द्धन बोर्डले नेपालमा विदेशी लगानीमा इन्भेष्टमेण्ट कम्पनी स्थापना गर्न पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेपछि यो निर्णय कार्यान्वयन हुनेछ । अहिलेलाई पूर्वाधार र पर्यटन क्षेत्रको विकासमा लगानी गर्ने उद्देश्य भएका यस्ता कम्पनी स्थापना गर्न दिने प्रस्ताव गरिएको छ । बोर्डको यो निर्णयले लामो समयका लागि हुने प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने आशा गर्न सकिन्छ । साथै, देशमा हुने गरेको स्रोतको अपर्याप्ततालाई पनि यसले सम्बोधन गर्नेछ ।
नेपालमा विदेशी इन्भेष्टमेण्ट कम्पनी स्थापना हुन सके त्यसले ठूलो मात्राको आर्थिक स्रोत परिचालन गर्न सक्छ । त्यस्तो कम्पनीले सरकारी ऋणपत्र, सामूहिक लगानी कोष, धितोपत्र, कमोडिटी डेरिभेटिभ तथा दीर्घकालीन महत्त्वका पूर्वाधारहरूमा लगानी गर्न सक्छ । यसका साथै यसले विभिन्न कम्पनीहरूको लगानी व्यवस्थापनको काम पनि गर्न सक्छ । बैङ्कहरूले यस्तो कम्पनीसँग आवश्यक मात्रामा ऋण लिन पनि सक्छन् । यस्तो कम्पनीले प्रत्यक्ष रूपमा साख सृजना गर्न नपाउने भए पनि यसबाट लिएको पैसाबाट बैङ्कहरूले साख सृजना गर्न सक्छन् र त्यसबाट बेलाबेलामा हुने तरलता अभावको समस्यालाई कम गर्न सकिन्छ । त्यसैले विदेशी लगानीमा इन्भेष्टमेण्ट कम्पनी स्थापना हुन सक्दा त्यसबाट नेपालको अर्थतन्त्रले निकै ठूलो लाभ लिन सक्ने सम्भावना छ ।
नेपालमा पूर्वाधारका ठूला आयोजना निर्माणका लागि पर्याप्त आर्थिक स्रोतको अभाव रहेको भनिँदै आएको छ । यद्यपि देशमा कति आर्थिक स्रोत उपलब्ध छ र त्यसको बुद्धिमत्तापूर्वक परिचालन कसरी गर्न सकिन्छ भन्ने बारेमा तथ्यपूर्ण अनुसन्धान हुन सकेको छैन । ठूला आयोजना निर्माण गर्नका लागि आर्थिक स्रोतको अभाव रहेको भए पनि भोलि विदेशी इन्भेष्टमेण्ट कम्पनी आउँदा त्यो अभाव पूर्ति हुने हुन्छ । लगानी व्यवस्थापन हुन नसकेका कारण पूँजी एकीकृत हुन नसकेको हो भने पनि यस्तै कम्पनीमार्फ भित्रिने व्यवस्थापनको ज्ञान उपयोगी हुन सक्छ । दीर्घकालीन लाभ हुने पूर्वाधार निर्माणका क्षेत्रमा त्यस्तो कम्पनीले लगानी गर्ने सम्भावना धेरै हुन्छ । त्यसैले सडक, जलविद्युत् आयोजनाजस्ता ठूला पूर्वाधार निर्माणका लागि यस्तो कम्पनी सहयोगी सावित हुन सक्छ ।
नेपालको शेयरबजार लामो समयदेखि उकालो लाग्न सकेको छैन । ठूलो लगानी यस क्षेत्रमा आउन नसकेका कारण त्यसो भएको विश्लेषकहरूको भनाइ रहँदै आएको छ । यदि विदेशी इन्भेष्टमेण्ट कम्पनी स्थापना भयो र त्यसले शेयरमा लगानी गर्यो भने नेपालको शेयरबजारलाई पनि लाभ हुनेछ । शेयर बजारमा ठूलो लगानीको अभाव भइरहेको अवस्थालाई त्यसले परिपूर्ति गर्नेछ । साथै, यस किसिमको इन्भेष्टमेण्ट कम्पनीको लगानी उदाउँदो क्रममा रहेको कमोडिटी बजारमा पनि हुन सक्ने भएकाले त्यसबाट लाभ नै
लिने देखिन्छ ।
विदेशी लगानी भित्रिए पनि इन्भेष्टमेण्ट कम्पनीको लगानी पनि सट्टाबजारमा मात्र केन्द्रित हुने सम्भावना उत्तिकै छ । पूर्वाधारभन्दा सट्टाबजारमा मात्रै त्यस्तो लगानी केन्द्रित भयो भने देशको अर्थतन्त्रले आशा गरेजस्तो लाभ यसबाट नपाउन सक्छ । त्यसैले इन्भेष्टमेण्ट कम्पनीको लगानी विशेषगरी पूर्वाधार निर्माणमा केन्द्रित गर्न प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यसका साथै विदेशी लगानीका कम्पनीसँग प्रतिस्पर्धा गर्न स्वदेशी कम्पनीले पूँजी एकत्रित गर्नुपर्ने तथा प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने चुनौती पनि यसबाट थपिन्छ ।
विदेशी इन्भेष्टमेण्ट कम्पनीहरूले पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्ने चासो देखाइरहेको अवस्थामा त्यस्ता कम्पनी स्थापनाको अनुमति दिनु निश्चय पनि राम्रो हो । यसले देशमा विदेशी लगानीको वातावरण निर्माण गर्न सघाउ पुर्याउनेछ । विशेषगरी जलविद्युत् आयोजना निर्माणमा ठूलो लगानी निजीक्षेत्रबाट हुन नसकिरहेको अवस्थालाई यस्ता कम्पनीहरूको आगमनले अन्त्य गर्न सक्छ । ठूलो मात्रामा विदेशी लगानी भित्रन सक्दा अर्थतन्त्रका अन्य क्षेत्र पनि लाभान्वित हुनेछन् । नीतिगत रूपमै पनि यो खुलाबजार अर्थतन्त्रतर्फो थप एक पाइलो हो ।
Admin 2011-02-08