प्रतिकूल समयमा बन्द हडताल
ज्याला वृद्धिका विषयमा केन्द्रमा उद्योगीहरूसँग वार्ता भइरहँदा हेटौंडामा माओवादीसमर्थक मजदूर युनियनले उद्योग बन्द गराएका छन् । वार्ताबाट समाधान निस्कने वातावरण बनिरहेको अवस्थामा यसरी एकतर्फी रूपमा उद्योग बन्द गर्नुले सो मजदूर युनियनको गैरजिम्मेवारी प्रस्ट बनाएको छ । अन्य स्थानमा पनि राजनीतिक दलका भ्रातृसङ्गठनका रूपमा काम गरिरहेका मजदुर सङ्गठनहरूले विभिन्न किसिमका आन्दोलन गरिरहेका छन् । मजदूर युनियनको यस किसिमको रबैयाका कारण देशको औद्योगिक वातावरण धुमिल भएको छ । दैनिक लामो लोडशेडिङ तथा बैङ्कको ब्याजदरलगायत कारणले धराशयी हुन थालेको औद्योगिक क्षेत्रले मजदूर आन्दोलनको अर्को मार खेप्नुपरेको छ । यसले देशको औद्योगिकीकरणको गतिलाई उल्टो दिशातर्फलैजाने सङ्केत गर्छ ।
कामदारको पेशागत हकहितको संरक्षण तथा संवर्द्धन गर्नका लागि ट्रेड युनियन गठन गर्न पाउने व्यवस्था ट्रेड युनियन ऐन, २०४९ ले गरेको छ । तर, अहिले नेपालका मजदूर युनियनहरूले उद्योगहरूलाई शत्रुको जस्तो व्यवहार गरिरहेका छन् । नेपालमा ट्रेड युनियनहरू कामदारको हकहितभन्दा पनि राजनीतिक दलको भगिनी सङ्गठनका रूपमा स्थापना हुने गरेका छन् । उनीहरूको मुख्य एजेण्डा कामदारको हकहित होइन, राजनीतिक दलको निर्देशनमा काम गर्ने जत्थाको जस्तो हुने गर्छ । यसो हुँदा जेनतेन चलिरहेका उद्योगहरू बन्द हुने तथा नयाँ उद्योग नखुल्ने परिस्थिति बन्दै गएको छ । गत आर्थिक वर्षभन्दा यो वर्षनयाँ उद्योगको दर्ता घटेको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । यस्तै नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू यहाँबाट सर्ने क्रम पनि जारी छ । यो सबै हुनुमा विभिन्न मजदूर सङ्गठनको हड्ताल प्रमुख कारणका रूपमा रहेको छ ।
अहिले दोहोरो अङ्कमा मूल्यवृद्धि भइरहेको छ । तर, साढे दुई वर्षदेखि मजदूरको तलब पुनरवलोकन हुन सकेको छैन । यस्तो अवस्थामा तलब बढ्नुपर्छ भन्ने मजदूरहरूको मागलाई अन्यथा लिनु हुँदैन । उद्योगी-व्यवसायीहरूले पनि उनीहरूको यो मागप्रति सकारात्मक रहेको बताएका छन् । तर, यति हुँदाहुँदै पनि उद्योग नै बन्द गर्नेजस्ता उग्रता केही मजदूर युनियनले देखाएका छन्, त्यो मजदूर तथा रोजगारदाता कसैको पनि हितमा छैन । वार्ताबाट नै समस्याको समाधान खोज्नुपर्ने सामान्य कुरालाई समेत ध्यान नदिएर उद्योग बन्द गर्नुजस्तो गैरजिम्मेवारी अर्को कुनै हुन सक्दैन ।
उत्पादनमूलक क्षेत्रमा मजदूर आन्दोलनको समस्याकै कारण विस्तारै औद्योगिक प्रतिष्ठानहरूले सेवा र व्यापारतिर लगानी बढाउन थालेका छन् । यस्तो स्थितिले अन्ततोगत्वा देशमा केही कुरा पनि उत्पादन नहुने तथा रोजगारीका अवसर गुम्ने अवस्था आउन सक्छ । जबसम्म देशमा उत्पादनमूलक क्षेत्रको विस्तार हुँदैन, तबसम्म देशको सन्तुलित विकास सम्भव छैन । त्यसैले देशको समग्र विकासका लागि पनि यस किसिमका हडतालले असर पारिरहेको छ । अनावश्यक मजदूर आन्दोलनका कारण नेपाल खराब औद्योगिक सम्बन्ध भएको देशका रूपमा अन्तरराष्ट्रियजगत्मा बदनाम भइसकेको छ । यसले नेपालमा आउने वैदेशिक लगानी रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अन्य क्षेत्रहरूभन्दा विशेषगरी उत्पादनमूलक क्षेत्रमा मजदूर युनियनहरूको समस्या धेरै छ । त्यसैले राजनीतिक दल र मजदूर युनियनलाई गाली गर्नुभन्दा उद्योगीहरूले यो समस्याको भित्री कारण खोतल्नतर्फलाग्नुपर्छ । त्यो भनेको उद्योगहरूले मजदूरलाई दिने पारिश्रमिक र सुविधा कम भएर नै यो समस्या पटकपटक दोहोरिइरहेको हुन सक्छ । मजदूरलाई राम्रो तलबसुविधा दिने हो भने यस किसिमको समस्या आउँदैन भन्ने प्रमाण बैङ्क, बीमालगायत सेवा क्षेत्र हुन् । त्यसैले उद्योगहरूले पनि कामदारलाई राम्रो तलबसुविधा दिएर समस्याको दीर्घकालीन समाधान निकाल्न सक्छन् । यो समस्या अहिले ठूलो रोगका रूपमा विकसित हुँदैछ । त्यसैले बेलैमा उपचार गर्नुको साटो रोग पालिरह्यो भने त्यसले अन्ततोगत्वा उद्योगलाई नै सिध्याउन सक्छ । देशको औद्योगिक क्षेत्रले यो तथ्यलाई विचार गर्न जरुरी छ । मजदूर सङ्गठनहरूले पनि आफूलाई राजनीतिक दलको हतियारभन्दा सामूहिक सौदाबाजीको सिद्धान्तमा प्रतिबद्ध शक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । उद्योग नै मारियो भने त्यसबाट पहिलो घाटा मजदूरलाई नै हुन्छ ।
Admin 2011-03-10