गलैंचाको ब्राण्डिङ छिटो हुनुपर्छ
नेपाली गलैंचाको गुणस्तर विश्वबजारमा राम्रो मानिन्छ । सम्पूर्ण तयारी हातबाट नै गरिने भएकाले नेपाली गलैंचाले तुलनात्मक रूपमा गुणस्तरीय भनी संसारभर प्रसिद्धि कमाएको छ । तर, यसको निर्यात अरू विविध कारणका अतिरिक्त नेपालकै लापरबाहीका कारणसमेत विगतका वर्षहरूमा ह्वात्तै घटेको छ । विदेशमा नेपालमा बनेको भनेर कम गुणस्तरका गलैंचा उपलब्ध हुन थालेपछि यसको व्यापार घटेको व्यवसायीहरूको तर्क छ । त्यसैले अन्तरराष्ट्रिय बजारमा गुणस्तरीय नेपाली गलैंचाको पहिचान पुनःस्थापित गर्न र यो उद्योगलाई पुनर्जीवन दिन पनि स्पष्ट नीतिका साथमा नेपाली गलैंचाको ब्राण्डिङ अत्यावश्यक भइसकेको छ ।
सन् १९९३ मा ३३ लाख वर्गमिटरसम्म नेपाली गलैंचा निर्यात भएको थियो । तर, २००९/१० मा यो घटेर ७ लाख वर्गमिटरमा सीमित हुन पुग्यो । यसबीचमा गलैंचा उत्पादन गर्ने उद्योगको सङ्ख्या पनि १ हजार २ सयबाट ४ सयमा झरेको छ । तत्कालीन समयमा १२ लाख मानिसहरूले यो उद्योगमा रोजगारी पाइरहेका थिए । कुनै समय प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेको गलैंचाका बारेमा स्पष्ट नीति अवलम्बन गर्न सकिएन । साथै, यसको ब्राण्डिङ, लेबलिङ वा ट्रेडमार्क स्थापित गर्ने काम भएन । फलस्वरूप अन्य मुलुकबाट नेपाली गलैंचाको नक्कल गर्ने क्रम बढ्न थाल्यो । नेपालीजस्तै लाग्ने कम गुणस्तर तथा मूल्यका गलैंचा विदेशी बजारमा उपलब्ध हुन थालेपछि नेपाली गलैंचाले तीसँग प्रतिस्पर्धा गर्न सकेन । यदि त्यही समयमा नेपाली गलैंचाको ब्राण्ड स्थापना गर्न सकिएको भए अहिलेजस्तो दुर्नियती नेपाली गलैंचा उद्योगले बेहोर्नुपर्ने थिएन ।
सन् १९६० को दशकबाट स्वस्फूर्त रूपमा विकसित हुन थालेको गलैंचा उद्योगलाई व्यवस्थित गर्न निजी तथा सरकारी दुवै तर्फाट ठोस पहल हुन सकेन । त्यसो हुँदा यसको व्यापारमा दिगोपन आउन सकेन । नेपाली गलैंचा उद्योगमा बालश्रमिकको प्रयोग हुने, यौनशोषण हुनेजस्ता आरोप आयातकर्ता देशले लगाए । नेपाली उद्योगी तथा सरकारले त्यसको चित्तबुझ्दो खण्डन गर्न वा त्यो समस्याको समाधान गर्नतर्फ बेलैमा ध्यान नदिएपछि उनीहरूले नेपाली गलैंचालाई कम प्राथमिकतामा राखे । त्यसपछि निर्यातनिर्भर गलैंचा उद्योगको अधोगतिको क्रम शुरू भयो । यदि बेलैमा नेपाली उद्योगीहरूले आफूलाई र समग्र उद्योगलाई नै व्यवस्थित गर्न लागेको भए नेपाली गलैंचाले यो परिणति भोग्नु नपर्न सक्थ्यो ।
नेपाली गलैंचा उद्योगमा अन्य समस्या पनि समाधान गर्नुपर्ने खालका छन् । श्रमिकको पारिश्रमिक निर्धारण वैज्ञानिक तथा व्यावहारिक ढङ्गले भएको छैन । मजदूरका लागि नियमित तालीमको व्यवस्था छैन भने उनीहरूका बालबालिकाका लागि शिक्षा तथा स्वास्थ्यको व्यवस्था हुन सकेको छैन । यसो हुँदा कामदारहरू विदेशिइरहेको तथा यहाँ मजदूर अभाव रहेको अवस्था छ । यी समस्या समाधानका लागि सरकारले सहयोग गर्नुपर्छ र उद्योगीहरू पनि जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ ।
गलैंचा उद्योगको भविष्य लगभग निर्यातमा निर्भर छ । त्यसैले यसको सम्भावित विदेशी बजार नै व्यवस्थित हुनु जरुरी छ । त्यहाँ यसले विश्वास आर्जन गर्नु जरुरी छ । यसका लागि जुन दीगो पहिचान आवश्यक पर्छ त्यो दिलाउन एउटा प्रभावकारी र सादृश्य 'ब्राण्ड’ले मात्र सक्छ । यसरी नेपाली गलैंचाको ब्राण्डिङ भयो र त्यहीअनुसारको गुणस्तर कायम गर्न गलैंचा उद्योगीहरूले सके भने निश्चित रूपमा नेपाली गलैंचालाई अन्तरराष्ट्रिय बजारमा स्थापित गर्न असम्भव छैन ।
Admin 2011-02-10