स्पा व्यवसायलाई सेवा उद्योगको मान्यता
नेपालमा स्पा उदाउँदो व्यवसायका रूपमा विकास हुन थालेको छ । उपचार तथा तनावबाट मुक्तिका लागि विकल्पका रूपमा रहेको नेपाली स्पा व्यवसायमा शुरुआती दिनमै विभिन्न किसिममा विकृति भित्रिएको आरोप लाग्न थालेको छ । यो निश्चय पनि राम्रो होइन । पछिल्ला दिनमा मसाज तथा स्पाको नाम सुन्दै लाज मान्नुपर्ने जुन अवस्था छ, त्यसबाट यो व्यवसायलाई मुक्त गरेर विशुद्ध व्यावसायिक बनाउने हो भने नेपालमा यसको सम्भावना धेरै छ ।
स्पा अहिले उद्योगका रूपमा विकसित हुने क्रममा रहेको छ । कुनै समय सम्भ्रान्त वर्गमा मात्र सीमित रहेको स्पाका ग्राहक अब मध्यमवर्गीय नेपाली पनि हुन थालेका छन् । पहिले पाँचतारे होटलहरूका मात्र उपलब्ध हुँदै आएको यो सेवा अहिले नयाँ लगानीकर्ताले बाहिरै पनि उपलब्ध गराउन थालेपछि यस्तो अवस्था आएको हो । यो व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन सक्ने हो भने २ लाख नेपालीले यस व्यवसायमा रोजगार पाउन सक्ने व्यवसायीहरू बताउँछन् । अहिलेकै अवस्थामा स्पा व्यवसायमा दक्ष जनशक्तिको अभाव रहेको छ । त्यसैले दक्षता हासिल गर्दा यो रोजगारीको पनि राम्रो सम्भावना भएको क्षेत्र हो ।
पछिल्ला दिनमा शहरीकरणको तीव्र विस्तारसँगै शहरमा बसोबास गर्ने मानिसहरूको सङ्ख्या पनि त्यही रूपमा बढेको छ । बढेको शहरी जनजीवनमा मानिसको व्यस्तता र तनावमा पनि वृद्धि भएको छ । यसो हुँदा स्पाका ग्राहकहरू पनि निश्चित रूपमा बढेका छन् र भोलिका दिनमा यो सङ्ख्या अझै बढ्नेछ । नेपालजस्तो पर्यटकीय देशमा भित्रिने पर्यटकहरू पनि स्पाका नियमित र भरपर्दा ग्राहक हुन् । त्यसैले यो लगानीको नयाँ क्षेत्रका रूपमा स्थापित हुनेछ र नयाँ लगानीकर्ताहरू यस क्षेत्रमा आउने निश्चित छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा कुनै पनि व्यवसायमा कुनै न कुनै विकृतिहरू रहेकै छन् । स्पाका नाममा अनैतिक र गैरकानूनी रूपमा यौनव्यवसाय हुने गरेकोलगायतका विकृतिहरू यसक्षेत्रमा पनि देखिन थालेका छन् । यस किसिमका विकृतिहरूले यसको बजार बढाउने होइन, बद्नाम मात्र गराउनेछ । त्यसैले तत्कालको लाभलाई हेरेर व्यवसायीहरूले यस्ता अनैतिक क्रियाकलाप सञ्चालन गर्नु हुँदैन । नयाँ लगानीकर्ताहरूले पनि त्यस्ता अनैतिक क्रियाकलाप गर्ने मनशायका साथ स्पामा लगानी गर्नु हुँदैन । किनभने स्पाथेरापी आफैंमा एउटा सफल उपचार पद्धति र व्यवसायका रूपमा विश्वमा स्थापित छ र नेपालमा पनि हुनेछ । यसलाई विशुद्ध उपचार र त्यही किसिमको उद्योगका रूपमा विकास गर्न सक्दा मात्र यसको गरिमा बढ्नेछ । त्यसैले स्पालाई उद्योगकै रूपमा विकसित गर्नका लागि व्यवसायीहरू नै जिम्मेवार हुनुपर्छ ।
शहरी तथा व्यावसायिक जीवनमा स्पाको महत्त्व धेरै छ । त्यसकारण यसको प्रवर्द्धन हुन जरुरी छ । यो व्यवसायलाई प्रवर्द्धन गर्नका लागि व्यवसायीकै भूमिकाले प्रमुख महत्त्व राख्दछ । तर, सरकारले पनि यससम्बन्धी नीति ल्याउने, मापदण्ड तोकिदिनेलगायतका काम गर्नु जरुरी छ । नयाँ तथा पुराना व्यवसायीहरूले यस क्षेत्रका विकृति हटाउँदै यसलाई उद्योगकै रूपमा विकास गर्नतर्फ लाग्नुपर्छ ।
Admin 2011-02-11