शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बन्द विमानस्थलको सञ्चालन तथा संरक्षण
देशका एक दर्जनभन्दा बढी विमानस्थल अहिले बन्द अवस्थामा छन् । मुलुकमा सडक सञ्जाल विस्तार हुनुअघि यी विमानस्थलहरूमार्फत सञ्चालित हवाईसेवा नै विकास, आधुनिकता तथा सूचनाका संवाहक थिए । अहिले तिनै विमानस्थल सञ्चालनमा आउन नसक्नुका अतिरिक्त त्यहाँ रहेका करोडौं रुपैयाँबराबरका भौतिक सम्पत्ति पनि विनासको अवस्थामा पुग्नु दुःखदायी अवस्था हो । कम्तीमा पनि सरकारले विमानस्थलमा रहेका सम्पत्तिको संरक्षणका लागि आवश्यक कदम चाल्न ढिला गर्नुहुँदैन । भोलि देश समृद्धिको बाटोतर्फ लम्किँदा पनि ती विमानस्थलहरूको सान्दर्भिकता झनै बढ्ने हुँदा तिनको संरक्षणमा बेवास्ता गर्नुहुँदैन ।

पूरा आकरमा हेर्नुहोस्नेपाल पर्यटन वर्ष२०११ भर्खरै शुरू भएको छ । सरकारले यो वर्ष१० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । विदेशी मात्र होइन, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि सडक सञ्जालका अतिरिक्त हवाईसेवा उपलब्ध हुनु जरुरी हुन्छ । कतिपय क्षेत्रका पर्यटन व्यवसायीले विमानस्थलको अभावका कारण लक्ष्य लिएजति पर्यटक भित्र्याउन नसकिने समेत बताएका छन् । यसबाट पनि विमानस्थल सञ्चालनको महत्त्व पुष्टि हुन्छ । दशकौंअघि निर्मित विमानस्थल आसपास पर्यटकीय महत्त्वका स्थान रहेका छन् । पर्यटन वर्षसफल पार्न नयाँ गन्तव्यको खोजी गरिरहेको सरकार तथा सम्बद्ध व्यवसायीले पनि पुराना विमानस्थलको सञ्चालनमा मद्दत पुग्नेखालको वातावरण बनाउन सके निश्चय नै नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ ।

अहिले धेरैजसो विमानस्थल सडक यातायात पुगेका कारण बन्द भएको बताइएको छ । तर, सडक या हवाईसेवा, यातायातको जति सुविधा बढ्दै जान्छ तिनको आवश्यकता र प्रयोग पनि त्यति नै वृद्धि हुने तथ्य स्पष्ट नै छ । कुनै बेला ठूलो लगानीमा बनेका ती विमानस्थलको मर्मत-सम्भार भएर सञ्चालनमा आउने हो भने राम्रोसँग चल्ने र आम्दानी पनि राम्रै हुने पक्का छ । भोलिका दिनमा यिनको आवश्यकता नै छैन भन्ने जस्तो गरी विमानस्थलहरूको विनास हुन दिनु कुनै पनि दृष्टिमा उपयुक्त छैन ।

यी विमानस्थल निर्माणका क्रममा विगतमा करोडौं रुपैयाँ खर्च भएको छ । तर, अहिले विभिन्न कारणले विमानस्थल नै बन्द हुन पुग्दा ती संरचनाहरू बेवारिसे बनेका छन् । कतिपय स्थानमा विमानस्थलका भौतिक सम्पत्ति चोरी भइसकेको छ भने कतिपयमा दुरुपयोग भइरहेको अवस्था छ । विमानस्थल सञ्चालनको जिम्मा पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले यसबारे चासो र चिन्ता प्रकट गरेको देखिएको छैन । केही वर्षघिसम्म सडक यातायातको पहुँच नभएका स्थानमा पुग्न एक मात्र विकल्प हवाईसेवा नै हुने गरेको थियो । त्यसमा पनि सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमकै एकलौटी थियो । अहिले निजी हवाईसेवा कम्पनीको समेत बाक्लै उपस्थिति रहँदा पनि विमानस्थल भने बढ्नुको सट्टा घट्दै जानुलाई उचित मान्न सकिँदैन । विमानस्थल सञ्चालनका विभिन्न मोडलहरू अपनाउन सकिन्छ । स्थानीय निकाय वा इच्छुक निजी कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गरी जिम्मा दिएर पनि यसको सञ्चालन तथा संरक्षण गर्न सकिन्छ ।