वैदेशिक रोजगार व्यवसायलाई सम्मानित बनाउने जिम्मेवारी
वैदेशिक रोजगार व्यवसायीहरूले आफूहरूलाई समाज तथा सरकार दुवैले नकारात्मक दृष्टिबाट हेर्ने गरेको गुनासो गर्ने गरेका छन् । तर, यसो हुनुमा आफ्नै कमजोरी रहेको तथ्य उनीहरू स्वीकार्न तयार छैनन् । सरकारले नकारात्मक दृष्टिकोण राख्दा पूर्वाग्रह राखियो भन्न सकिएला । तर, समाजले उनीहरूको काम र पेशागत मर्यादालाई हेरेर नकारात्मक वा सकारात्मक दृष्टिकोण निर्माण गर्ने गर्छ । त्यसैले आफूमा रहेको कमजोरीलाई लुकाउँदै वैदेशिक रोजगार व्यवसायीहरूले समाज र सरकारपट्टि औंला ठडयाउनु उनीहरूको उपयुक्त छैन ।
वैदेशिक रोजगार व्यवसायलाई झूटको व्यवसाय भन्नेहरूको तर्क पछिल्लो दिनमा झन् बलियो हुँदै गएको छ । वैदेशिक रोजगारीमा जानेसँग त व्यवसायीहरू कुनै पनि कुरा साँचो भन्दै भन्दैनन् भन्ने सवसाधारणको धारणा छ । साथै, प्रेसजगत् तथा सरकारसँग पनि उनीहरू झूटो बोलेर आफ्नो व्यवसाय चलाइरहेका भन्ने आरोप लाग्ने गरेको छ । वैदेशिक रोजगार व्यवसाय बिहान उठेदेखि बेलुका सुतेसम्म झूटो मात्रै बोल्ने पेशा हो भनेर लाग्ने गरेको आरोपलाई खण्डन गर्ने नैतिक धरातल व्यवसायीहरूसँग छैन । राम्रो काम गर्ने वैदेशिक रोजगार व्यवसायीलाई पुरस्कृत गर्ने अभ्रि्रायले त्यस्ता कम्पनीहरू छनोट गर्ने क्रममा कुनै पनि आरोप नलागेका जम्मा चारओटा मात्रै भेटिनुले यसलाई पुष्टि गर्छ । त्यसैले सम्मानित व्यवहार चाहने हो भने यो पेशालाई पनि सम्मानित बनाउनुपर्छ र आफूलाई पनि त्यहीअनुसार प्रस्तुत गर्नुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरूका प्रतिनिधिमूलक संस्थाहरूले यो व्यवसायलाई जिम्मेवार बनाउन आचारसंहिता निर्माणको कुनै पहल नगर्नुले समेत उनीहरूको कमजोरी प्रमाणित हुन्छ ।
वैदेशिक रोजगारीलाई सम्मानित पेशा बनाउनुपर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । किनभने देशको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायले पुर्याएको योगदानलाई कम मूल्याङ्कन गर्नु हुँदैन । तर, समाजको एउटा पक्ष वा सरकारले सम्मानित बनाइदिन्छु भनेर यो पेशा सम्मानित हुँदैन । यो पेशालाई सम्मानित बनाउनका लागि वैदेशिक रोजगार व्यवसायीहरू आफैले प्रयास गर्नुपर्छ । त्यो भनेको वैदेशिक रोजगारीमा जाने कामदारको हितका लागि काम गर्नु, उनीहरूलाई नठग्नु र झूटको खेती गर्न छोड्नु नै हो ।
व्यवसायीहरूले नै वैदेशिक रोजगारको बजार खोजेका हुन् भन्नेमा शङ्का छैन । त्यसैले यसलाई व्यवस्थित गर्ने जिम्मा पनि उनीहरूकै हो । तर, आफूले खोजेको बजार भएको हुनाले जे पनि गर्दा हुन्छ भन्ने सोच व्यवसायीहरूले पालेको देखिन्छ, जुन बिलकुल गलत हो । त्यही सोच र व्यवहारका कारण वैदेशिक रोजगार व्यवसाय दिन प्रतिदिन बद्नाम भइरहेको छ । आफूचाहिँ नैतिक-अनैतिक सबै किसिमका काम गर्ने अनि सरकारले यो व्यवसायलाई मर्यादित बनाइदिनु पर्ने भन्ने व्यवसायीहरूको माग लाजमर्दो छ । व्यवसायीलाई व्यापार गरेर नाफा कमाउनका लागि सरकारले बजार व्यवस्था गरिदिनु पर्छ भन्ने माग हास्यास्पद छ ।
अवश्य पनि वैदेशिक रोजगारीसम्बन्धी सरकारी संरचना यस क्षेत्रको विकासका लागि अप्ठयारोका रूपमा रहँदै आएको छ । वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड नामका दुई सरकारी निकाय यो क्षेत्रको विकासका लागि भनेर गठन भएका छन् । तर, यी दुई निकायबीच नै समन्वय हुन सकेको छैन । राम्रो काम हुँदा आफूले गरेको भन्ने अनि अप्ठ्यारो पर्दा एकले अर्कोलाई देखाउने प्रवृत्ति यी दुई निकायबीच देखिएको छ । त्यसकारण वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनका लागि यी दुवै निकायलाई विघटन गरी स्वायत्त तथा प्रभावकारी अर्को कुनै निकाय गठन गर्नु बद्धिमानी हुन्छ । त्यस्तो निकायलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्न सक्दा त्यो अझ प्रभावकारी हुनेछ ।
वैदेशिक रोजगार ऐन, २०६४ पनि यो क्षेत्रको उचित विकासमा सहयोगी बन्न सकेको छैन । वैदेशिक रोजगारीमा जानका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था ऐनमा छ । वैदेशिक रोजगारीमा गई करार अवधि सकिएका कामदारको जिम्मा पनि म्यानपावर व्यवसायीले लिनुपर्ने व्यवस्था ऐनमा छ । त्यसैले यो ऐनलाई परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ । पछिल्लो समयमा राजधानीबाट मात्रै मेशिन रिडेबल पासपोर्ट (एमआरपी) लिन पाउने व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जाने कामदारले भोग्नु परिरहेको आर्थिक तथा प्रक्रियागत क्षतिलाई कम गर्नका लागि पनि अविलम्ब पहल गर्नुपर्छ ।
वैदेशिक रोजगार व्यवसायलाई मानवतस्कर तथा ठगहरूको पेशाका रूपमा चित्रण गरिनुमा उनीहरूको व्यवहार बढी जिम्मेवार छ । त्यसैले व्यवसायीहरूले आफ्नो आचरण र पेशागत मर्यादा सुधार गर्नुपर्छ । यो पेशालाई मर्यादित बनाउने काम सरकार वा समाजले गर्ने होइन, व्यवसायीहरूको जिम्मेवार व्यवहारका कारण हुने हो ।
Admin 2011-03-13