४५ वर्षदेखि पर्यटकीय सेवामा यती ट्राभल्स
जेठ १८, काठमाडौं (अस)। विदेशी पर्यटक नेपाल भित्र्याउन विगत ४५ वर्षदेखि कार्यरत यती ट्राभल्स नेपालकै अग्रणी ट्राभल्सका रूपमा चिनिन्छ । यो सफल ट्राभल व्यवसायको पहिलो नम्बरको पर्यटकीय संस्था हो । 'सन् १९६६ बाट सञ्चालनमा आएको यस ट्राभल्सको मूल उद्देश्य नै नेपालमा विदेशी पर्यटक ल्याउने हो', यती ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत मनोहर शमशेर जबराले भने । ट्राभल्सले यूरोप, अमेरिका, जर्मन, बेलायत, स्पेन, इटालीलगायत मुलुकलाई आफ्नो प्रमुख बजार बनाएको उनले बताए ।
नेपालमा आएका कुनै पनि विदेशी पर्यटकले इच्छाएका पर्यटकीय गविविधि गराउने काम यतीले गर्छ । सम्पूर्ण गन्तव्यमा आफै पर्यटकीय सेवा दिलाउने र अन्य ट्रेकिङ, राफ्टिङलगयत गतिविधि गर्ने पर्यटक आएमा सम्बन्धित एजेन्सीकहाँ पुर्याउने काम कम्पनीले गरिरहेको छ । आन्तरिक पर्यटकबाट नगन्य मात्रामा व्यापारिक लाभ हुने भएकाले यो ट्राभल्सले विदेशी पर्यटकलाई बढी जोड दिने गरेको छ । आन्तरिक पर्यटक ट्राभल एजेन्सीमार्फत घुम्न जाने संस्कारको विकास नेपालमा अझसम्म हुन नसकेको उनको भनाइ छ ।
यो ट्राभल्स राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकीय संस्थासँग आबद्ध छ । यस ट्राभल्सको सदस्यता स्वदेशीभन्दा विदेशी सस्थासँग बढी छ । अन्तरराष्ट्रिय हवाई टिकेटिङ एशोसिएशन (आएटा)को सदस्य रहेको यस ट्राभल्सले अमेरिका, बेलायत, यूरोपलगायतका विकसित मुलुकको ट्राभल व्यावासयिक सङ्गठनको सदस्यता समेत लिएको छ । नेपालका प्रायः सबै चेम्बर अफ कमर्शको सदस्य यतीले पर्यटन व्यवसायलाई सबैभन्दा राम्रो व्यवसायका रूपमा लिएको छ ।
यती ट्राभल्स नेपालमा गुणस्तरीय (धेरै खर्च गर्ने) पर्यटक भित्र्याउने ट्राभल्सका रूपमा परिचित छ । यो नेपाल राष्ट्र बैङ्कले हरेक वर्षप्रकाशित गर्ने सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनी हो । साथै, विदेशी पर्यटक भित्र्याउने पर्यटकीय संस्थाको सूचीमा समेत यो कम्पनी पर्दै आएको छ ।
स्थापनादेखि सन् २००१ सम्म यतीमार्फत नेपाल भित्रने सबैभन्दा बढी पर्यटक अमेरिकी हुन्थे । तर, हाल यो स्थान यूरोपेली पर्यटकले लिएको राणाले बताए । यस ट्राभल्समा आउने करीब ६० प्रतिशत पर्यटक अझै पनि यूरोपेली र बाँकी अन्य देशका हुने गरेका छन् । नेपालमा अमेरिकी पर्यटकको आगमन घट्नुमा राष्ट्रिय ध्वाजाबाहक जहाजको कमी भएको राणाको दाबी छ ।
ट्राभल्सले आफ्नो व्यापार विस्तारका लागि विभिन्न विदेशी मुलुकमा वार्षिक करीब ६० लाख खर्चिने राणाले बताए । अमेरिकी तथा यूरोपेली मुलुकमा विभिन्न ट्रेड फेयरमार्फत पर्यटन प्रवर्द्धन गर्ने गरिएको यतीले जानकारी दिएको छ । यस्तै विदेशी ट्राभल्स एजेन्सीसँगको सीधा सर्म्पकबाट समेत यतीले प्रवर्द्धनात्मक कार्य गर्दै आएको छ । विशेषगरी ट्राभल्सले जर्मनी, बेलायत, स्पेन, अमेरिका, इटालीलगायत मुलुकमा यस्ता कार्यक्रम गर्ने गरेको छ ।
पर्यटकलाई यतीका बारेमा जानकारी दिन ट्राभल्सले सोल्टी, हिमालय, एभरेष्ट, अन्नपूर्ण होटललगयतमा जानकारी लिन सकिने व्यवस्था गरेको छ । उपत्यकाबाहिरका पर्यटकीय गन्तव्यका लागि समेत प्रतिनिधि खटाउने गरेको जानकारी ट्राभल्सले दिएको छ ।
ट्राभल्सले सधैं नियमित र अनुशासित ढङ्गबाट सम्पूर्ण हिसाब राख्ने गरेको छ । यतीमा भएको कारोबारको पारदर्शिता नै यसको सफलता भएको पनि राणाको भनाइ छ । नेपालमा पर्यटनको आशातीत व्यापार नहुनुको पहिलो कारण नै पर्यटकलाई सकारात्मक सन्देश प्रवाह गर्न नसक्नु भएको उनको बुझाइ छ । विदेशी पर्यटकले इच्छाएको पर्यटकीय गतिविधिमा समावेश गराउन नसक्दा उसले नकारात्मक सन्देश बाहिर लैजाने उनले बताए । 'नेपाल आएका पर्यटक भुलाउन सक्ने गन्तव्य बढी भएमात्र यसक्षेत्रको विकास हुन्छ,' उनले भने । पर्यटकलाई विविधता दिन नै यतीले मेडिकल र धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनसमेत गर्न थालेको उनले बताए ।
अर्थोपेडिक अस्पताल बन्द रु.५ लाख मूल्यबराबका सामान अलपत्र
जेठ १८, घोराही (दाङ) । दाङको झिङ्गौरास्थित सामुदायिक युनिटी अर्थोपेडिक अस्पताल आर्थिक स्रोत जुट्न नसकेपछि बन्द भएको छ । नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा मातहत खोलिएको सो अस्पताल राप्तीको एकमात्र अर्थोपेडिक अस्पताल हो । अस्पताल बन्द हुँदा हजारौं स्थानीय बासिन्दा प्रभावित भएका छन् । अस्पतालले अपाङ्ग सङ्घमार्फत आएका बिरामीलाई 'रिफर' गर्नुबाहेक अन्य सबै सेवा बन्द गरेको छ । बन्दपछि लाखौं रुपैयाँ पर्ने अप्रेशन सामग्री तथा रू. ३० लाख मूल्यबराबरको पक्की भवनसमेत प्रयोगहीन भएको छ ।
रू. २५ लाख मूल्यबराबरका एक्सरे मेशिन, निर्मलीकरण मेशिन, औषधि, माइक्रोस्कोप, ल्याबटेष्टका सामान र केमिकल अलपत्र परेको खगेन्द्र नवजीवन केन्द्र, दाङका कार्यालय सचिव केशव पौडेलले जानकारी दिए । कम्तीमा पनि रू. ५० लाख नजुटुन्जेल अस्पताल सञ्चालनमा आउन नसक्ने उनले बताए । अस्पताल पुनः सञ्चालनमा ल्याउन अप्रेशन थिएटर र नसिङ सेवा प्रदान गर्ने डाक्टर, नस, एचए, अनमी र हेल्पर आवश्यक रहेको उनले बताए ।
अस्पताललाई आवश्यक पर्ने प्राविधिक खर्च, विद्युत् महशुल र कर्मचारी खर्चको स्रोत नभेटेपछि आफूहरू अस्पताल बन्द गर्ने निधोमा पुगेको पौडेलले जानकारी दिए । तलब खुवाउन नसकेपछि कार्यरत कर्मचारीलाई बिदा गर्नुपरेको छ । 'तीन फेजको लाइन जोडेपछि ५ महीनामा डेढ लाख रुपैयाँ विद्युत् महशुल तिर्नुपर्यो,' पौडेलले भने, 'अहिले अस्पतालमा तीन फेजको लाइनसमेत काटिएको छ ।'
अस्पतालले बिरामीलाई नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, काठमाडौं मोडेल अस्पताल, एचआरडीसी बनेपा र सुषमा कोइराला ममोरियल साँखुमा रिफर गरिरहेको छ । बिरामीको आर्थिक अवस्था हेरेर निःशुल्क र केही सहुलियतमा उपचार गर्न सिफारिशसहित रिफर गर्ने गरिएको अस्पतालले बताएको छ ।
अस्पताल सञ्चालनका लागि स्रोतको खोजी भइरहेको सञ्चालक समितिका सचिव केवी मसालले जानकारी दिए । स्रोतका लागि भारतीय दूतावाससँग आग्रह गरे पनि आफूहरूको पहुँच पुग्न नसकेको मसालको भनाइ छ । अस्पतालको पौने दुई बिगाहा जग्गा छ । अस्पताल सञ्चालन गर्ने जिम्मा अपाङ्ग सङ्घको मात्र नभएकाले कुनै सहयोगी निकाय आएर सञ्चालन गर्न सक्ने उनले बताए । केही वर्षपहिले घोराहीमा सञ्चालन गरिएको महायज्ञबाट सङ्कलित रकम र अपाङ्ग सङ्घको आफ्नै लगानीमा अस्पताल स्थापना गरिएको थियो ।
सुदूरपश्चिममा डेण्टल अस्पताल र क्लिनिक खुल्ने क्रम बढयो
जेठ १८, धनगढी (अस)। सुदूरपश्चिममा पछिल्लो समय डेण्टल क्लिनिक खुल्ने क्रम बढेको छ । यस क्षेत्रका धनगढी, महेन्द्रनगर र डँडेल्धुरामा गरी विगत २ वर्षको अवधिमा एक दर्जन डेण्टल अस्पताल र त्यत्तिकै सङ्ख्यामा डेण्टल क्लिनिक खुलेका छन् । महेन्द्रनगरमा हिमाल र महाकाली डेण्टल अस्पतालका साथै पञ्चकोशी र यूएन डेण्टल क्लिनिक खुलेका छन् । त्यसैगरी धनगढीमा हिमाल, कान्तिपुर, मानसरोवर र श्रीनगर डेण्टल अस्पताल खुलेका छन् । त्यस्तै पहाडी जिल्ला डँडेल्धुरामा श्रीनगर डेण्टल अस्पतालले आफ्नो शाखा विस्तार गरिसकेको छ ।
हिमाल डेण्टलले त्यहाँ पनि आफ्नो शाखा विस्तार गर्ने योजना रहेको बताएको छ । यस क्षेत्रमा यी सबै डेण्टल अस्पतालले आफ्नो शाखा वा कार्यालय स्थापना गर्दा झण्डै रू. १ करोड ३० लाखभन्दा बढी खर्च गरेको बताएका छन । एउटा शाखा स्थापना गर्दा कम्तीमा पनि ११ लाख रुपैयाँ खर्च लाग्ने हिमाल डेण्टल महेन्द्रनगर शाखा प्रमुख रमेश चन्दले बताए । त्यसैगरी महाकाली डेण्टल महेन्द्रनगरका निर्देशक लोकराज भारतीले आफूले रू. १० लाख खर्च गरेर शाखा स्थापना गरेको बताए ।
डेण्टल अस्पताल तथा क्लिनिक खुल्ने क्रम बढे पनि दक्ष विशेषज्ञको कमी रहेको धनगढीस्थित हिमाल डेण्टलका शाखा प्रमुख गणेश भट्टको भनाइ छ । यहाँका करीब ९० प्रतिशत अस्पतालमा बीडीएस डाक्टर नभएको उनको दाबी छ । यहाँका डेण्टल अस्पतालले भारतीय अस्पतालसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले समस्या भएको सञ्चालकहरूको भनाइ छ । भारतमा केही सस्तोमा सेवा उपलब्ध हुने र अस्वस्थ प्रतिस्पर्धाको कारणले पनि व्यवसाय गर्न समस्या हुने गरेको भट्टको भनाइ छ । 'हामीले सीमित स्रोत र साधनका आधारमा सेवा दिनुपर्छ, यस्तो अवस्थामा सुविधासम्पन्न भारतीय अस्पतालसँग प्रतिस्पर्धा गर्न सक्दैनौं' भट्टले भने ।
चेतनाको कमीले अधिकांश बिरामी अन्तिम अवस्थामा मात्र अस्पतालमा आउने गरेको महेन्द्रनगरस्थित महाकाली डेण्टल एण्ड रिसच सेण्टरका निर्देशक लोकराज भारतीको भनाइ छ । तर, पछिल्लो समयमा थुप्रै डेण्टल अस्पताल खुलेकाले दाँतको उपचार गर्न आउने बिरामीको सङ्ख्या पनि केही बढेको उनी बताउँछन् । महाकाली डेण्टल एण्ड रिसच सेण्टरमा करीब ६० प्रतिशत बिरामी दाँतको समस्या लिएर आउने गरेको भारतीले बताए । यस्तै हिमाल हस्पिटलमा करीब ४० प्रतिशत बिरामी दाँतको समस्या लिएर आउने गरेको अस्पतालका निर्देशक रमेश चन्दले जानकारी दिए ।