शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से तीन अङ्क तल
साउन ३२, काठमाडौं (अस)। बुधवार जलविद्युत्बाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से करीब ३ अङ्कले घटयो । नेप्से घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । मङ्गलवार रू.२ करोड ४२ लाखको कारोबार भएकोमा बुधवार बढेर रू. ३ करोड १४ लाख पुग्यो । नेशनल हाइड्रोपावर कम्पनी, बिजनेश डेभलपमेण्ट बैङ्कलगायत कम्पनीहरूको शेयर म्याचिङ करोबार भएपछि रकम परिचालन बढेको देखिन्छ । तर, कतिपय कम्पनीहरूको शेयर प्रवाह अन्य दिनभन्दा बढेका छन् । शेयर प्रवाह बढे पनि मूल्य घट्ने कम्पनीहरूको सङ्ख्या उल्लेख्य छ । बुधवार कारोबारमा आएकामध्ये ४३ कम्पनीको शेयरमूल्य घटेपछि नेप्से ३ सय ५१ दशमलव शून्य २ मा आइपुगेको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबारमापक फ्लोट परिसूचक घटे ।

बुधवार कारोबारमा आएका सात समूहमध्ये 'अन्य’, बैङ्किङ, वित्त कम्पनी, विकास बैङ्क, होटल र बीमा समूहको परिसूचक घटे । यी समूहको परिसूचक क्रमश: ५ दशमलव ८७, २ दशमलव ९१, शून्य दशमलव ७९, शून्य दशमलव ४ र बाँकी दुवै समूहको शून्य दशमलव ३७ ले घटे । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ५ ले घट्दा 'अन्य’ समूहको र स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, हिमालयन, कुमारी, डीसीबीएललगायत बैङ्कको शेयरमूल्य घट्दा बैङ्किङ समूहको परिसूचक घटेको हो । होटल समूहबाट कारोबारमा आएको एकमात्र कम्पनी ओरियण्टलको शेयरमूल्य घट्दा यो समूहको परिसूचक घटयो । जलविद्युत् कम्पनीमध्ये कारोबारमा आएका अरुणभ्याली र चिलिमेको शेयरमूल्य घटे पनि बुटवल हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेपछि यसको परिसूचक १ दशमलव ८७ ले बढयो ।

बुधवार कम्पनी सङ्ख्या घटे पनि कारोबार सङ्ख्या, खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या, र रकम परिचालन बढे । ८२ कम्पनीका १ हजार ४ सय ७१ खरीद-विक्रीबाट १ लाख २४ हजारभन्दा बढी शेयर किनबेच भए, जसबाट रू. ३ खर्ब १२ अर्बको कुल बजार पूँजीकरण भयो । २८ कम्पनीको शेयरमूल्य बढयो भने ११ कम्पनीको शेयरमूल्य स्थिर रह्यो ।

Admin 2011-08-18