शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बाफिया संशोधन प्रस्तावले घटायो नेप्से
फागुन ३०, काठमाडौं (अस)। बैङ्क तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ मा संशोधन प्रस्तावको नकारात्मक असर नेप्सेमा परेको छ । अर्थमन्त्रालयले तयार गरेको संशोधन प्रस्तावमा बैङ्क तथा वित्तीय संस्थामा उद्योगी व्यवसायीहरूको लगानी सीमित गर्ने उल्लेख भएपछि बैङ्क तथा वित्तीय संस्थाको शेयरमूल्य उच्चदरमा घट्दा नेप्से झण्डै ५ अङ्कले घटेको हो । उक्त प्रस्तावमा व्यवसायीहरूले बैङ्क तथा वित्तीय संस्थामा ५ प्रतिशतभन्दा बढी संस्थापक शेयर धारण गर्न नपाउने व्यवस्था गरेपछि प्रमुख बैङ्कहरूमा रहेको सबल व्यावसायिक घरानाहरूको शेयर घट्ने शङ्काले तिनीहरूको मूल्य घटेको एक विश्लेषकले अभियानलाई बताए ।

लगातार घटिरहेको नेप्से सोमवार ३ सय ८४ दशमलव १८ मा आएपछि यो थप घट्न सक्ने आशङ्काले लगानीकर्ताहरूमा अन्योल बढेको छ । फलस्वरूप, नबिल बैङ्कको शेयर मूल्य रू. ६३ ले घट्दा यसको शेयर विक्री केही बढेको छ । तर, स्टयाण्डर्ड चार्टर्डको शेयरमूल्य रू. १७ ले घट्दा यसको शेयर विक्री झनै घटेको छ । यसले लगानीकर्ताहरू शेयर किनबेचको सही निर्णयगर्न नसकेको बुझिन्छ । सोमवार कारोबारमा आएकामध्ये 'अन्य' समूहको परिसूचक स्थिर रहयो भने बाँकी ६ समूहको परिसूचक घटयो । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ  परिसूचक र सवसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।

सोमवार २३ बैङ्कहरूको शेयर मूल्य घटेर कारोबार भएपछि बैङ्किङ समूहको परिसूचक सबैभन्दा धेरै अङ्कले घटयो । त्यसैगरी, कारोबारमा आएका कम्पनीहरूको सङ्ख्या र समूह बढे पनि शेयर सङ्ख्या, कारोबार सङ्ख्या, कारोबार रकम, कुल बजार पूँजीकरण भने घटयो । सोमवार १ हजार ५ सय ६३ कारोबारबाट ८१ कम्पनीका ५६ हजार ३ सय ३ शेयर किनबेच भई रू. १ करोड २८ लाखभन्दा बढीको कारोबार भयो । त्यसबाट रू. ३ खर्ब ३७ अर्बको कुल बजार पूँजीकरण भयो ।

सोमवार ५७ कम्पनीको शेयर मूल्य घटयो, १३ कम्पनीको शेयर मूल्य बढयो भने बाँकीको स्थिर रहयो । कारोबार सङ्ख्याका आधारमा दियालो विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्स अग्रस्थानमा रहे । दियालो विकास बैङ्कको शेयर १ सय ९७ पटक कारोबार भयो भने नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्सको ४ हजार १ सय ८९ शेयर खरीद-विक्री भए । कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. १७ लाख ३३ हजारभन्दा धेरैको कारोबार भयो । सोमवार नबिल बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ६३ ले घटयो भने नेरुडे लघुवित्त र सहयोगी विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ५ ले बढयो ।

Admin 2011-03-15