आइतवार पनि घटयो नेप्से
असोज १, काठमाडौं (अस)। साताको पहिलो दिन नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले घटेर ३ सय १८ दशमलव ५६ मा बन्द भएको छ । विगत दुई सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक गत साताको अन्तिम दिन शून्य दशमलव ५७ प्रतिशत बढेर ३ सय २१ दशमलव १८ मा बन्द भएको थियो । हाल नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएकाले बजारमा शेयर विक्रीको चाप अत्यधिक बढेको सरोकारवालाहरू बताउँछन् ।
बजारमा मागको तुलनामा शेयर आपूर्ति धेरै भएकाले शेयरमूल्य बढ्न नसकेको उनीहरूको भनाइ छ । आइतवार नेप्से घटेपछि सेन्सेटिभ र फ्लोट पनि घटे । सो दिन सात समूहको कारोबार भए पनि सबैको परिसूचक नकारात्मक रह्यो । आइतवार कारोबार भएकामध्ये होटल समूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव २२ प्रतिशत घटयो । आइतवार ओरियण्टल र ह्यात होटलको शेयरमूल्य क्रमश: रू. ८ र रू. ३ घटेपछि यो समूहको परिसूचक सबैभन्दा धेरै नकारात्मक रहेको हो ।
यसैगरी, जलविद्युत् समूहको परिसूचक पनि आइतवार शून्य दशमलव ५४ प्रतिशत घटेर ५ सय ५३ दशमलव ७६ मा बन्द भएको छ । आइतवार नेशनल हाइड्रोपावरको शेयरमूल्य रू. २ ले बढे पनि अरुणभ्याली, बुटवल पावर कम्पनी र चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: रू. ७, ४ र ५ ले घटेपछि यो समूहकै परिसूचक घटयो ।
नेपाली शेयर बजारमा ठूलै प्रभाव जमाउँदै आएको बैङ्किङ समूहको परिसूचक आइतवार १ दशमलव १ प्रतिशतले घटयो । सोही दिन स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. ५ ले बढे पनि नबिल, हिमालयन, किष्ट र बैङ्क अफ काठमाण्डूको शेयरमूल्य क्रमश: २५, १५, १४ र ११ रुपैयाँले सस्तिएपछि बैङ्किङ समूहकै परिसूचक नकारात्मक रहेको हो ।
यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ३ घटेपछि आइतवार अन्य समूहको परिसूचक शून्य दशमलव ७४ प्रतिशत घटयो । आइतवार विकास बैङ्क, बीमा र वित्त कम्पनी समूहको परिसूचक क्रमश: शून्य दशमलव ५३, शून्य दशमलव ४३ र शून्य दशमलव २९ प्रतिशत घटेको छ ।
गत बिहीवारको तुलनामा आइतवार कम्पनी, कारोबार र शेयर सङ्ख्या सबै घटे । आइतवार ८४ कम्पनीको ७ सय ७४ कारोबारबाट १ लाख ७ हजार ४ सय ४८ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू. १ करोड ९८ लाख परिचालन भएको छ भने रू. २ खर्ब ८४ अर्ब बजार पूँजीकरण भएको छ ।
आइतवार चिलिमे हाइड्रोपावर कम्पनीको रू. ५१ लाख २६ हजार ७ सयबराबरको शेयर कारोबार भएर सबैभन्दा धेरै कारोबार गर्नेको समूहमा उक्लियो । सोही दिन दियालो विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत महँगो भयो भने ओरियण्टल होटेलको शेयर सबैभन्दा बढी ९ दशमलव ८८ प्रतिशत सस्तियो ।
Admin 2011-09-19