जलविद्युत् समूहको एक कम्पनीले घटायो नेप्से
फागुन १, काठमाडौं (अस)। साताको पहिलो दिन शेयरबजारमा सूचीकृत सम्पूर्ण समूहको कारोबार भए पनि नेप्सेमा सुधार हुन सकेन । कारोबार शुरू भएको केही समयसम्म नेप्से सामान्य रूपमा बढेको थियो । तर, त्यसपछि नेप्सेमा सुधार हुन सकेन । कारोबार भएको अघिल्लो दिनको तुलनामा शून्य दशमलव ९१ अङ्कले घटेर नेप्से ४ सय ४ दशमलव १४ अङ्कमा सीमित भएको छ । आइतवार कारोबारमा आएका मध्ये होटल समूहको परिसूचकमा सामान्य वृद्धि भएको छ । व्यापार, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक स्थिर रहेको छ भने अरू सम्पूर्ण समूहका परिसूचक घटे । तारागाउँ होटलको शेयर मूल्यमा भएको रू. १ को वृद्धिले यस समूहको परिसूचक बढाएको हो । जलविद्युत् समूहमा नेशनल र अरुण भ्याली दुवैको शेयर मूल्य रू. १ ले बढेको थियो । तर, यस समूहमा ठूलो हिस्सा ओगट्ने चिलिमे हाइड्रोपावरको शेयर मूल्य रू. १८ ले घटेपछि यस समूह परिसूचक ३ दशमलव ३६ अङ्कले घटेको छ । यसैगरी बुटवल, विश्व, एक्सेल र निलगिरि विकास बैङ्कको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक पनि २ दशमलव ४८ अङ्कले घटेको छ । यसैगरी स्टयार्ण्डड र कुमारी बैङ्कको शेयर मूल्य क्रमशः रू. ४० र १४ ले घटेपछि यस समूहको परिसूचक शून्य दशमलव ८२ अङ्कले घटेको छ ।
आइतवार पहिलोपटक कारोबारमा आएको कर्णाली विकास बैङ्कको शेयर मूल्य रू. ३ सय ३१ कायम रहयो । आइतबार कारोबार भएका कम्पनीमध्ये प्रतिशतको आधारमा पाटन फाइनान्स, विराटलक्ष्मी विकास बैङ्क र पशुपति विकास बैङ्कको प्रतिशेयर मूल्य सबैभन्दा धेरै बढयो । यसैगरी भिबोर विकास बैङ्क, शुभलक्ष्मी फाइनान्स र पश्चिमाञ्चल विकास बैङ्कको शेयर सबैभन्दा धेरै प्रतिशतले घटे ।
अघिल्लो दिनको तुलनामा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ९० हजार ६ सय १९ ओटा शेयरको खरीद-विक्री भएको छ । यसबाट रू. २ करोड १४ लाखबराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा ४७ लाखले कम हो । आइतवार कारोबारमा आएका ८७ ओटा कम्पनीमध्ये ४७ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । २७ ओटाको शेयर मूल्य बढेको छ, १२ ओटाको स्थिर रहेको छ, भने एउटा कम्पनीको प्रथमपटक कारोबार भएको छ ।
आइतवार शेयर सङ्ख्या, कारोबार सङ्ख्या र कारोबार रकमका आधारमा ज्योति विकास बैङ्क सबैभन्दा अगाडि रहेको छ । ज्योति विकास बैङ्कका ५सय ५१ कारोबारमार्फत १७ हजार शेयरको खरीद-विक्रीबाट रू. २३ लाख ९४ हजारबराबरको कारोबार भएको छ । आइतवार हिमालयन बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. १८ ले बढेको छ । त्यसैगरी स्टयार्ण्डड चार्टर्ड बैङ्कको सबैभन्दा धेरै रू. ४० ले घटेको छ ।
Admin 2011-02-14