धितोपत्र बोर्डको विज्ञप्तिले नेप्से सुधारको सङ्केत
चैत २, काठमाडौं (अस)। मङ्गलवार लगभग ५ वर्षकै न्यूनतहमा पुगेको नेप्से बुधवार सामान्य बढेको छ । मङ्गलवार नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई हतोत्साही नहुन आग्रह गरेपछि यसको प्रभाव बजारमा परेको हो । बुधवार नेप्से २ दशमलव शून्य ८ अङ्कले बढेर ३ सय ७८ दशमलव ८३ मा पुग्यो । कुबेर मर्चेण्ट फाइनान्स, गरिमा विकास बैङ्कलगायत कतिपय कम्पनीहरूको शेयरमा म्याचिङ कारोबार भए पनि कारोबार रकम भने घटयो । बुधवार सिभिल मर्चेण्ट वित्तीय संस्थाको १२ हजार ५ सय कित्ता संस्थापक शेयर ब्रोकर नम्बर ७ बाट विक्री भए भने ३२ बाट खरीद भए । त्यसबाट रू. १२ लाख ६२ हजारभन्दा बढीको कारोबार भयो । नेप्सेसँगै 'क’ वर्गका कम्पनीहरूको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढयो ।
बुधवार 'अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै ९ दशमलव ४ अङ्कले बढयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ८ ले बढेपछि यो समूहको परिसूचक उच्च अङ्कले बढेको हो । त्यसैगरी, बैङ्किङ, विकास बैङ्क तथा बीमा समूहका परिसूचकमा पनि सामान्य वृद्धि भएपछि नेप्सेमा सुधार भएको देखिन्छ । बुधवार कारोबारमा आएका कम्पनी सङ्ख्या र कुल बजार पूँजीकरण बढयो । तर, शेयर सङ्ख्या, समूहगत परिसूचक तथा कारोबार सङ्ख्या भने घटे । बुधवार १ हजार ८ सय ३१ कारोबारबाट ८१ कम्पनीका ९१ हजार ८ सय ४८ कित्ता शेयर खरीद-विक्री भएर रू.१ करोड ८८ लाखभन्दा बढीको रकम परिचालन भयो । त्यसबाट, रू. ३ खर्ब ३२ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३२ कम्पनीको शेयरमूल्य बढयो, ४० कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको शेयरमूल्य स्थिर रहयो ।
बुधवार कारोबार सङ्ख्याका आधारमा गरिमा विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा संस्थापक शेयर किनबेच भएको सिभिल मर्चेण्ट वित्तीय संस्था अघि रहे । गरिमा विकास बैङ्कको १ सय ७५ कारोबार भए । कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. १८ लाख ७० हजारको कारोबार भयो । बुधवार एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ५४ ले महँगियो भने भ्याली फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरैले रू. ३७ ले सस्तियो । यसैदिन कारोबारमा आएका तिनाउ विकास बैङ्क, हिमालयन फाइनान्स र अरनिको डेभलपमेण्ट बैङ्कको शेयरमूल्य क्रमश: रू. ३ सय ३३, ३ सय ३५ र ३ सय ३६ कायम भयो ।
Admin 2011-03-17