नेप्से घटयो कारोबार रकम बढयो
फागुन २, काठमाडौं । साताको दोस्रो दिन नेप्से शून्य दशमलव ४३ अङ्कले घटेर ४ सय ३ दशमलव ७१ अङ्कमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से घटे पनि कारोबार रकम रू. ६७ लाखले बढेर रू. २ करोड ८१ लाख पुगेको छ । अघिल्लो दिनझैँ सोमवार पनि जलविद्युत् समूहको नेप्से परिसूचक ठूलो अङ्कले घट्दा समग्र नेप्सेमा प्रभाव पारेको देखिन्छ । यस समूहको परिसूचक ३ दशमलव २२ अङ्कले घटेको छ । यसैगरी कारोबारमा आएका ७ समूहमध्ये बैङ्किङ, विकास बैङ्क र वित्त समूहको परिसूचक पनि घटेको छ भने बीमा, उत्पादन र अन्य समूहको नेप्से परिसूचक बढेको छ । साताको दोस्रो दिन पनि चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य रू. १० ले घट्दा यस समूहको समग्र परिसूचक घटेको हो । यसैगरी नबिल र एभरेष्ट बैङ्कको शेयर मूल्य बढे पनि हिमालयन र स्टयाण्डर्डचार्टड बैङ्कको शेयर मूल्य घटेकाले बैङ्किङ समूहको परिसूचक घटेको हो । कारोबार शुरू भएसँगै घट्न शुरू गरेको नेप्से १ बजेपछि केही बढेको थियो । उक्त समयमा चिलिमेलगायत बैङ्कहरूको शेयर मूल्य बढेको थियो । तर, केही समयपछि नै चिलिमे र स्टयाण्डर्डचार्टड बैङ्कको शेयर मूल्य घटेपछि घट्न शुरू गरेको नेप्से पुनः बढ्न सकेन ।
सोमवार पहिलोपटक कारोबारमा आएको सिभिल मर्चेण्ट वित्तीय संस्थाको संस्थापक शेयर मूल्य रू. १ सय कायम रहयो । सोमवार कारोबार भएका कम्पनीमध्ये पश्चिमाञ्चल विकास बैङ्क र चिलिमेको सबैभन्दा बढी क्रमशः रू. ८० लाख र रू. २० लाखबराबरको कारोबार भएको छ । यसैगरी प्रतिशतका आधारमा पशुपति विकास बैङ्क, बैङ्क अफ एशिया र जनरल फाइनान्सले सबैभन्दा धेरै प्रतिशेयर आम्दानी गरेका छन् । यसैगरी शुभलक्ष्मी फाइनान्स, कन्काइ विकास बैङ्क र क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले प्रतिशतको आधारमा घाटा बेहोरेका छन् ।
अघिल्लो दिनको तुलनामा सोमवार कारोबारमा आएका कम्पनी सङ्ख्याका साथै कारोबार सङ्ख्या घटेको छ । तर, शेयर सङ्ख्यामा भने वृद्धि भएको छ । सोमवार कारोबारमा आएका ७५ कम्पनीमध्ये ३९ कम्पनीको शेयर मूल्य घटेको छ । १९ को शेयर मूल्य बढेको छ, १६ को स्थिर रहेको छ भने १ कम्पनीको प्रथमपटक कारोबार भएको छ ।
सोमवार शेयर सङ्ख्या र कारोबार रकमका आधारमा पश्चिमाञ्चल विकास बैङ्क सबैभन्दा अगाडि रहेको छ । यसका २९ हजार ९ सय ६० शेयरको खरीद-विक्रीबाट रू. ८० लाख ८९ हजारबराबरको कारोबार भएको छ । सोमवार ज्योति विकास बैङ्कको सबैभन्दा धेरै २ सय ७१ कारोबार भएको छ । सोमवार युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा धेरै रू. १०० ले बढेको छ । त्यसैगरी कन्काइ विकास बैङ्कको सबैभन्दा धेरै रू. ३५ ले घटेको छ ।
Admin 2011-02-15