नेप्से बढयो कारोबार रकम घटयो
जेठ २ काठमाडौं (अस)। सोमवार नेप्से परिसूचक १ दशमलव ४ अङ्कले बढेर ३ सय ५० दशमलव ६३ बिन्दुमा पुगेको छ । आइतवार नेप्से परिसूचक २ दशमलव ७८ अङ्कले बढेको थियो । अघिल्लो सातादेखि नै नेप्से बढ्ने क्रम शुरू भएको र यस साता पनि लगातार त्यही प्रवृत्तिले निरन्तरता पाएकाले शेयर बजार अब सुधारोन्मुख भएको देखिन्छ । नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक, सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक बढेका छन् ।
सोमवार कारोबार भएका आठ समूहमध्ये बैङ्किङ, ट्रेडिङ, जलविद्युत्, वित्तीय कम्पनी र बीमाको परिसूचक बढेको छ भने होटल र अन्य समूहको घटेको छ । सोमवार ट्रेडिङ समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ८८ अङ्कले बढेको छ । यो समूहअन्तर्गत विशाल बजार कम्पनीको शेयर मूल्य रू. ५७ ले बढेपछि समग्र समूहकै परिसूचक बढेको हो । यसैगरी जलविद्युत् समूहको परिसूचक पनि ३ दशमलव २६ अङ्कले बढेको छ । सोमवार यो समूहअन्तर्गत अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य रू. १३ ले र अन्य कम्पनीको सीमान्त रूपले बढेपछि पूरै समूहको परिसूचक बढेको हो । सोमवार अरुणभ्यालीको ३ सय ३९ कित्ता शेयर किनबेचबाट रू. १ लाख ४१ हजार परिचालन भयो ।
यसैगरी बैङ्किङ समूहको परिसूचक पनि २ दशमलव ८८ अङ्कले बढेको छ । यो समूहअन्तर्गत नबिल बैङ्कको शेयरमूल्य रू. ३८ र सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको रू. २५ ले बढेको छ । सोमवार होटल समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५२ अङ्कले घटेको छ । यो समूहअन्तर्गत सोल्टी होटलको शेयरमूल्य रू. ४ ले घटेपछि समग्र समूहकै परिसूचक घटेको देखिन्छ । सोमवार उत्पादनमूलक समूहमध्ये युनिलिभर नेपालको शेयरमूल्य रू. १ सय १० ले घटेको छ । सोमवार ८० कम्पनीका १ हजार ३ सय ६६ कारोबारबाट ६३ हजार ९ सय ४५ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू. १ करोड २८ लाख रकम परिचालन भयो भने रू. ३ खर्ब १२ अर्बको बजार पूँजीकरण भयो । आइतवार रू. ३ खर्ब १० अर्बको बजार पूँजीकरण भएको थियो ।
Admin 2011-05-17