शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से १ प्रतिशत बढयो, बजार सुधारको सङ्केत  
असोज ३, काठमाडौं (अस)। मङ्गलवार अधिकांश कम्पनीको शेयरमूल्य बढेर कारोबार भएपछि नेप्से परिसूचक झण्डै १ प्रतिशतभन्दा धेरैले बढयो । कारोबार भएका ८६ कम्पनीमध्ये ५२ को शेयरमूल्य बढेर कारोबार भयो । शेयरमूल्य उच्चदरमा बढ्नेमा अधिकांश वाणिज्य बैङ्क तथा विकास बैङ्क छन् । फलस्वरूप, नेप्से परिसूचक २ दशमलव ७१ अङ्कले बढेर ३ सय २० भन्दा माथि पुग्यो । नेप्सेसँगै सन्सेटिभ परिसूचक र फ्लोट परिसूचक पनि बढे । तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटयो ।  

मङ्गलवार कारोबारमा आएका सात समूहमध्ये बीमा र होटलबाहेक सबै समूहका परिसूचक बढे । सबैभन्दा धेरै बैङ्किङ समूहको परिसूचक ४ दशमलव ६६ अङ्कले बढयो भने त्यसपछि विकास बैङ्क र 'अन्य' समूहका परिसूचक क्रमश: ४ दशमलव ३९ र ३ दशमलव ९२ अङ्कले बढे । बीमा समूहको परिसूचक भने शून्य दशमलव २७ अङ्कले घटयो भने होटल समूहको परिसूचक स्थिर रह्यो । बैङ्किङ समूहका माछापुच्छ्रे, नेपाल बङ्गलादेश, बैङ्क अफ एशिया, नेपाल क्रेडिट एण्ड कमर्श, एनएमबी, नेपाल एसबीआईलगायत बैङ्कको शेयरमूल्य उच्च बढयो । विकास बैङ्कतर्फा रेसुङ्गा, दियालो, नेरुढे लघुवित्त, सीटीलगायत विकास बैङ्कको शेयरमूल्य धेरैले बढयो । जलविद्युत् समूहका चिलिमे, अरुणभ्यालीलगायत कम्पनीको मूल्य बढयो भने 'अन्य’ समूहमा सूचीकृत नेपाल टेलिकमको शेयरमूल्य रू. २ ले बढयो । कास्की, हिमालयन, रिलायबल, जेनिथ, स्ट्याण्डर्डलयगायत वित्त कम्पनीको शेयरमूल्य बढेपछि यो समूहको परिसूचक बढेको हो । बीमा समूहका लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य घटेपछि बीमा समूहको परिसूचक घटेको हो ।

मङ्गलवार शेयर किनबेच हुने कम्पनी सङ्ख्या र शेयर सङ्ख्या बढे पनि कारोबार सङ्ख्या र रकम परिचालन भने घटयो । सो दिन कुल १ हजार ४ सय ७८ कारोबारबाट ८६ कम्पनीका १ लाख ६ हजार ४ सय ३४ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ७० लाख ८६ रकम परिचालन भयो भने रू. २ खर्ब ९१ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन २५ कम्पनीको शेयरमूल्य घटयो, ९ को स्थिर रह्यो भने बाँकी सबैको शेयरमूल्य बढयो । मङ्गलवार शेयर सङ्ख्या र रकम परिचालनका आधारमा नेशनल हाइड्रोपावर सबैभन्दा अग्रस्थानमा रह्यो । नेशनलका २७ हजार २ सय ३५ शेयर किनबेच भई रू. २३ लाख ७६ हजारको कारोबार भयो । सबैभन्दा धेरै कारोबार हुनेमा कामना विकास बैङ्क रह्यो । कामनाका शेयर २ सय ८९ पटक किनबेच भए । मङ्गलवार रेसुङ्गा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ३९ प्रतिशतले बढयो भने एभरेष्ट बैङ्कको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटयो ।