नेप्सेको वृद्धि टिकेन
चैत ३, काठमाडौं (अस)। बुधवार सामान्य बढेको नेप्से परिसूचक बिहीवार पुन: घटयो । लगातार घटेको नेप्से बुधवारको वृद्धिसँगै केही सुधार हुने अपेक्षा गरिएको थियो । तर, बिहीवार पनि १ दशमलव ३२ अङ्कले घटेर ३ सय ७७ दशमलव ५१ मा आइपुगेको छ । यसदिन होटल, विकास बैङ्क, जलविद्युत् र बीमा समूहमा सुधार आए पनि नेप्से बढ्न यो पर्याप्त भएन । 'अन्य' समूह, बैङ्किङ समूह तथा वित्त कम्पनी समूहको परिसूचक उच्च अङ्कले घटेपछि नेप्से घटेको हो । बिहीवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सन्सेटिभ परिसूचक घटे पनि सवसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक भने बढयो ।
बिहीवार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । एल्पिक एभरेष्ट फाइनान्स कम्पनीको मात्रै रू. २४ लाख ७९ हजारको कारोबार भएपछि कारोबार रकममा वृद्धि भएको हो । एल्पिक एभरेष्ट कम्पनीका १९ हजार ७२ कित्ता संस्थापक शेयर ब्रोकर नम्बर १६ र २५ बीच म्याचिङ कारोबार भएको छ । बिहीवार कारोबारमा आएका ७ समूहमध्ये 'अन्य' समूहको परिसूचक सबैभन्दा उच्च अङ्कले घटयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ८ ले घट्दा यो समूहको परिसूचक घटेको हो । तारा गाँउ रिजेन्सी होटलको शेयरमूल्य स्थिर रहे पनि सोल्टीको शेयरमूल्य रू. ४ ले बढेर कारोबार भएपछि होटल समूहको परिसूचक सबैभन्दा धेरै बढयो ।
बिहीवार १ हजार ७ सय ४० कारोबारबाट ७९ कम्पनीका ९३ हजार ८ सय ५५ कित्ता शेयर खरीद-विक्री भएर रू.२ करोड २ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ३३ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएका ७९ कम्पनी मध्ये २८ कम्पनीको शेयरमूल्य घटयो ३७ कम्पनीको बढयो भने बाँकीको स्थिर रहयो । बिहीवार शेयर सङ्ख्या र कारोबार रकमका आधारमा अल्पिक एभरेष्ट फाइनान्सको संस्थापक शेयर अग्रस्थानमा रहयो । १ सय ९७ कारोबार भएको गरिमा विकास बैङ्क कारोबार सङ्ख्याको आधारमा अघि रहयो । बिहीवार एनबी इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ३५ ले घटयो भने नेरुडे लघुवित्त विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १९ ले बढयो ।
Admin 2011-03-18