शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से परिसूचक तथा कारोबार रकम दुवै ओरालो
वैशाख ४, काठमाडौं (अस) ।  नयाँ वर्षमा पहिलोपटक कारोबार भएको नेप्से परिसूचक आइतवार झण्डै ६ अङ्कले घटयो । आइतवार नेप्सेसँगै कारोबार रकम, कारोबार सङ्ख्या तथा कम्पनी सङ्ख्यामा पनि एक तिहाइदेखि आधासम्म ह्रास आयो । कुल ६ समूहको कारोबार भएकोमा वित्त कम्पनी र बीमा समूहको परिसूचकमा सामान्य वृद्धि भयो भने बाँकी सबै समूहका परिसूचक घटे । त्यसमा पनि बैङ्किङ तथा जलविद्युत् समूहका परिसूचक सबैभन्दा धेरै क्रमशः ९ दशमलव ८४ र ३ दशमलव २२ अङ्कले घटेपछि नेप्से उच्चगतिमा ओरालो लागेको हो । नबिल, एभरेष्ट तथा स्ट्यान्डर्ड चार्टर्ड लगायत उच्च मूल्य भएका बैङ्कहरूको मूल्य सबैभन्दा धेरैले घटेपछि बैङ्किङ समूहको परिसूचक तल झरेको हो । त्यसैगरी, अरुणभ्यालीको शेयर मूल्य स्थिर रहे पनि चिलिमेको प्रतिशेयर मूल्य रू. ३ ले घट्दा जलविद्युत् समूहको परिसूचक आरालो लागेको देखिन्छ ।

नेप्से परिसूचकका साथै कारोबार रकम र शेयर सङ्ख्यामा पनि ह्रास आएपछि 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक तथा सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि ओरालो लागे । 'क' वर्गमा सूचीकृत कम्पनीहरूको मूल्य तुलनात्मक रूपमा बढी घटेकाले फ्लोट परिसूचकको तुलनामा सेन्सेटिभ परिसूचक झण्डै दोब्बरभन्दा धेरैले घटयो । आइतवार कुल ८ सय ३४ कारोबारबाट ६६ कम्पनीका २७ हजार ७ सय ८ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. ६७ लाख १८ हजारको कारोबार भयो भने ३ खर्ब २६ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो ।

कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी सबैभन्दा अगाडि रहयो । चिलिमेको रू. ८ लाखभन्दा धेरैका शेयर खरीद-विक्री भए । त्यसैगरी, कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क सबैभन्दा अग्रस्थानमा देखियो । ज्योतिका ३ हजार २ सय कित्ता शेयर रू. १ सय ७ का दरले १ सय ४० कारोबारमार्फत किनबेच भएका थिए । त्यसैगरी, आइतवार शेयर किनबेच भएका कुल कम्पनीमध्ये ३८ को मूल्य घटयो, १८ कम्पनीको मूल्य बढयो भने बाँकीको शेयरमूल्य स्थिर रहयो । आइतवारको कारोबारमा नबिल र एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै क्रमशः रू. १ सय २० र १ सय ११ ले घटयो भने स्ट्यान्डर्ड चार्टर्डको शेयर मूल्य रू. ३४ ले घटयो । त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी र आईएमई फाइनान्सको प्रतिशेयर मूल्य सबैभन्दा धेरै क्रमशः रू. १८ र १२ ले बढयो भने नेपाल एसबीआई बैङ्कको शेयर रू. १० ले उकालो लाग्यो ।

Admin 2011-04-18