शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से करीब ४ अङ्कले घटयो
जेठ ४, काठमाडौं (अस)। बुधवार नेप्से करीब ४ अङ्कले घटेको छ । कारोबारमा आएका ७ समूहमध्ये बैङ्किङ, विकास बैङ्क, जलविद्युत्सहित ५ समूहको परिसूचक उच्च घटेपछि नेप्से घटेको हो । बुधवार बुटवल हाइड्रोपावर, लक्ष्मी, नेपाल इन्भेष्टमेण्ट, नबिल, एभरेष्ट बैङ्कलगायतको शेयरमूल्य  रू. १५ देखि रू. ६८ सम्मले घटेपछि नेप्से घटेको हो । नेप्से ३ दशमलव ७१ अङ्कले घटेर ३ सय ४६ दशमलव ९१ बिन्दुमा आइपुगेको छ । यस दिन चिलिमे जलविद्युत्को बल्क म्याचिङ् र बुटवल पावर कम्पनीको शेयर ससानो परिमाणमा म्याचिङ भएका छन । यसदिन नेप्सेसँगै 'क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणहरूले सजिलै खरीदविक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटेका छन् ।

बुधवार कारोबारमा आएका २ समूहको परिसूचक भने बढेको छ ।  वित्त कम्पनी र 'अन्य’ समूहको परिसूचक क्रमश: शून्य दशमलव ६३ र १ दशमलव १७ अङ्कले बढे । सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको शेयरमूल्य रू. ३१ ले बढेपछि वित्त समूहको परिसूचक र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. १ ले बढेकाले 'अन्य’ समूहको परिसूचक बढेको हो ।

बुधवार कारोबार रकम, कम्पनी सङ्ख्या, शेयर र कारोबार सङ्ख्या पनि बढेका छन् । यस दिन ८६ कम्पनीका १ हजार ३ सय ८५ कारोबारबाट ७२ हजार शेयर किनबेच भएका छन् । यसबाट रू. ३ खर्ब ८ अर्ब रकमको कुल बजार पूँजीकरण भएको छ ।

यस दिन ५० कम्पनीको शेयरमूल्य घटयो, २६ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो । यस दिन कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क र शेयर सङ्ख्याको आधारमा सिध्दार्थ डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहे । ज्योति विकास बैङ्कको १ सय ४० कारोबार भयो भने सिध्दार्थ डेभलपमेण्ट बैङ्कको ७ हजार कित्ता शेयर कारोबार भयो । कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो । चिलिमेको रू. २४ लाख ६४ हजार रकम परिचालन भएको छ ।  बुधवार सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको शेयरमूल्य धेरैले बढयो भने बुटवल हाइड्रोपावर कम्पनीको  शेयरमूल्य सबैभन्दा धेरै रू. ६८ ले घटयो ।

Admin 2011-05-19