नेप्सेमा अझै विक्री चाप बढी
माघ ४, काठमाडौं (अस)। नेपाली शेयरको दोस्रो बजार नेप्सेमा मङ्गलवार खासै उतारचढाव भएन । दिनभर प्रवल विक्री चाप देखिएको नेप्सेमा बजार बन्द हुने बेलामा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा शून्य दशमलव २५ ले घटेर ४ सय ३ दशमलव ४६ मा सीमित रहयो । मङ्गलवार मूल्यवृद्धिसहित म्याचिङ् कारोबार भएको कृषि विकास बैङ्कको शेयर २ बजेर ५६ मिनेट जाँदा घटेपछि नेप्से घटेको हो । दुइ दिनदेखि नेप्से उचाल्न सहयोग पुर्याएको चिलिमे हाइड्रोपावरको शेयर मूल्य घटेकाले पनि नेप्से बढ्न सकेन । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्नसक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
मङ्गलवार कारोबारमा आएका ६ समूह मध्ये बैङ्किङ समूहको परिसूचक मात्र बढयो । बैङ्किङ समूहमा सूचीकृत नबिल, नेपाल एसबीआई बैङ्कलगायत ८ बैङकको शेयर मूल्य बढेपछि यो समूहको परिसूचक शून्य दशमलव ४४ अङ्कले बढयो । तर स्टयार्ण्र्डड चार्टर्ड , एभरेष्टलगायतका महत्त्वपूर्ण बैङ्कसहित अन्य ८ बैङ्कको शेयर मूल्य घटेको थियो । त्यस्तै, जलविद्युत्, 'अन्य', बीमा, वित्त कम्पनी र विकास बैङ्क समूहका परिसूचक क्रमशः ३ दशमलव ६५, २ दशमलव ३५, शून्य दशमलव ८२, शून्य दशमलव ३ र शून्य दशमलव २५ ले घटे ।
मङ्गलवार कारोबार भएका कम्पनी र शेयर सङ्ख्या बढे पनि कारोबार सङ्ख्या, रकम परिचालन र कुल बजार पूँजीकरण भने घटयो । जम्मा १ हजार ६ सय १४ कारोबारबाट ७८ कम्पनीका ९६ हजार ५ सय ५ कित्ता शेयर खरीद-विक्री भई रू. १ करोड ८२ लाख रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४९ अर्ब कुल बजार पूँजीकरण भयो । मङ्गलवार ३२ कम्पनीको शेयर मूल्य घटयो, ३२ कम्पनीकै शेयर मूल्य बढयो भने १४ कम्पनीको शेयर मूल्य स्थिर रहयो । कारोबार सङ्ख्याका आधारमा युनिक फाइनान्सियल इन्षिटच्युसन र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । युनिक फाइनान्सियल इन्षिटच्युसनका ३ सय २५ कारोबार भए भने नेशनल हाइड्रोपावरका २२ हजार ९ सय कित्ता शेयर खरीद-विक्री भए । कारोबार रकमका आधारमा स्टयार्ण्र्डड चार्र्टर्ड बैङ्कको सबैभन्दा धेरै रू. १७ लाख ४४ हजारको कारोबार भयो । मङ्गलबार नबिल बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २० बढयो भने ज्योति विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २५ घटयो ।