नेप्सेमा टेलिकमको प्रभाव कायम
पुस ४, काठमाडौं (अस)। साताको पहिलो दिन आइतवार नेप्से १ दशमलव ६ अङ्क घटेर ३ सय ९० दशमलव ९८ कायम भयो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू.७ ले घटेपछि यसको प्रभाव नेप्सेमा परेको हो । 'अन्य' समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ३ ले फरक हुँदा नेप्सेमा १ अङ्कको फरक आउने विश्वास गरिन्छ । आइतवार कारोबारमा आएका बैङ्किङ तथा बीमासमूहको परिसूचकमा सुधार आए पनि यसले नेप्सेको वृद्धिमा टेवा पुर्याउन सकेन । नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक घटे पनि सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक भने बढयो ।
आइतवार कारोबारमा आएका ६ समूहमध्ये जलविद्युत् समूहको परिसूचक ६ अङ्क र 'अन्य' को परिसूचक ८ अङ्कभन्दा बढीले घटयो । त्यस्तै विकास बैङ्क, वित्त कम्पनी समूहका परिसूचक सामान्य घटे । जलविद्युत् समूहमा सूचीकृत बुटवल पावर र चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य घट्नु र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य स्थिर रहनुले यो समूहको परिसूचक घटेको हो । आइतवार १ हजार ६ सय ७५ कारोबारबाट ८९ हजार ८९ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ६० लाखभन्दा बढीको रकम परिचालन भयो ।
यसबाट रू. ३ खर्ब ३५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएका ७४ कम्पनीमध्ये ३५ कम्पनीको शेयर मूल्य घटयो, २३ को शेयर मूल्य बढयो भने १६ कम्पनीको शेयर मूल्य स्थिर रहयो । आइतवार शेयर सङ्ख्या र कारोबार रकमका आधारमा नेपाल एसबीआई बैङ्क अग्रस्थानमा रहयो । यसका ११ हजार ४ सय २६ कित्ता शेयर खरीद-विक्री भए । यसबाट रू.७८ लाख ७ हजारको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा ३ सय ४४ कारोबारसहित सूर्यदर्शन फाइनान्स सबैभन्दा अगाडि रहयो । लक्ष्मी बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३५ ले बढयो भने स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३२ ले घटयो ।