शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से थप उचाइमा   
असोज ५, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव ५५ अङ्क बढेर ३ सय २७ दशमलव ५५ मा पुग्यो । नेपाली शेयर बजारमा ठूलो हिस्सा भएको बैङ्किङ समूहका अधिकांश कम्पनीको शेयरमूल्यमा भएको सुधारले नेप्से परिसूचक लगातार बढेको हो । आधारभूत वित्तीय अवस्था सकारात्मक हुँदाहुँदै पनि केही समय पहिला राजनीतिक कारणले घटेका ती कम्पनीहरूको शेयरमूल्य पुन: बढेकाले नेप्से सुधारको बाटोमा लागेको शेयर विश्लेषक अमृतनाथ रेग्मीले बताए । 'सरकारी स्वामित्वका बैङ्कबाहेक अन्य कम्पनीको खुद मुनाफा तथा प्रतिशेयर इक्विटी राम्रो छ,' रेग्मीले भने, 'त्यसैले मूल्य बढेको हो ।' वास्तविक वित्तीय अवस्था उस्तै भए पनि गतवर्षको तुलनामा यी कम्पनीको मूल्य धेरै तल आइपुगेकाले अब उकालो लाग्ने उनको भनाइ थियो ।

यो साता केही ठूला कम्पनीको शेयरमूल्य बढेकाले नेप्से सकारात्मक देखिएको शेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन् । 'यसलाई खासै सुधार भन्न सकिँदैन, केही ठूला कम्पनीको असर मात्र हो,' भट्टराईले भने । विगत केही हप्तायता विनाकारण घटेको नेप्से पुन: बढेको उनको भनाइ छ । आगामी दिनमा नेप्से परिसूचक अहिलेको भन्दा नकारात्मक अवस्थामा नजाने उनको अनुमान छ । नेप्से बढेपछि सेन्सेटिभ र फ्लोट पनि बढे ।

बिहीवार कारोबार भएका सातमध्ये चार समूहको परिसूचक बढयो, एकको घटयो भने दुई समूहको स्थिर रह्यो । बैङ्किङ समूहको परिसूचक सबैभन्दा धेरै ३ दशमलव ४४ प्रतिशत बढयो । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेण्ट र एनआईसी बैङ्कको शेयरमूल्य क्रमश: ७४, ४९ र २६ रुपैयाँले बढयो भने बैङ्क अफ काठमाण्डू, नबिल, कुमारी, हिमालयनलगायत बैङ्कले पनि तिनीहरूलाई पछयाएपछि यो समूहको परिसूचक भारी अङ्कले बढेको हो । चिलिमेको शेयरमूल्य रू. १० घटे पनि अरुणभ्याली र नेशनल हाइड्रोपावरको शेयरमूल्य क्रमश: रू. २ र रू. ५ ले बढेपछि जलविद्युत् समूहको परिसूचक लगभग १ प्रतिशतले बढयो । त्यसैगरी, विकास बैङ्क र बीमा समूहको परिसूचक शून्य दशमलव ६ र शून्य दशमलव २९ प्रतिशत बढे भने वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत घटयो । तर, होटल र 'अन्य' समूहको परिसूचक स्थिर रह्यो ।

अघिल्लो दिनको तुलनामा बिहीवार कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या, शेयर सङ्ख्याका साथै रकम परिचालन र कुल बजार पूँजीकरण पनि वृद्धि भयो । कुल १ हजार २ सय २६ कारोबारबाट ८५ कम्पनीका १ लाख ६ हजार ६ सय २५ कित्ता शेयर किनबेच हुँदा रू. २ करोड ९ लाख रकम परिचालन भयो । त्यसबाट रू. २ खर्ब ९७ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार रू. ३९ लाख ९७ हजारभन्दा धेरैको कारोबार भएको नेपाल एन्भेष्टमेण्ट बैङ्क सबैभन्दा धेरै कारोबार हुनेको सूचीमा पर्यो । यसैगरी, अरनिको डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ३२ प्रतिशत सस्तियो भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको शेयर सबैभन्दा धेरै १० प्रतिशत महँगो भयो ।

Admin 2011-09-23