नेप्से बढयो कारोबार बढेन
फागुन ५, काठमाण्डौं (अस)। बिहीवार अघिल्लो दिनको तुलनामा नेप्से बढे पनि कारोबार रकम बढेन । अघिल्लो दिनको तुलनामा नेप्से २ दशमलव ७५ अङ्कले बढेर ४ सय ८ दशमलव १९ पुगेको छ । तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम करीब रू. १ लाखले घटेर १ करोड ६० लाखमा सीमित भयो । बिहीवार कारोबारमा आएका कुल ७ समूहमध्ये ४ ओटाको कारोबार बढेको छ । भने, ३ ओटाको परिसूचक घटेको छ । बिहीवार युनिलिभर नेपालको शेयर मूल्य बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा उच्च ६ दशमलव शून्य २ प्रतिशतले बढेको छ । यसैगरी अन्य समूहमा सूचीकृत नेपाल टेलिकमको शेयर मूल्यमा भएको वृद्धिले नेप्से बढेको छ । यस समूहको परिसूचक ३ दशमलव ५२ प्रतिशतले बढेको छ । नबिल, स्टयार्ण्डड चार्टड र एभरेष्ट बैङ्कको शेयर मूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक बढेको छ । यसैगरी बीमा समूहको परिसूचक पनि सामान्य बढेको छ । बिहीवार जलविद्युत् समूहमा सूचीकृत ४ ओटै कम्पनीको कारोबार भएकामा अरुण भ्याली जलविद्युत् कम्पनीको मात्र शेयर मूल्य बढयो । चिलिमेसहित अन्य ३ कम्पनीको शेयरमूल्य घटेकाले यस समूहको परिसूचक ५ दशमलव ६५ अङ्कले घटेको छ । यसैगरी वित्त र विकास बैङ्क समूहको परिसूचक पनि घटेको छ । अघिल्लो दिनजस्तै बिहीवार पनि ज्योति विकास बैङ्क, गरिमा विकास बैङ्क, एभरेष्ट बैङ्क, चिलिमे जलविद्युत्, नेपाल दूरसञ्चार र नबिल बैङ्कको मात्रै कुल कारोबार रकमको झण्डै आधाबराबरको कारोबार भयो । नेप्सेमा भएको वृद्धिसगै सेन्सेटिभ र फ्लोट परिसूचक क्रमशः शून्य दशमलव ८४ र शून्य दशमलव १२ अङ्कले बढयो ।
अघिल्लो दिनजस्तै बिहीवार पनि ससानो परिमाणमा म्याचिङ कारोबार भएको ज्योति विकास बैङ्कले नेप्सेको कारोबारलाई धेरै नै राहत दियो । बिहीवार भएको कुल कारोबार रकमको झण्डै १६ प्रतिशत हिस्सा ज्योति विकास बैङ्कले ओगटयो । यस बैङ्कको रू. २७ लाखभन्दा बढी कारोबार भएको छ । बिहीवार अघिल्लो दिनको तुलनामा कारोबार, कम्पनी सङ्ख्या र शेयर सङ्ख्यामा वृद्धि भएको छ । बिहीवार १ हजार ७ सय ७४ कारोबारमार्फत ७६ ओटा कम्पनीका ७९ हजार ९३ शेयरको खरीद-विक्री भए । कारोबारमा आएकामध्ये ३४ कम्पनीको शेयर मूल्य घटयो, ३२ को बढयो भने १० कम्पनीको शेयर मूल्य स्थिर रहयो । प्रतिशतका आधारमा बुधवार काबेली, बिजनेश डेभलपमेण्ट र नेरुडे विकास बैङ्कको शेयर सबैभन्दा धेरै बढयो भने विश्व विकास बैङ्क, कन्काइ विकास बैङ्क, शुभलक्ष्मी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरैले घटयो । अघिल्लो दिनजस्तै बिहीवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कारोबार रकमका आधारमा ज्योति विकास बैङ्क सबैभन्दा अगाडि रहयो । यसका ६ सय ९१ कारोबारमार्फत २१ हजार ४ सय ५० कित्ता शेयरको खरीद-विक्री भयो । बिहीवार कन्काइ विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २८ ले घटयो भने युनिलिभर नेपालको सबैभन्दा धेरै रू. १ सय १६ ले बढयो ।
Admin 2011-02-18